सत्ता गठबन्धनमा खटपट, देउवालाई थाहै नदिई प्रचड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता



काठमाडौं, २८ भदौ । सत्ता गठबन्धनमा खटपट सुरु भएको समाचार आईरहेको बेला नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । पछिल्लो समय यी तीन नेता छुट्टै छलफलमा जुटेका छन् । अमेरिकी सहयोग सम्झौता एमसीसीको कारण गठबन्धनमा विवाद चुलिएको छ ।

प्रचण्ड र माधव नेपालले त एमसीसी परिमार्जन नगरी पास गर्न नहुने सार्वजनिक अभिव्यक्ति दिएका छन् । तर, जसपा भने एमसीसीको सवालमा अहिले मौन बसेको छ । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने एमसीसी पारित गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पेलेरै अघि बढाउन चाहेपछि सत्ता गठबन्धनमा विवाद भएको हो ।

एमसीसी पास गराउने सवालमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को साथ खोजेको छन् । यसै सिलसिलामा उनले आफ्नो नजिकका नेता कानूनमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले अध्यक्ष ओलीसँग सम्बन्ध विस्तारको लागि पठाएका थिए । उनीहरुबीच के विषयमा कुराकानी भएको हो भन्ने खुलाईएको छैन् ।

प्रधानमन्त्री देउवाले एमसीसी पास गराउने कुरा गरेपछि गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल सशंकित बनेका छन् । यही सिलसिलामा आज प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच छुट्टै भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्