देउवा पटकपटक प्रधानमन्त्री बन्नु देशको भाग्य कि दुर्भाग्य !



काठमाडौँ । जुन देशले उन्नति र प्रगतिमा फड्को मारिरहेको हुन्छ, त्यहाँको जनमनोविज्ञान भविष्यमुखी हुन्छ । उसले विगतभन्दा उन्नत भविष्यको परिकल्पनामा धेरै समय बिताउँछ । समृद्धिका चामत्कारिक योजना बनाउँछ । हरेक नयाँ पुस्ता अघिल्लोभन्दा बढी तरक्की गरे कीर्तिमान छिचोल्छ ।

जुन देश प्रगतितर्फ लम्कन सक्दैन, उसका सामु सधैँ निराशाको बिस्कुन लाग्छ । आगतको आशाभन्दा विगतको विडम्बनामै रुमल्लिन पुग्छ । वर्तमानको निराशालाई बिर्सिन भए पनि बरु पुरानै अवस्था ठीक थियो भन्नुपर्ने बाध्यतामा पुग्छ ।

जुन देश प्रगतितर्फ लम्कन सक्दैन, उसका सामु सधैँ निराशाको बिस्कुन लाग्छ । आगतको आशाभन्दा विगतको विडम्बनामै रुमल्लिन पुग्छ । वर्तमानको निराशालाई बिर्सिन भए पनि बरु पुरानै अवस्था ठीक थियो भन्नुपर्ने बाध्यतामा पुग्छ ।

जब जनमनोविज्ञान भविष्यमुखी होइन, अतीतमुखी बन्छ, अनि त्यो देशको प्रगतिको यात्रा त्यहीँबाट तुहिन पुग्छ । आशाको ठाउँ निराशाले लिन्छ । सम्भावनाको ठाउँ संशयले पुर्छ । देशमा भूकम्प आउँदा लोकतान्त्रिक गणतन्त्र नेपालका नागरिक बरु जुद्धशमशेरकै पालामा ठीक थियो भन्न पुग्छन् । जब देशमा नाकाबन्दी हुन्छ, अनि देशवासीले बरु राजा महेन्द्रले नै ठीक गरेका थिए भन्न थाल्छन् ।

अहिले केपी शर्मा ओलीको विकल्पमा शेरबहादुर देउवा अगाडि आएका छन् । देउवा विगतमा चारपटक असफलसिद्ध भइसकेका र संसदीय लोकतन्त्रका सबैभन्दा बदनाम पात्र हुन् । उनलाई काँधमा बोक्न तयार भएका छन्, इतिहासकै अस्थिर पात्र पुष्पकमल दाहाल प्रचण्ड, जसको कुनै निश्चित अडान छैन । इतिहासकै सबैभन्दा गद्दार पात्र माधवकुमार नेपाल, जसले आफ्नै आमाको कोखमा छुरी रोपेझैँ एमालेलाई छिन्नभिन्न बनाए र आफ्नै पार्टीको सरकार ढाल्न विपक्षीसँग साँटगाँठ गरे । उपेन्द्र यादव र महन्थ ठाकुर, जसले झगडा गर्न पनि अरुको मुख ताक्छन्, मिल्न पनि अरुकै इशारा चाहिन्छ । अनि यिनीहरुले बोकिदिएर प्रधानमन्त्रीको कुर्सीमा पुगेका वयोवृद्ध नेता शेरबहादुर देउवाले देशलाई त्राण देलान् भनेर आस गर्ने नेपाली छन्, जो संसारमै निरीह र लाचार जनता हुन् ।

वास्तवमा भन्ने हो भने शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु भनेको देशको दुर्भाग्य हो । इतिहास हेरौँ, उनले संसदीय व्यवस्थालाई बदनाम बनाउन केके मात्र गरेनन् ? सांसद खरिदबिक्री, कांग्रेस विभाजन, पूर्वपञ्चहरुसँग गठजोड, प्रजातन्त्रको साँचो दरबारमा हस्तान्तरण, प्रचण्डपुत्री रेणु दाहाललाई मेयर बनाउन निर्वाचन आयोग र कांग्रेसको साख सोत्तर । त्यसैको फलस्वरुप गएको आम निर्वाचनमा कांग्रेसको हैसियत कुनै बेलाको राप्रपाबराबर पुग्यो ।

तैपनि, घुमीफिरी उनै देउवा प्रधानमन्त्री । न कुनै भिजन, न काम गर्ने हुटहुटी । न आकर्षक व्यक्तित्व, न जनताप्रति जवाफदेहिता र समयप्रति संवेदनशीलता । केवल एक थान जीवित शरीर प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएको छ । जसको राष्ट्रप्रति कुनै शपथ छैन । व्यवस्थाप्रति प्रतिबद्धता छैन । इतिहासको कुनै अनुशरणीय विरासत छैन । भविष्यप्रति आशाको अंकुरण छैन । छ त केवल निराशा । यति शुष्क नेतृत्व सम्भवतः कांग्रेसले पनि यसअघि कहिल्यै पाएको थिएन । फेरि पनि देउवा नै सभापति भएछन् भने अरु ५–६ वर्ष कांग्रेस र देशले निराशाबाहेक अरु केही पाउने छैन ।

यदि देउवाभित्र जनताका पीरमर्कामा कुनै पीडाबोध थियो भने उनको पहिलो निर्णय महँगी नियन्त्रणतर्फ लक्षित हुन्थ्यो । तल्लो वर्गका नागरिकलाई राहतसँग सम्बन्धित हुन्थ्यो । गरीखाने कामकाजी वर्गलाई प्रोत्साहन हुन्थ्यो । तर, जाँदाजाँदै केपी शर्मा ओलीले गरेको २८ प्रतिशत यातायात भाडावृद्धिमा पुनरवलोकनसमेत गर्न नसक्नुले पनि देउवाको वास्तविक धरातल स्पष्ट हुन्छ ।

यदि देउवाभित्र जनताका पीरमर्कामा कुनै पीडाबोध थियो भने उनको पहिलो निर्णय महँगी नियन्त्रणतर्फ लक्षित हुन्थ्यो । तल्लो वर्गका नागरिकलाई राहतसँग सम्बन्धित हुन्थ्यो । गरीखाने कामकाजी वर्गलाई प्रोत्साहन हुन्थ्यो । तर, जाँदाजाँदै केपी शर्मा ओलीले गरेको २८ प्रतिशत यातायात भाडावृद्धिमा पुनरवलोकनसमेत गर्न नसक्नुले पनि देउवाको वास्तविक धरातल स्पष्ट हुन्छ ।

आयल निगमले हप्तैपिच्छे बढाएको तेलको मूल्य कम गर्नतिर देउवालाई कुनै मतलव छैन । श्रीमती आरजू देउवा बालुवाटारमा तुल्सी रोपेर महाधिवेशनमा धार्मिक भोट आकर्षित गर्न सकिन्छ कि भनेर लागेकी छन् । उनका वरिपरि रहेका शण्डमुसण्डहरु हिजो ओलीलाई घेरेजस्तै गरी घेर्न थालिसकेका छन् । अब कुनै सच्चरित्रवान् व्यक्तित्व देउवाको समीपमा पुग्ने सम्भावना क्षीण छ । नेता प्रदीप गिरिका शब्दमा, जब देशको प्रधानमन्त्रीलाई स्वार्थ समूहले घेर्न पुग्छ, सरकारका हरेक निर्णय गिरोहले लेख्न थाल्छ । गिरोहका निर्णय जनताप्रति उत्तरदायी हुने कुरै भएन ।

देउवाको अधिकांश समय माधव नेपाल, पुष्पकमल दाहाल र उनकी श्रीमती आदिलाई भेट्दैमा बितिरहेको छ । उनको पहिलो निर्णय झलनाथ खनालहरुलाई राज्यकोषबाट उपचार खर्च बेहोर्ने हुन्छ । बालुवाटार प्रवेशपछिको उनको पहिलो काम सरकारी निवासमा पार्टीको बैठक राख्नु हुन्छ । कुनै सन्देशमूलक, प्रतीकात्मक, भविष्यका लागि पनि असल छाप छाड्ने, उत्तराधिकारीका लागि पनि अनुशरणीय काम त उनलाई गर्नु नै छैन ।

यसो हेर्दा लाग्छ, कांग्रेसलाई थप सखाप पार्न यसपालि देउवाको हातमा कुनै शक्तिकेन्द्रले सत्ता नामको आत्मघाती हतियार राखिदिएको छ । अनि, नेपाली जनताले कुन जुनीको पाप भोग्दै छन्, जहाँ ओलीजस्ता अडानवान् नेताको लज्जाजनक बहिर्गमन हुन्छ । देउवाजस्ता तेजहीन नेताको भव्य सत्तारोहण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्