सबैलाई मन्त्री चाहिएपछि मन्त्रीको संख्या बढाउन संविधान संशोधन गरिने



काठमाडौं । ‘संविधान नै संशोधन गर्नुपर्छ भनेको छु, यसमा शेरबहादुरजी र प्रचण्डजी सहमत भइसक्नुभएको छ, तपाईंहरुले चिन्ता गर्न पर्दैन,’– माधवकुमार नेपालको भनाई हो यो । आज बिहान आफ्नो निवासमा भेला भएका केही सांसद्लाई माधवले यस्तो आश्वासन दिनुभएको हो ।

यस्तो आश्वासन दिनुको कारण थियो– मन्त्रिमण्डलमा मन्त्रीको संख्या । संविधानको धारा ७६ को उपधारा नौमा मन्त्रिमण्डलमा २५ जनाभन्दा धेरै नहुने व्यवस्था छ । यही व्यवस्था संशोधनका लागि संविधान संशोधन गर्न लागिएको भन्दै माधवले आफ्ना सांसद्हरुलाई शान्त बनाउनुभएको हो ।

स्रोत अनुसार धारा ७६ को उपधारा नौ संशोधन गर्न जनता समाजवादी पार्टीका नेताहरु पनि तयार रहेका छन् ।

ठूलो मन्त्रिमण्डल बनाउने मामिलामा शेरबहादुर देउवा पहिले देखि नै ख्यात हुनुहुन्छ । उहाँले विगतमा ठूलो आकारको मन्त्रिमण्डलको कीर्तिमान बारम्बार बनाउनुभएको छ । तर, सबैभन्दा ठूलो मन्त्रिमण्डलको अहिलेसम्मको कीर्तिमान भने डा. बाबुराम भट्टराईको नाममा छ ।

बल्लतल्ल सरकारमा पुगेको कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै छन् । उता माओवादीका सबै सांसद् पनि मन्त्रीपद खान मुख आँ गरेर बसेका छन् । कांग्रेस र माओवादीमा भन्दा आपतविपतको अवस्था माधव नेपालको गुट र जसपामा छ । माधव गुट र जसपाका हरेक सांसद्लाई मन्त्री नबनी भएको छैन । माधवले आफ्नो पक्षमा लागेका सांसद्लाई दिनहुँ मन्त्री पदको आश्वासन दिन थालेको महिनौं भइसकेको छ । एकदिन आकर्षक मन्त्रालयको मन्त्री बनाइदिन्छु भन्दै माधवले एमालेमा सांसद्हरुलाई अनुशासन भंग गर्न लगाएको जगजाहेर छ ।

मन्त्री खान चाहने टोली कांग्रेस, माओवादी, माधव गुट र जसपामा मात्र छैन । त्यसबाहेक अर्काे दुईटा समूह छ, जसलाई सबैभन्दा आकर्षक र मालदार मन्त्रालय चाहिएको छ । योगेश भट्टराई, घनश्याम भुषाल लगायतको टिमले आफूलाई माधव गुटभित्र राख्दैन, माधव गुटबाहेक बेग्लै हिसाब गरेर आफूहरुलाई मन्त्री पद चाहिन्छ भन्ने यो समूहको दावी छ । उता, सोमबार एमालेबाट गद्दारी गरेर बाहिरिएको प्रेम आले, किसान श्रेष्ठ, पार्वती विशुंखे लगायतको टोलीलाई पनि मन्त्रिमण्डलमा भाग चाहिएको छ । उनीहरु अन्य किसिमका लाभ हात पारिसकेपछि मन्त्री पद पनि पाइने आशमा गद्दार कित्तामा सामेल भएको जगजागहेर छ ।

मन्त्री पद नभई नहुने अर्काे समूह पनि आइतबार प्रतिनिधि सभा बैठकमा प्रकट भयो । त्यो समूह हो– महन्थ ठाकुरको । अन्तिम क्षणमा खल्ती भरेर तथा मनभरी आश्वासन भरेर सो समूह देउवाको पक्षमा सर्लक्कै उभिन पुग्यो । जसपाभित्रको यो समूहलाई उपेन्द्र यादवले भाग नदिने प्रष्टै छ । त्यसैले यो समूहले पनि बेग्लै भाग माग्ने बुझिएको छ ।

सबैलाई मन्त्री चाहिने तर मन्त्री पद चाहिँ २५ भन्दा बढाउन नसकिने भएपछि माधव, प्रचण्ड, उपेन्द्र, शेरबहादुर लगायतका नेताहरु संविधान संशोधन गरेर २५ जनाको सीमा हटाउने पक्षमा देखिएका छन् । संविधान संशोधन गर्दा अन्य विभिन्न माग पनि उठ्ने सम्भावनालाई ध्यानमा राखेर अन्य विषयमा पछि संविधान संशोधन गर्ने, अहिलेलाई मन्त्रीको संख्या मात्र बढाउने गरी सहमति जुटाउन प्रयास भइरहेको छ ।

सनराइजखबरबाट 

प्रतिक्रिया दिनुहोस्