एमसीसीको कारण भीम रावलको राजीनामा



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सांसद रावलले आइतबार राजीनामा दिएका हुन् ।

नेकपा एमाले संस्थापन ओली र माधवकुमार नेपाल दुई समूहमा विभाजित हुँदा नेपाल समूहमा रहँदै आएका उनको आइतबार राजीनामा आएको हो ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन र विघटित प्रतिनिधि सभा पुनर्स्थापनका लागि नेपाल समूहका २३ सांसदले हस्ताक्षर बुझाएका थिए ।

उनीहरुकै माग बमोजिम सर्वाेच्च अदालतले पुनर्स्थापित गरेको प्रतिनिधि सभाको आठौं अधिवेशनको प्रारम्भकै दिन रावलले राजीनामा दिएका हुन् ।

उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधिमा आफू देश र जनविरोधी राजनीतिको मतियार नबने भन्दै सभामुखलाई सम्बोधन गर्दै रावलले लेखेको राजीनामा पत्रमा उल्लेख गरिएको छ,

‘ पछिल्लो समय प्रतिनिधिसभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहं, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवम् कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ ।

यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलगत हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।’

जुनसुकै कारण देखाएर राजीनामा दिएको भएपनि अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कारण रावलले राजीनामा दिएको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

एमसीसी पारित गर्न नहुनेमा बुलन्द आवाज गर्दै आएका रावलले नेपाल समूहकै सहयोगमा बनेको देउवा सरकारले एमसीसी पारित गर्ने भएको अहिले विकसित राजनीतिक घटनाक्रममै राजीनामा दिनु उचित ठानेका हुन् ।

देउवा नेतृत्वमा सरकार बनाउँदा नै एमसीसी पारित गर्ने गठबन्धनमा सहमति जुटेको भनिएका बेला रावलले संसदमा प्रस्तुत हुनु अघि नै सांसद पदबाट राजीनामा दिएका हुन् ।

आफूले हस्ताक्षर गरेको १० बुँदे सहमतिपत्रमा पार्टीको एकताविपरीत हुने कार्यमा सहभागी नहुने उल्लेख भएको अवस्थामा आइतबार पार्टीको निर्णयविपरीत देउवा सरकारलाई विश्वासको मत दिनु आत्मघाती हुने निष्कर्ष र यही प्रसङ्गमा राजीनामा दिँदा एमसीसी प्रस्तावमाथि हुने छलफलमा पनि सहभागी हुनु नपर्ने निचोडसाथ रावलले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्