आफताब आलमलाई जेलबाट छुटाउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता



रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले राजपुर बमकाण्ड आरोपमा जेल जीवन विताइरहेका पूर्वमन्त्री एवम् सांसद आफताब आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

रौतहटको गढीमाई नगरपालिकास्थित धरमपुर सिंगारवनमा महायज्ञको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आलमको रिहाईका लागि आफूले पहल थाल्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् । ‘आलमजी अहिले जेलमा हुनुहुन्छ,’ उनले भने, ‘म आफ्नो तर्फबाट आफ्नै किसिमले छुटाउन लागिरहन्छु ।’ उनले कार्यकर्तालाई धैर्य रहन अनुरोध गरे । उनले भने ,‘तपाईंहरु धैयै गर्नुस् । भोलि परिस्थिति बदलिन पनि सक्छ । त्यसैले तपाईंहरु धैर्य गरेर बस्नु होला । अदालतमा मुद्दा चलिरहेको छ ।’

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिकास्थित पूर्वमन्त्री शेष ईद्रिसको गोठमा भएको बम बिस्फोटमा मान्छे मारेको आरोपमा पक्राउ परेका आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि हाल उनी नख्खु जेलमा रहेका छन् ।

राजपुर बमकाण्डको १२ वर्षपछि प्रहरीले पूर्वमन्त्री आलमलाई २०७६ असोज २६ गते इद्रिस गेटबाट प्रक्राउ गरेको थियो । विस्फोटमा परी मृत्यु भएका र घाइते भएकाहरुलाई नजिकैको इँटा भट्टामा लगेर आगो लगाइ हत्या गरेको आलम माथि आरोप लागेको छ ।

फागुन १९ देखि २९ गतेसम्म संचालन हुने विष्णु पुराण महायज्ञ मेलामा विभिन्न खेल तमासा, रासलिला, रामलिलासहितको विभिन्न झाँकीहरु प्रदर्शन गर्न भारतबाट कलाकारहरु आएका छन । उद्घाटन कार्यक्रममा सभापति देउवालाई नगरपालिकाको तर्फबाट १०५ किलोको माला लगाइएको थियो । Nagarik Khabar

प्रतिक्रिया दिनुहोस्