नेपाललाई दल विभाजन गर्न देउवाको आग्रह, निर्वाचन आयोगलाई प्रचण्डको धम्की



काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई दल विभाजन गर्न आफुले सहयोग गर्ने प्रस्ताव राखेका छन । प्रधानमन्त्रीमा नियुक्त भएको भोलीपल्टै नेपाल निवास कोटेश्वर पुगेका प्रधानमन्त्री देउवाले नेपाललाई भेटेर आवश्यक परे पार्टी विभाजनका लागी अध्यादेश ल्याउन सहयोग गर्ने आश्वासन दिएको स्रोतको दावी छ । नेता नेपाल समेत नयां दल गठनको तयारीमा लागेका छन् ।

देउवाले सरकारमा सहभागी हुन समेत नेता नेपालसंग आग्रह गरेको स्रोतको दावी छ । देउवाले भेटमा संसदलाई जोगाउन गठवन्धनलाई अझै मजबूत बनाउनुपर्नेमा जोड दिएका थिए ।

यसअघि सर्वोच्च अदालतले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दिएलगत्तै नेपालले आफु एमालेमै फर्केको बताएका थिए । तर, बुधवार एमाले अध्यक्ष ओलीले नेपाललाई एमालेमा कुनै स्थान नहुने चेतावनी दिएपछि देउवाले भेटेर यस्तो प्रस्ताव गरेका हुन ।

उनले भेटमा नेपालको अप्ठेरो फुकाउन आफु तयार रहेको र संसद जोगाउन भुमिका खेल्न उनलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकाले देउवा नेपाललाई मनाउने कोशिसमा छन् । नेपालसंग २३ जना सांसद रहेको बताइएको छ । तर, नेपाल निकट धेरै सांसदहरुले समेत उनलाई छोडिसकेको स्रोतको दावी छ ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलवार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशचन्द्र थपलियालाई टेलिफोन गरेर जसपाको आधिकारीकता उपेन्द्र यादव पक्षलाई दिन धम्की दिएको स्रोतको दावी छ ।

कांग्रेस र माओवादी गठवन्धनको सरकार बनेसंगै ओली नेतृत्वको सरकारले गरेका धेरैजस्तो निर्णय उल्टाउने खेल सुरु भएको छ । बुधवार गृहमन्त्री बालकृष्ण खांडले नेपाल प्रहरीका एआइजीको सरुवा रोक्न निर्देशन दिएका थिए । काठमाण्डुपाटीबाट

प्रतिक्रिया दिनुहोस्