धनुषामा मन्त्री अरगरियालाई १०१ किलोको मालाले स्वागत



जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई गृहजिल्ला धनुषामा भव्य स्वागत गरिएको छ ।

मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला धनुषा आएका अरगरियालाई जसपाका युवा नेता राजेश यादवले १०१ किलोको मालाले स्वागत गरेका हुन् । जसपा महन्थ ठाकुर पक्षका नेता, कार्यकर्ता र नेकपा एमालेका युवा नेताहरुले पनि उनलाई स्वागत गरेका छन् ।

जनकपुरको भानु चोकमा रहेको घर पुगेपछि उनलाई आफन्तले स्वागत गरेका थिए । घरमा १० मिनेट पनि नबसी उनी बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले राखेको स्वागत कार्यक्रममा सहभागी भएका थिए । उनले जानकी मन्दिरमा पूजापाठ पनि गरेका छन् ।

मन्त्रीको पदभार ग्रहण गरेलगत्तै उनले जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न आवश्यक अध्ययन तथा अनुसन्धानका लागि समिति गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्