हरिबोल गजुरेल माओवादी छाड्दै – एमाले प्रवेश गर्ने तयारी



काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेल पार्टी छोड्ने मनस्थितिमा रहेको बताइएको छ ।

माओवादी केन्द्रका शीर्ष नेतामध्येका एक गजुरेल एमाले प्रवेश गर्ने तयारीमा रहेको माओवादी केन्द्रकै नेताहरुले खुलासा गरेका हुन् ।

माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका उर्जामन्त्री टोपबहादुर रायमाझीले गजुरेल पार्टी छोड्ने मनस्थितिमा रहेको बताएका हुन् ।

‘माओवादी सशस्त्र युद्ध सुरु हुनुअघिका केन्द्रीय सदस्यमध्ये प्रचण्डजीसँग जम्मा ३ जना मात्रै छन् । हरिबोल गजुरेल, पम्फा भुसाल र देव गुरुङ,’ एक टेलिभिजन अन्तर्वार्तामा मन्त्री रायमाझीले भने, ‘पम्फा भुसाल र देव गुरुङजीले एकपटक प्रचण्डलाई छोडिसकेका हुन् । गजुरेलजी पनि अलमलमा हुनुहुन्छ । तर प्रचण्डसँगै नरहने सम्भावना धेरै छ ।’

उनले गजुरेल एमाले प्रवेश गर्ने सम्भावना पनि रहेको खुलाए ।

‘उहाँ एमाले प्रवेश गर्न सक्नुहुन्छ तर प्रचण्डसँगै रहनुहुन्न । यो चाँही स्पष्ट हो,’ प्रचण्डको आलोचना गर्दै मन्त्री रायमाझीले भने, ‘प्रचण्डलाई सबैले छोड्दै गएका छन् । उनी अन्तिममा एक्लै रहनेछन् ।’

प्रतिक्रिया दिनुहोस्