‘विकासका आयोजना शिलान्यास गर्नुहुँदैन’ – सांसद थापा



काठमाडौँ, २६ चैत । नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकारले गरेको विकास र समृद्धिको यात्रालाई कडा रुपमा विरोध गर्नुभएको छ ।

बिहिबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकावासीलाई खुवाउन गरिएको उद्घाटनको विरोध गर्नुभयो । उहाँ खानेपानीको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने नभई माफि माग्नुपर्ने बताउनुभयो ।

आफ्नो नेतृत्वमा भएकाले समयमा सिन्को पनि नभाच्ने अनि अर्काको नेतृत्वमा जनताले खानेपानी प्रयोग गर्न पाएकोलाई विरोध गर्दै जनतालाई भ्रम छर्न सांसद थापा तल्लिन भएको प्रष्ट भएको छ ।

विगतका खानेपानी मन्त्रीले जनताको सेवामा भन्दा पनि भ्रष्टाचारमा नै रुमलिएर विताएका धेरै प्रमाणहरु समेत साक्षी रहेको समयमा सांसद थापाले समेत विगतको भ्रष्टाचार तथा अवैध गतिविधिलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीको विरोधमा सडकदेखी सदनसम्म नै शुरु गर्नुभएको छ । जसबाट आम नागरिकले के प्रष्ट बुझ्न सकिन्छ भने सांसद थापा विकास र समृद्धिको यात्रालाई भन्दा पनि भ्रष्टाचारीको नेतृत्व गरिरहनुभएको छ ।

आयोजनाको काममा ढिलाई भएकोमा माफी माग्नुपर्नेमा प्रधानमन्त्री ओलीले उल्टै उद्घाटनको तमासा गरेको भन्दै विगतका भ्रष्टाचारी मन्त्रीहरुले बचाउ गर्नुभयो । २०५५ सालमा मेलम्ची विकास समिति बनेपछि पनि २३ बर्ष लागेको बताउँदै उहाँले यो बीचमा सबै दल सरकारमा बसेको उल्लेख गरे पनि आफ्नो पार्टीको नेतृत्वमा भएका असंख्य कुराहरु लुकाउनुभयो ।

उहाँले सात आठ वर्षमा बन्नुपर्ने आयोजना २३ वर्षमा बन्दा अरबौं रुपैयाँ भार पर्दा माफी माग्नुपर्ने हैन भन्दै प्रश्न गर्नुभयो । तर आफ्नो नेतृत्वको सरकारले किन गरेन भनि जवाफ दिनुभएन ।

उहाँले संसदमा बोल्दै भन्नुभयो, ‘प्रधानमन्त्रीले भनेको त्यो समयभन्दा पनि पछि पानी आउन साढे २ बर्ष लाग्यो । किन रु प्रधानमन्त्री र मन्त्रीको कुरा मिलेन, ठेकेदार र मन्त्रीको मोलमोलाई मिलेन ।

साढे २ वर्ष लाग्यो डेढ अर्ब अनावश्यक खर्च भयो । ५७ दिनमै चमत्कार भएको थिएन पहिलेदेखि नै काम भएको थियो । त्यो ९ महिना त आयोजनाको सिन्को समेत भाँचिएन । अहिले यत्रो फूर्ति ? काठमाडौँवासीको बीचमा उभिएर माफी माग्नुपर्नेमा कहिले धारा खोलेर, कहिले बाल्टी थापेर कहिले उठेर कहिले बसेर उद्घाटन गरेको छ तमासा गरेको छ, चमत्कार गरेँ भनेको छ ।’

थला परेको आयोजनालाई अगाडि नबढाउने र भइसकेको आयोजना उद्घाटन गर्ने, मिथ्याङ्क ल्याएर यो भएको छ, त्यो भएको छ भन्दै २ वर्षअघि नै निर्माण सकिएको पुलको उद्घाटन गरेको भन्दै सांसद थापाले झुटा कुरालाई संसद जस्तो गरिमामय सदनमा राख्नुभयो ।

उहाँले प्रधानमन्त्रीले डिजाइन पैसा केही नभएको सडक आयोजनामा प्रधानमन्त्रीले प्याट्ट स्विच थिचेर उद्घाटन गर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई कति विकास भयो भन्ने बारेमा तथ्य र तथ्याङ्कमा बसेर बहस गर्न चुनौति समेत दिनुभयो । यसबाट के प्रष्ट हुन्छ भने विरोधका लागि गगन थापाले राजनीति गरिरहनुभएको छ । उहाँले घुमाउरो भाषा विकासका आयोजना शिलान्यास गर्नुहुँदैन भन्ने तर्क प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्