फेरि विद्यालय बन्द गरेर अनलाईनमार्फत पठनपाठन गराउने सरकारको तयारी



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले फेरि विद्यालय बन्द गरेर अनलाईनमार्फत पठनपाठन गराउनेबारे सोचिरहेको बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले विद्यालयमा संक्रमण वृद्धि भएकाले विद्यालय बन्द गराएर अनलाईनमार्फत पठनपाठन गराउनेबारे पनि मन्त्रालयले सोचिरहेको जानकारी दिनुभएको छ ।

काठमाडौं र पोखरा लगायतका ठूला सहरमा रहेका विद्यालयमा संक्रमण वृद्धि भएकाले उच्च सतर्कता अपनाउन पनि स्वास्थ्य राज्यमन्त्री रावतले सुझाव दिनुभएको छ ।

उहाँले अहिले नै मुलुकभर लकडाउन आवश्यक नदेखिएको पनि उल्लेख गर्नुभएको छ । उहाँले लकडाउन कोरोना भाइरस नियन्त्रणको अचुक उपाय नभएकाले देशमा अहिले नै लकडाउन नगरिने बताउदैं सबैले भाइरसबाट बच्न उच्च सर्तकता अपनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

स्वास्थ्य राज्यमन्त्री रावतले मातहतका निकायसहित मन्त्रालय कोरोनाको रोकथाम र नियन्त्रण गर्न काम गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले अहिले भारतमा कारोनाको दोस्रो लहर निकै बढेकाले सीमानाकामा कडाई गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य राज्यमन्त्री रावतले कोरोना भाइरसको संक्रमण नेपालमा फेरि उकालो लागेकाले सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न भन्दै स्वास्थ्य मापदण्ड अपनाउन आम नागरिकहरुलाई आग्रह गर्नुभएको छ ।

कोरोनाको बेलायती भेरिएन्ट नेपालमा फैलने क्रम बढेको भन्दै सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न निर्देशन दिएको उहाँले बताउनुभएको छ ।

बुधबार मन्त्रालयले रात्रीकालिन व्यवसाय तथा रेष्टुरेन्टहरु राती ९ बजेपछि कडाइका साथ बन्द गराउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्