माधव कमरेड, के यिनै हुन् त पार्टीका विधि, पद्धति र अनुशासनका तौरतरिका ?
पूर्णचन्द्र भुसाल – हाम्रा गाउँका जरे बाले एकदिन भन्थे, उहिले उहिले गाउँघरमा केहिकिछो परे कटुवाल लई घोक हाल्न लगाएर गाउँमा उर्दी जारी गरिन्थ्यो र कुनै एउटा चौपारीमा कचहरी राखिन्थ्यो । घरमा जति सुकै महत्वपूर्ण काम भए पनि कचहरीमा नगई सुखै पाइंदैन थियो । साँच्चै भन्नु पर्दा गाउँका प्रतिष्ठित भद्र भलादमीको महत्वपूर्ण राय, सुझाव र निर्णय सुन्न पाउने अवसरका अलावा आपसी नमन साटासाटको संयोग जुरेको शुभदिनको रुपमा पनि कचहरीलाई लिइन्थ्यो ।
आँफु त सामान्य ल्यागतको मान्छे, हाम्रो कुरो सान्दर्भिक नै भए नि कसैले सुन्दै सुन्दैन थिए । अरुले सुनुन् वा नसुनुन्, जे भए नि कचहरीमा गइसके पछि केहि न केहि बोल्न मन लागिहाल्ने ! हुन त हामी जस्ताले बोलेर हुने भा कति बोलियो कति !
तैपनि फेरि चुप्प लाएर बस्न मनले पटक्कै नमान्ने । यस्सो छेऊ टुप्पोमा कतै मौका मिले मन उछुरउछुर भई हाल्ने, मनको कुरा प्याच्च बोली हालिने । कहिलेकाँही त बोल्यो बोल्यो, आफ्नै धोती पोल्यो भने झैं हुन्थ्यो । जसरी नि आफ्नै खति ! बडो रोचक ढंगले हाम्रा अगाडी एकदिन उनले फुर्माउँदै भनेका थिए
आजकल मलाई नि त्यस्तै भाछ । मलाई जस्तै अरु थुप्रैलाई पनि त्यस्तै भाको होला जस्तो मलाई लाछ । हुन त म आँफु न कुनै राजनीतिक लाभको पदमा विराजित मनुवा हुँ, न भावी समयमा प्राप्त हुनसक्ने अवसरको माकुरी जालमा फसेको लालची उम्मेदवार ! छु त केवल फुक्लो सन्ताप र हुटहुटीको मतियार !
तर पनि मनमा लाएको कुरो नउकेली मनले हाइसन्चो मान्दै मान्दैन । नत्र यो मनमा गड्यांगगुडुंग र उकुसमुकुस नभै छाड्दैन । मनका सबै आशंका र सवाल जति र्यांग्काठ्यांग मिल्छन् भन्न त सकिन्न तर सामान्यतया यथार्थको कसी भन्दा साह्रै पर पनि नजान सक्छन् ।
अहिले आएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कालखण्डदेखि नै अत्यन्तै बाउँटिएर, च्यांठ्ठीएर र घुर्की लाएर जो पायो त्यहिसित लहसिंदै, आत्मरतिमा रुमल्लिंदै बाटो कुबाटो कुर्लंदै र बुरुक्क–बुरुक्क उफ्रंदै हिंड्दा हिंड्दै सर्बोच्च अदालतको फैसलाले घोक्रेठ्याक लाईदिए पछि पेरिसडाँडाका संप्रभुसंग भावपूर्ण अंकमाल गर्दै सकेसम्म छिट्टै भेट्ने कसम खाईवरी माया मारिसकेको थोत्रो घरमा लुरुलुरु फर्कन बाध्य
भएका तत्कालिन नेकपा एमालेका दिग्गज हस्ती एवं नायक, अझ केहीको विशेषणमा अत्यन्त सरल नेता तर वर्तमान जमानामा कुण्ठाग्रस्त भएर उत्ताउलिंदै बिभिन्निएका खासमा अपमान शव्द उवाचका हाताहाती कोरानेता माधव नेपाललाई ‘बल्ल खाईस मंगले आफ्नै ढंगले’ नभनीकन बर्खेच्याउ झैँ मनका उम्रेका यावत खुल्दुली मेटाउन केहि प्रश्न नसोधी मनले नै मानेन ।
सोधौं भने यसले पनि मलाई सोध्यो भनेर कतै कमरेडलाई थोरै खल्लो वा अलि नमिठो लाग्ला ! तर सोध्दै नसोधौं भने मेरो आफ्नै मनको हाल बेहाल हुन्छ । जे गरे नि यो मनमा सुख र शान्ति छैन ।
आ जे सुकै होस् ! हिम्मतका साथ कमरेडसंग सिधै केहि कुरा सोधेरै मनको खुल्दुली मेटाउने निर्णय गरेको छु । भरसक झर्को नमानी प्रत्योत्तर दिनु होला । नत्र नातिनीले ए हजुरआमा ‘तिमीलाई त सबैले बोक्सिनी भन्छन् नि’ ! किन होला ?’ भनेर सोध्दा हुन देउ नातिनी जस्तो देख्छन त्यस्तै भन्छन् भनेर हजुरआमाले नातिनीलाई भने झैँ होला नि !
लौ आफ्नो आत्म साक्षी राखी भन्नुस् त माधव कमरेड, के यिनै हुन् त हजुरको मुखारविन्दबाट निरन्तर जपिएका पार्टीको विधि, पद्धति र अनुशासनका मन्त्रणाहरु !
महाधिवेसन पराजित भईसकेपछि पार्टी भित्र स्थायी गुटको निर्माण गरी समस्त नेता, कार्यकर्ता र शुभेक्छुक बीच संगीन भ्रम छर्नु
पार्टीको आधिकारिक निर्णय बिरुद्ध निरन्तर बिष बमन गर्नु
पार्टीका कार्यकर्ता र नेता बीच झगडाको बीउ छरेर घृणा र द्वेष फैलाउनु
आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीको गोएवल्स शैलीमा बद्नाम गर्नु
मृगौला प्रत्यारोपण पछि डिस्चार्ज भएर स्वास्थ्य लाभ गर्न आवास फर्कन भ्याउँदा नभ्याउँदै बिरामी प्रतिको सामान्य मानवीय संवेदना समेत गुमाएर प्रधानमन्त्रीलाई घोक्रेठ्याक लाउन न्वारण देखिको बल लगाउनु
महाभूकम्पको प्रहारबाट उठ्न पाउँदा नपाउँदै फेरि कोरोनाको प्रकोपले थिल्थिल्याउंदा पनि सम्हालिएर अघि बढेको आफ्नै पार्टीको सरकारले गरेका दूरगामी असर पर्ने अत्यन्त राम्रा कामहरुलाई पनि अपजस दिनु
प्रधानमन्त्री बिरुद्ध कपोलकल्पित १९ बुंदे आरोप पत्रबमको मतियार हुनु
आफ्नै धानमन्त्रीको पुत्ला सडकमा जलाउँदै हिड्नु
संवैधानिक राष्ट्रपति (जो बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीकी अर्धांगिनी पनि हुनुहुन्छ) बिरुद्ध सडक, सामाजिक संजाल र आमसभा मार्फत निकृष्टरुपमा अमर्यादित नारा घन्काउँदै राष्ट्रपतिको अस्मिता माथि हिलो छ्याप्नु,
महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई साधारण सदस्य समेत नरहने गरी सडकबाटै बर्खास्त गरी सडकबाटै आँफु पार्टी अध्यक्ष भएको घोषणा गर्नु
पार्टीका बैठक र पार्टी संसदीय दलको बैठकमा उपस्थित नभई समानान्तर गतिविधि गर्नु
समानान्तर रुपमा जनवर्गीय संघ संगठनको अवैधानिक तवरले भेला तथा सम्मेलन गरी विधिसम्मत नेतृत्वलाई प्रतिस्थापन गर्दै पार्टीलाई पुन विभाजनको दुष्चक्रमा पु९र्याउनु
हुँदाखाँदाको आफ्नो पार्टीको एकल सरकार गिराएर बिपक्षी पार्टीका अमुक नेतालाई जे भए नि प्रधानमन्त्री स्वीकार गरी दिनु प९र्यो हजुर भन्दै जुहार्नु
व्यक्तिगत स्वार्थको लागि आफ्नै पार्टी बिरुद्ध बिचार र सिद्धान्त नमिल्ने अन्य पार्टीसंग हरहमेसा अनुचित साँठगाँठ गरिरहनु
भाङ्गको नशाले लट्ठ पारिसके पछि आँफैलाई रिंगाएको मेसो कसैले पाउन्न अरे, बरु आँफै सुतेको खाट नै फनफनी घुमेको जस्तो लाग्छ अरे भन्छन् ! भाङ्ग भन्दा पनि नशालु चिज मानसिक कुण्ठा र अहारिस हुन् –तिनीहरुसंग बेलैमा पारपाचुके गर्न नसकेमा त्यसको पहिलो शिकार आँफु स्वयं र आफ्नो पछि लागेका हजारौं निर्दोष राजनीतिक कार्यकर्ताहरु हुनेछन्
तसर्थ बिउंझनुस् कमरेड बिउँझनुस्, थुप्रै नेता, हजारौं कार्यकर्ता र लाखौँलाख समर्थकहरुको समर्पण, पसिना र रगतले मौलाएको जनताको आशा र भरोषाको एक मात्र प्रिय पार्टी नेकपा एमालेलाई हामी सबै मिलिजुली राम्रोसंग सम्हालौं ।लिपपोत गरी चिटिक्क, सुन्दर र आकर्षक बनाऔं । अनि बल्ल सम्पूर्ण नेपालीको सौभाग्य मजुराउने छ ।
व्यक्तिगत वा सामुहिक स्वार्थ, अहंकार र भावावेशमा आफ्नै पसिना र रगत लत्पतिएको प्यारो घर जलाउँदा थुप्रिएको खरानी अलिअलि त जोगीलाई काम लाग्ला ! तर त्यसले न त कसैलाई ओत दिन सक्छ, न त त्यो कसैको आहारा बन्न सक्छ । बरु एकदिन सबै खरानी हावाले उडाईदिने छ ।
तसर्थ सकेसम्म आफ्ना अतृप्त आत्मकुण्ठालाई काबुमा राखेर सम्पूर्ण नेता, कार्यकर्ता, सहयोगी र शुभचिन्तकहरुको पवित्र भावनाको कदर गर्नु नै हितकारी हुन्छ ।
हामी सबैले देखे जानेकै कुरा हो फल नलागेको हाँगो ठिङ्गलिंग मास्तिर ठडिन्छ तर फलेको हाँगो भुइँतिरै निहुरिन्छ । सामान्यतया आकाशतिर फर्किएको रित्तो हाँगो भन्दा त लटरम्म फलेर भुइँतिरै फर्केको झोपिलो हाँगो नै राम्रो देखिन्छ नि ! होइन र रु असनको साँढे जस्तो मैमत्त भएर जसलाई पायो त्यसैलाई सिंगले हान्दै हिंडेका तपाईंहरुले पनि फल नलाएको हाँगो जस्तो ठडेउरो भएर होइन लटरम्म फलेको हाँगो जस्तो नुहेर चरत्तै च्यातिएको कार्यकर्ताको कोमल मनमा मलम लगाइदिंदा आँफैलाई लाभदायी हुन्छ । जनमानसमा प्रचलित उपदेसमुलक उखान “बुद्धिले अरुलाई खान्छ, रिसले आँफैलाई खान्छ” को अर्थ कमरेडहरुलाई सम्झाईरहनु नपर्ला । भरसक पछिल्लो उपमा कसैले व्यहोर्न नपरोस् ।
आफ्नै परिवार पराई र परचक्रीहरु साखुल्ले कदापि हुन सक्दैनन् । एउटै पोखरीमा बसेपछि माछाले भ्याउता र भ्याउताले माछालाई त जहान जस्तो व्यवहार गर्छन् भने हामी त मान्छे, त्यो पनि प्रगतिशील बिचार र सिद्धान्त बोकेका सहमार्गी हौँ । साइनो अनुसार एकले अर्काको मर्यादा राख्नु बेहत्तर प्राकृतिक हुन्छ । सर्व हिताय पक्ष पनि यहि हो ।
बिगतमा अरुको लहैलहैमा लागेर आँफुले गरेका जघन्य अपराध स्वीकार्दै स्वयं आत्मालोचित हुँदा तपाईं हामी कसैको कद घट्दैन । यदि नेकपा एमालेकाई एकीकृत राख्ने मन र फेरि सम्पूर्ण कार्यकर्ताको मन जित्ने रहर जिउंदै छ भने बिना हिच्किचाहट पार्टी अध्यक्ष माथि थुपारेको फन्टुस आरोपको बन्डल चाँडो फिर्ता लिएर कार्यकर्ता माझ जदौ गर्नुस् िनत्र हजुरहरुका दुर्वचनले अमिलिएको नेता र कार्यकर्ताको मन र दुष्कर्मले धमिलिएको विश्वासको वातावरण त्यत्तिकै संग्लिने शुभ मुहुर्त झट्टै जुर्नेवाला छैन । मनभरी डाह, ईर्ष्या र कुण्ठा सिंचाएर घरी पेरिसडाँडाबाट त घरी बानेश्वरको अर्याल होटेलको झ्यालबाट जुल्क्याउँदैमा फेरि तालुमा आलु फल्ने जमाना गए । २०५० सालमा जन्मेका बतिला केटाकेटी आज २७ वर्ष पुगेर आफ्नो योग्यता र क्षमता दर्शाई सकेका छन्
। आउनुस्, बिना शंकोच आउनुस् । तर उता रहंदा टाँसिएको दुर्गन्धित धुलो मैलो उतै धोईपखाली गरी शुद्ध मन लिएर बिना बिलम्ब आफ्नै कार्यालयमा पदार्पण गर्नुस् । अनि ढुक्कले पार्टीको उन्नति र प्रगतिको लागि हातेमालो गर्दै अगाडी बढ्नुस् । पार्टीका सम्पूर्ण कार्यकर्ता बिना पुर्वाग्रह जयजयकार गर्न आतुर छन् ।
यदि जे होला होला फाटेको झोला भन्ने नै मन छ भने झिटिगुन्टा पोको पारेर काशीतिर पाइला बढाउँदा मनासिव हुन्छ । कमसेकम लाजले शिर निहुराएर अरुको अगाडी हिड्नु त पर्दैन । होइन भने ढिलोचाँडो ‘हिस्स बुढी हरिया दाँत’ भन्ने उखान तपाईंहरु माथि नि चरितार्थ नभै छोड्दैन ।