केपी ओलीले एमालेको सही ट्र्याक समातेको आम कार्यकर्ता हर्षित



तत्कालीन एमाले र तत्कालीन माओवादी एकता हुँदा वैचारिकभन्दा प्राविधिक एकतालाई प्राथमिकता दिइएको थियो । प्रतिशत र भागबण्डामा केन्द्रित एकता थियो ।

संसदीय सिटमा भागबण्डा मन्त्रीमण्डलमा भागबण्डालाई त गठबन्धनमा सामेल दुई पार्टीको छुट्टै अस्तित्व भएको अवस्थामा स्वाभाविक मानिए पनि पार्टी एकता भएको लामो समय बितिसक्दा पनि तलदेखि माथिसम्म सबैतिर प्रतिशत र भागबण्डाबाहेक पार्टी सञ्चालनको अरू तरिका नदेखिनु यो एकताको सबभन्दा अस्वाभाविक विषय थियो ।

बाम गठबन्धनले झन्डै दुई तिहाइ बहुमत ल्याएपछि पार्टी अध्यक्ष के पी शर्मा ओलीको नेतृत्वमा सरकार बनेदेखि नै पार्टीका अर्का अध्यक्ष प्रचण्डलगायत धेरै शीर्ष नेताहरूको ध्यान पार्टीको परिभाषित जिम्मेवारीमा भन्दा सरकारतिर सोझियो ।

 

र, देश र जनताको पक्षमा राम्रो काम गरिरहेको सरकारलाई पार्टीभित्रै बाट हरेक विषयमा हलो अड्काउन सुरु गरियो । देशको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्रीको स्वविवेकीय अधिकारलाई समेत पार्टीले सरकार चलाउने हो भन्दै अस्वाभाविक हस्तक्षेप गर्ने निरन्तर प्रयास गरियो ।

कम्युनिष्ट पार्टी सञ्चालन हेतु लेनिनले प्रचलनमा ल्याएको जनवादी केन्द्रियतालाई राज्य सञ्चालनमा समेत प्रयोग गर्ने दुष्प्रयत्न गरियो । बहुमत जनताले पाँच वर्ष शासन गर्न दिएको अभिमतलाई पार्टी सचिवालयमा बनेको क्षणिक एवं प्राविधिक बहुमतले निस्तेज वा निषेध गर्न खोजियो । यो जनवादी-केन्द्रियताको सही प्रयोग थिएन,बरु विद्रुपीकरण थियो ।

शान्ति प्रक्रियापछि तत्कालीन माओवादीमा देखापरेको अराजकता, अस्तव्यस्तता र सत्ताको छिनाझपटी जस्ताको तस्तै नवगठित नेकपामा प्रवेश गराइयो । पार्टीको मूल नेतृत्वविरुद्ध निरन्तर रूपमा पार्टीभित्र र सार्वजनिक रूपमै आक्रमण गरियो । पार्टीका महत्त्वपूर्ण गोपनीयतालाई समेत शीर्ष तहबाटै अवाञ्छित तरिकाले चुहाइयो ।

पार्टीका ‘कार्यकारी’ अध्यक्ष आफ्नो पार्टीको सरकारलाई सफल बनाउन भूमिका खेल्नुपर्नेमा, प्रधानमन्त्रीलाई लोकप्रिय बनाउन भूमिका खेल्नु पर्नेमा त्यसको उल्टो सरकारलाई असफल र अलोकप्रिय बनाउन प्रतिपक्षभन्दा बढी आलोचना र विरोध र चरित्र हत्यामा उत्रिए ।

आफू नै एमालेको असली निर्माणकर्ता भएको दाबी गर्ने पार्टीको ‘वरिष्ठ नेता’ पदमा आशीन नेताहरू पनि जनभावना विपरीत पार्टीको मूल नेतृत्व र सरकारलाई कपोलकल्पित लाञ्छना र आरोप लगाउन व्यस्त रहे ।

          निर्मल भट्टराई

अझ विचित्र त के भने पार्टी प्रवक्ता पार्टीको आधिकारिक लाइनको प्रचार प्रसार गर्नुको सट्टा आफ्ना कुण्ठाको अन्टसन्ट प्रचार गरिरहे ।यसरी साबिक नेकपामानेताहरुविच न्यूनतम विश्वास पनि बन्न सकेन । केही अति महत्वाकाङ्क्षी नेताका कारण एकताको भावना जागृत हुनै सकेन ।

आफू तत्कालीन माओवादीको सुप्रिम कमान्डर हुँदा पार्टीभित्रका आफ्ना आलोचकलाई लिन प्याओको बिल्ला भिराइ हाल्ने प्रचण्ड पार्टी एकता भए लगत्तैदेखि पार्टीको मूल नेतृत्वलाई खुइल्याउन र राजनीतिक रूपमा सिद्ध्याउन लिन प्याओकै भूमिकामा देखिए ।

उनी साबिक नेकपा भत्काउन निरन्तर षडयन्त्र, गुटबन्दी र अराजकताको इस्तेमाल गर्न पुगे । बाहिर बसेर कसै गरी एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने निष्कर्षमा पुगेका प्रचण्ड एमालेभित्रै पसेर त्यसलाई कब्जा गर्ने र कदाचित् नसके तहस-नहस पार्ने लक्ष राखेरै एमालेसँग उनले एकताको विषयुक्त हात फैलाएको अहिले खुलेको छ ।

अर्कातिर देशको सार्वभौमिकता, स्वतन्त्रता, आर्थिक समृद्धिको लागि सबल पार्टी र राष्ट्र बनाउन अहोरात्र खट्नुभएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले पार्टीभित्रबाट वहाँ विरुध्द पोखिएका हरेक प्रकारका विष पचाउँदै आउनु भयो ।

अप्ठ्याराहरू पर्गेल्दै आउनु भयो । निरन्तरको घुर्की र धम्की सहन गर्दै आउनु भयो । सबैतिरबाट घेराबन्दी भएपछि मिलेर जानैनसक्ने अवस्थामा संसद् भङ्ग गरेर ताजा जनादेश लिने निर्णयमा समेत जानुपर्ने अवस्था आयो ।

भयङ्कर घेराबन्दी र असहयोग गर्दा पनि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष के पी शर्मा ओलीलाई गलाउन नसकेपछि आफूले भनेजस्तो नहुँदा आफ्नै पार्टी भत्काउँदै आएका प्रचण्ड जनताको बहुदलीय जनवादको वैचारिक पोखरीमा लामो समय पौडी खेलेका माधव नेपाल, झलनाथ खनालसँगै पेरिस डाँडामा आफ्नो मुकाम बनाएर प्रधानमन्त्रीसँग पौंठेजोरी खेल्न थाले।त्यो नेपालको कम्युनिष्ट आन्दोलनमा एक विचित्रको घटना थियो ।

शान्ति प्रक्रियामा आएपछि अध्यक्षको हैसियतमा कमरेड प्रचण्डको पार्टी सञ्चालनको ट्र्याक हिस्ट्री त्यति राम्रो छैन । सधैँ अराजकता, सधैँ विखण्डन । सधैँ विचारशुन्यता । न माओवाद, न जनवाद । सधैँ परिवारवाद ।

एमाले-माओवादी एकता पटक्कै अगाडि बढ्न नसकेको बेला सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काई दिएपछि गत निर्वाचनको सबभन्दा ठुलो पार्टी एमाले ब्युँझिएर आफ्नो काम सुरु गरिसकेको छ । तर विडम्बना नै भन्नुपर्छ,देशको भाग्य र भविष्य बोकेको नेकपा(एमाले)लाई एकताबद्ध बनाउन पार्टीभित्र अझै केही समस्या बाँकी नै छन् ।

जसरी विगतमा प्रचण्डको कमाण्डरी आक्रोश, निरङ्कुश शैली,जननेता मदन भण्डारीप्रतिको घृणा,संसारमा असफल भएको एकाधिकारवादी कम्युनिष्ट शासन प्रणाली प्रतिको मोह नेपाली जनताले पटक्कै मन पराएका थिएनन्,त्यसरी नै अहिले एमालेभित्र समानान्तर गतिविधि गर्न तम्सिएको समूहलाई नेपाली जनताले तिरस्कार गरिरहेका छन् ।

सबै एमाले मतदाताले बुझेकै छन्-जनताको बहुदलीय जनवाद र तत्कालीन एमालेको सम्पूर्ण लिगेसी पार्टी अध्यक्ष के पी ओलीमा रहेको छ, रहने छ ।

र, अहिले कुनै भ्रमवशगूटको पछि-पछि दौडेका एमालेका केही नेता कार्यकर्ता जनताको बहुदलीय जनवादको वैचारिक धरातलबाट बाहिर जान सक्ने कुनै विकल्प विद्यमान छैन ।उनीहरूले चाँडै बुझ्नेछन्- एमालेरुपी राजमार्गबाट दायाँ भड्किए पहिरोमा पर्ने र बायाँ भड्किए भिरबाट खस्ने पक्का छ ।

नेपाल कम्युनिष्ट (एमाले)ले देशकै सबभन्दा अनुशासित पार्टीको रूपमा आफ्नो पहिचान बनाएको छ । तर एमालेमा पछिल्लो समय अराजक एवं गुटगत एवं समानान्तर गतिविधि निकै मौलाएको छ ।

यसलाई नियन्त्रण गर्न एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकले केही नेतालाई कारबाहीको प्रक्रियाले केही राहत महसुस गरिएको छ । पार्टीमा अनुशासन कायम गर्न कोशे ढुङ्गा साबित हुने यो निर्णयको देशव्यापी स्वागत गरिएको छ । यो निर्णयको कार्यान्वयनसँगै पार्टीको आन्तरिक एकतालाई थप उचाइमा पुर्‍याउने सर्वत्र अपेक्षा गरिएको छ । आज जनस्तरमासमेत भनिदैछ-वाह! एमाले, यस्तो पो एमाले !

प्रतिक्रिया दिनुहोस्