‘यो मदन भण्डारी नआउन सक्छ तर सूर्य (चिन्ह) त आयो-आयो’ – मदन भण्डारी



किरण पौड्याल काठमाडाै‌ं
आजभन्दा झण्डै ३० वर्षअघि चुनावी अभियानको क्रममा मदन भण्डारीले दिएको भाषणका वाक्य हुन यी। ‘सूर्य चिन्ह’ कसरी आउँछ, प्रतीक्षा गरौँ।

‘सूर्य चिन्ह’ र मदन भण्डारीको सैद्धान्तिक ‘ओज’ आज पनि उही गरिमा बोकेको रहेछ। आज यही कुरा लेख्न मन लाग्यो। जुन बिषय, आज प्रचण्ड र केपीसम्म आइपुग्दा पनि उत्तिकै सान्दर्भिक रहेछ।

दासढुङ्गा फिल्म बनाउने क्रममा मेरो जिम्बेवारी बजेट पनि जुटाउने र मदन-आश्रितको मृत्युको ‘कारण’ पनि जुटाउने थियो। सुरुवाती दिनहरुमा मैले मदन्-आश्रितको मृत्युलाई खोजेँ। मेरो दिमागभित्रको प्राज्ञले भन्यो– जब ‘मृत्यु’ खोजिन्छ, तब ‘जीवन’ भेटिन्छ।

अनुसन्धान अगाडि बढाउँदै गर्दा उहाँहरुका जीवन भित्रका विभिन्न आयामहरु थाहा पाउने र नयाँ कुराहरु पत्ता लगाउन पनि पायौँ। मैले उहाँको ‘मृत्यु’ खोज्दा ‘जिवन’ भेट्टाएँ। जीवनभित्रका ‘वैयक्तिक’ र ‘राजनीतिक’ आयाम भेट्टाएँ। मेरोलागि फिल्म बनाउने सन्दर्भ, एउटा ‘परिघटना’ मात्र भयो। भित्र पस्ने ‘ढोका’ जस्तै। भित्र पसेपछि, ‘जनताको बहुदलीय जनवाद’ पढेँ। दुईबीच फरक थाहा पाउनलाई, ‘नौलो जनवाद’ पनि पढेँ।

‘एक्काइसौँ शताब्दीको जनवाद’ पढे। काउत्सी पढे। जेठ ३ मा उहाहरुको मृत्यु पछीको, दिनमा बनेका विभिन्न आयोगका report हरु पढेँ। जैन आयोगको रिपोर्ट पनि पढेँ। खोजेको र भेट्टिएकोसम्म सबै खोजेँ र पढेँ। यति पढेँ कि विभिन्न पुस्तकालयहरुका स्टाफले समेत चिनेका थिए। यति धेरै खोजी सकेपछि त धेरै कुराहरु जानेँ भन्ने लाग्थ्यो। आफू विद्वान नै लाग्थ्यो तर होइन रहेछ।

मलाई मदन-आश्रितको मृत्यु के हो भन्ने प्रश्नको उत्तर ‘इबिडेन्टिक-बेस’ मा कसैले बताएनन्। भवितव्य, दुर्घटना वा षड्यन्त्रमय हत्या ? यी मध्ये के हो र को हो ? यी प्रश्नहरुले सधैँ पछ्याइरह्यो मलाई। यसले मार्यो, त्यस्ले मार्यो भनेर विश्लेषणका ‘फत्तुर-गफ’ मात्र धेरै ‘नेता’ देखि ‘टुन्टे-टाम्म्रे’ कार्यकर्तासम्मले फ्याक्थे।

‘दासढुङ्गा’ विषयमा ‘रिसर्च’ सुरु गरेपछिका केही वर्षमा मात्र अमर लामाको ‘मृत्यु’ का ‘सूत्राधार’ सम्म पुगियो। नखोजेर हो, खोजेपछि त केही न केही भेटिन्छ भन्ने सोच आयो मनमा।

मैले सम्बन्धित विभिन्न प्रधानमन्त्रीसँग स्रोतव्यक्तिको रुपमा राखेर थप अनुसन्धान अगाडि बढाउन कुरा गरेँ। प्रधानमन्त्री कार्यलयमा निवेदनसम्म दिए तर केही भएन। त्यसपछि मेरो चासो रहदा पनि त्यो विषयप्रतिको कृयाशीलता घटाएर अर्को विषयमा ‘डकुमेन्ट्री फिल्म’ बनाउन लागे।

त्रिशुलीमा पानी धेरै बगिसक्यो। आकासको सूर्य पनि अनिगिन्ती पटक आउने र जाने पनि भैसक्यो। म पनि जिवनका फरक आयामहरुसँग भुल्दै गए। यो विषयप्रति मौनप्राय: रहे।

आज ‘सूर्य चिन्ह’ को लागि र मदन भण्डारीको ‘सैद्धान्तिक मत’ को आधिकारिकता पाउन, प्रचण्ड, माधव, र केपीजस्ता नेताहरुको हदैसम्मको लडाइँ देखेर पुन: मदन भण्डारीको ‘ओज’ र ‘क्रेज’ को याद आयो। जुन ‘ओज’ र ‘क्रेज’ हिजो पनि थियो, आज पनि रहेछ र भोलि पनि रहने छ।

‘बहुदलीय जनवाद’ र ‘एक्काइसौँ शताब्दीको जनवाद’, फ्युजन भएर, ‘जनताको जनवाद’ भनिए पनि मदन भण्डारीको ‘सैद्धान्तिक मत’ नै प्रकट भइरहने छ। पात्र भने फरक हुन सक्छन्। कहिले जनयुद्धबाट आएका प्रचण्ड होलान्, कहिले माधब वा केपी होलान्। राम्रो सिद्धन्त कसैको ‘पेउटे’ वा ‘ट्रेडमार्क’ पनि होइन नि ! यो सबैको हुन्छ।

प्रचण्डलाई, युद्धपछिको दिनमा यस्तै सिद्धान्त चाहिएको थियो। कतै मदन भण्डारीपछि उनको ‘सोच’मा उदाउने पात्र ‘प्रचण्ड’ त हैनन ? को हो ? केपी कि प्रचण्ड ? इतिहास ले बताउला। प्रतिक्षा गरौँ।

जीवनको धेरै समय मदन भण्डारीको ‘खोजी’मा लगाइयो। राम्रो गरिएछ। गर्व गर्न लायक काम गरिएछ। मन पुलोकित भयो आज।

गदगद हुँदै गर्दा फेरि झसङ्ग भएँ ! यसरी ‘सूर्य चिन्ह’ र मदन भण्डारीको आधिकारिकता पाउन लड्नेहरुले मदन–आश्रितको हत्यारा खोज्लान् ? यो गहन प्रश्न छोडेर बिदा भए। म फेरि आउनेछु, मन्थन गर्न। हजार तर्क र कुतर्कलाई एउटा तथ्यले काट्छ। फेरि आउँदा म त्यो तथ्यसहित आउनेछु।

प्रतिक्रिया दिनुहोस्