नेकपाका यी तिन नेताको राज समाप्त



प्रदीप नेपाल

अहिले नेपालमा साढे दुई वटा कम्युनिस्ट पार्टी रहेछन् । एउटा केपी ओलीको, अर्को पुष्पकमल दाहालको अनि आधाचाहिँ हामीजस्ताको । उहाँहरू दुवैको सिद्धान्त एउटै रहेछ – मलाई चाहियो पद र प्रतिष्ठा । अरूको कुरो अरूले नै बताउलान् । हामीजस्ता चाहिँ विगत सम्झिने पश्चगामीजस्ता रहेछौँ, पुराना राम्रा कुराहरू कहिल्यै बिर्सन नसक्ने रहेछौँ ।

मैले हामी भनेको पुराना माले (माक्र्सवादी लेनिनवादी) हरू । मैले मर्चवारमा सात रात बिताएको थिएँ डा. के.आई. सिंहका पुराना सैनिकहरूसँग । उनीहरूमा पछुतो थियो के.आई. सिह भागेर चीन गएकोमा । आपूm टुहुरा भएका थिए तिनीहरू । म भोजपुरको मान्छे । दिल्ली सम्झौताको विरोध गरेवापत भोजपुरका रामप्रसाद राईलाई कठोर दण्ड दिने गरी कारागारमा थुनिएको थियो । भोजपुर मुक्तिसेनाले आफ्ना नेतालाई जेलबाटै मुक्त गरायो तर नेपालमा बचाएर राख्न सकेन । उनी पनि के.आई. सिँहसँगै लागे । तर उनी चीन पुग्न पाएनन् । बीचैमा उनको जीवन लिला समाप्त भयो ।

आजको रसुवा अथवा नुवाकोटको जमिनमा उनको जीवन समाप्त भयो ! यसरी नै आफूले देखेको सपना आपूmसँगै लिएर गए हजारौँ योद्धा । यो त ००७ सालको कुरो भयो । ००७ साललाई सारै पुरानो कुरो भन्न पनि छुट छ तपार्इंलाई । तर पुष्पलालले त्यही ००७ सालको क्रान्तिलाई अपूर्ण क्रान्ति भन्नुभएको छ । हो, यही ‘अपूर्ण’ शब्दले जोड्छ सबै परिवर्तनहरूलाई । पछि संसद् पुनस्र्थापनाको आन्दोलन थियो । संसद् त पुनस्र्थापना भयो । तर गिरिजाप्रसाद कोइराला, रामशरण महत र महेश आचार्यको चक्रव्युहमा परेर त्यो पुनस्र्थापित संसद् त जनताको हित नगर्ने दिशातिर पो लाग्यो । अर्थात्, पुनस्र्थापित संसद्ले पनि पूर्णता पाउन सकेन । फेरि आन्दोलन भयो जनअधिकारको रक्षाको नाममा अनि आइपुग्यो लोकतान्त्रिक सङ्घीय गणतन्त्र । जनताका योग्यतम प्रतिनिधिले गणतान्त्रिक सङ्घीय लोकतन्त्रको संविधान जनतालाई दिए । यति ठूलो परिवर्तन भए पनि जनताले के पाए ? उही अपूर्ण समाजवाद ।

अहिले नेताहरूलाई स्वतन्त्रता पनि आएको छ । सत्ता पनि आएको छ । तल केही भएको छैन भन्ने पनि मेरो भनाइ होइन । भएको छ, धेरै भएको छ । तर जति हुनुपर्ने हो त्यति भएको छैन । मैले धेरैपटक भनेको केपी शर्मा ओलीले मनमोहन अधिकारी नेतृत्वको सरकारपछि धेरै काम गर्नुभएको छ र राम्रा काम पनि भएका छन् भनेको पनि छु । नेपाली जनताभित्र एउटा आत्मविश्वासको बीउ रोप्नुभएको छ, जो नेकपाका अघिल्ला प्रधानमन्त्रीहरूले गर्न सकेका थिएनन् ।

यति हुँदाहुँदै पनि उहाँले जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाउन सक्नुभएन । किनभने उहाँले पनि त्यो उमेर समूहका अरू नेताजस्तै माक्र्सवाद पढ्नुभएकै थिएन् । उहाँको दिमागबाट लेनिनवाद नै अन्तिम हो भन्ने अधिनायकवादी सोच मरेकै थिएन । समाजवाद सबै क्षेत्रमा पुँजीवादभन्दा उत्तम हुनुपर्छ भन्ने सोच उहाँको दिमागमा आउनै सकेन । पुँजीवादले पुँजीपति वर्गलाई मात्र स्वतन्त्रता दिन्छ । तर समाजवादले आफ्ना सबै नागरिकलाई स्वतन्त्रता दिनुपर्छ । ‘स्वतन्त्र नागरिकहरूको समाज नै समाजवाद हो ।’ त्यसैले आपूmलाई समाजवादी भन्नेहरू आरम्भदेखि लोकतान्त्रिक आचरण, सबैलाई आपूm समान मान्नुपर्छ । जतिसुकै कनिष्ठ भए पनि एउटा केन्द्रीय सदस्य आपूm बराबरको हो भन्ने भाव राख्नुपर्छ । नेपालमा यस्तो हुनु सम्भव छ ? छैन ।

‘राष्ट्रपति महोदय’ मैले बोलेका कारण नखानु घच्ची खाएकै छु । (राष्ट्रपतिबाट चाहिँ होइन है फेरि) । बाहिरका धेरैले केपी शर्मा ओलीको प्रशंसा गरेका छन्, हाम्रोचाहिँ किन गरिएन भनेर पूर्वप्रधानमन्त्रीहरूले चित्त दुखाउनु भएन । पुष्पकमल दाहाललाई थाहा थिएन रे लौ, तर माधव नेपाललाई त थाहा थियो नि केपी ओली साह्रै अप्ठ्यारा मान्छे हुनुहुन्छ र उहाँलाई गलाउन फलाम गलाउनुभन्दा गाह्रो काम हो भनेर । केपी ओलीका बारेमा राधाकृष्ण मैनालीका टिप्पणीहरू वास्तविक र सटिक हुन्छन् भनेर । उसैमाथि जितेर आएका अध्यक्ष । यसो भनेर मैले केपी ओलीको पक्षपोषण गरेको होइन ।

म जति पीडित त को भयो होला र पार्टीमा । आफैँले मन्त्री बनाउँछु भन्नुभएको थियो, त्यो पनि जलस्रोत मन्त्री । तर अन्त्यमा जलस्रोत मन्त्री म त भइनँ । तीन वर्ष म मरेको छु कि जिउँदै छु, पार्टी अध्यक्ष भएर हिसाब नराख्ने मान्छेको नाउँ केपी ओली नै हो । तर व्यक्तिगत कुरामा रिसाएर के पाइन्छ ? हामी कसैलाई राजदूत, संवैधानिक नियुक्ति दिलाउन नेता भएका होइनौँ । हामी त समाज फेर्न पो हिँडेका हौँ ।

समाज फेर्न सबैभन्दा पहिले आफैँलाई फेर्न पर्छ । जनताको बहुदलीय जनवाद कुनै त्यस्तो बुटी होइन जसलाई घाँटीमा बाँध्ने बित्तिकै सबै पाप पखालियून्, नेपाली काँग्रेसका नेताहरूले ‘जननायक बीपी कोइराला’ भनेर पाप पखालेजस्तै । नेकपाका पूर्वप्रधानमन्त्रीहरूको राज सकियो भन्दा हुन्छ अब । केपीलाई त्यसैमा समेट्दा पनि हुन्छ । ‘अबको महाधिवेशनमा म अध्यक्ष हुन्न’ उहाँले भन्नुभएकै छ । त्यसैले अब माधव नेपाल, झलनाथ खनाल (सर्प नपाल्ने सर्तमा) पुष्पकमल दाहालले पनि अब धेरै भयो भन्नुभयो भने नेपाल ‘सुखी र समृद्ध’ हुने बाटातिर लाग्ला । नत्र कवि शिरोमणि लेखनाथ पौडेलले ‘म खाउँ मै लाउँ सुखसयल वा मोज मगरुँ …चिता खित्का छोडी अभयसित हाँस्यो मरी मरी’ भनेर लेखिदिनु भएकै छ नि । तर चितामा चेतना हुँदैन होला ।

अहिले गाला बजाएर भाषण गर्ने पूर्वप्रधानमन्त्रीलाई हाम्रै अनुसन्धान आयोगले डामेको होइन र ? त्यतिबेला मैले लेखेको थिएँ–अध्यक्ष एमालेको, प्रधानमन्त्री माओवादीको भनेर । अनि उहाँले नै सागर पार गराइदिनु हुन्छ भनेर तपाईंलाई कुन पण्डितले भन्यो ? यो प्रश्न मैले मेरा नेता माधव नेपालसँग गरेको हुँ ।

सबैलाई सार्वजनिक गराइदिउँ–म माधव नेपालको नेपाल कम्युनिस्ट पार्टीमा छु ससर्त । त्यो सर्त हो – माधव नेपाल भएको पार्टीले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्नै पर्छ । हुँदैन भने त्यो पार्टीलाई अस्वीकार गरेर हिँड्ने मैले आफ्नो स्वतन्त्रता सुरक्षित राखेको छु ।

प्रचण्डलाई पनि मैले बेलैमा सम्झाउनुपर्छ–म कसैलाई धोका दिन्न र तपाईंलाई पनि दिन्न । मैले तपार्इंसँग एकताको कुरा गरिरहँदा भनेको थिएँ–मोहन वैद्यले छोड्नुभयो, बाबुरामले पनि छोड्नुभयो, एक्लै किन बस्नुहुन्छ ? आखिर हामी सबैको ‘प्राक्टिस’ जनताको बहुदलीय जनवाद नै हो । आउनुस्, सँगै हिँडौँ । तपाईंलाई वरिष्ठ नेता बनाउन म लागिपर्नेछु र यसमा म सफल पनि हुनेछु ।’ तपाईं आउनु त भयो । तर राम्ररी चलेको पार्टीमा भुँवरी चलाउनुभयो । यो त अलिक राम्रो भएन नि कमरेड !

(लेखक नेकपाका नेता हुनुहुन्छ । यो लेख सम्पादकको अनुमतिले गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्