राप्रपाले पुस १७ गते काठमाडौंमा सरकारलाई शक्ति देखाउने



काठमाडौं, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशमा बढ्दै गएको अनियमितता, अराजकता, भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको विकल्प नभएको ठहर गरेको छ ।

सरकारविरुद्ध राप्रपाले पुस १७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।

परिवर्तनको मार्गचित्र नै गलत भएकाले त्यसलाई सच्याएर हिन्दूराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र र संघीयताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको स्थापना गर्न आन्दोलन अपरिहार्य रहेको राप्रपाले निष्कर्ष निकालेको छ ।

काठमाडौंमा सम्पन्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले लिएका एजेण्डा हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र पुनःस्थापना गर्न र सहज रुपमा सबै अटाउने नेपालको निर्माण गर्न आन्दोलनको विकल्प नरहेको निर्णय गरेको थियो ।

भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या समाधान, नियमित रुपमा बढ्दै गएको धर्म परिवर्तनको विरोध तथा सनातन हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र पुनःस्थापनाको माग राखी आन्दोलनको तयारी गरेको राप्रपाले यही पुस १७ गते काठमाडौंमा वृहद् जनप्रदर्शनको तयारी गरिरहेको छ ।

आन्दोलन परिचालनका लागि पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन जनपरिचालन समितिसमेत गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्