जसका लागि गोठ बन्यो उसकै पुच्छर बाहिर !



अनिलभक्त खरेल
नेपालबाट विधिवत रूपमा राजा र हिन्दुधर्म फालिएको पनि १२ वर्ष पूरा भैसकेको छ । ‘राजसंस्था’ र ‘हिन्दुराष्ट्र’ फाल्दा चुपचाप बसेकाहरू पछिल्लो समयमा अहिले ‘राजा आउ देश बचाउ’ भनेर जताततै आवाज बुलन्द गरिरहेका छन् । अहिले राष्ट्रिय झण्डासहित सकडमा देखिएका मोटरसाइकल ऱ्याली र जनताको ताँतीले सत्ताधारीहरूको मुटुमा ढ्याङ्ग्रो बजिरहेको छ, त्यसैले उनीहरू यस स्वस्फुर्त जनलहरलाई ‘भुतप्रेत सल्बलाएको’ विशेषण दिँदैछन् ।

घरमा चोखो-मीठो पाक्यो भने सबैभन्दा पहिला पितृ, देव र भुतपिसाचहरूलाई छुट्याउने हाम्रो परम्परा छ । भुतप्रेतको चित्त राम्ररी बुझाइएन भने तिनले कुनै कार्य पनि सफल हुन दिँदैनन्, दुःख दिइरहन्छन् भन्ने मान्यता पुर्खाहरूको रहँदै आएको हो ।

अहिले कथित ‘जनयुद्धकाल’मा मारिएका १७ हजार नागरिकका दुःखी आत्माहरू भुतप्रेत भएर आएका हुन सक्छन् । भुतप्रेतहरूले दुःख दिएपछि कतिपयको घरबार उठिबास भएका हामीले सुन्दै आएका छौँ । भुतप्रेतले तर्साउने ठाउँमा कोही नबस्ने हुँदा कतै अहिलेको व्यवस्था र सरकार भुतप्रेतबाट डराएर भाग्दै त छैन ?

पङ्क्तिकारले बाल्यकालमा भुतप्रेतका अनेक सुनेको थियो । त्यही भएर एक्लै कोठामा सुत्न जान पनि डर लाग्थ्यो । सिरक उल्टो ओढ्दा समेत सिरकले खान्छ भनेर सिरक ओढ्न डराइन्थ्यो । भुतको छाया पऱ्यो भने पनि त्यो मानिस तीन दिनमा रगत छादेर मर्छ भन्ने पनि बुढापाकाबाट सुनिन्थ्यो । त्यसैले सानोमा जुनेली रातमा होस् कि अपरान्हमा, आफ्नो छायासँग आफै डराइन्थ्यो । आफू हिँडे हिँड्ने, आफु रोकिए रोकिने, आफू दौडिए दौडिने त्यो छाया भुत नै हो कि भनेर तर्संदै सुनसान बाटोमा बेतोडले भागिन्थ्यो । अहिले सत्तापक्षका कतिपय व्यक्ति ‘भुतप्रेतहरूसँग लड्ने’ भन्दैछन् । त्यसैले पङ्क्तिकारलाई आफ्नो बालमस्तिष्कको सम्झना आयो ।

यतिबेला सरकार आफ्नो छायासँग आफै तर्सिरहेको छ । हुन त कतिपय धामीझाँक्रीहरू भुतपिसाच मात्र नभइ वीर र छौँडा नचाएर बस्छन्, पिसाचहरूले मागेको कुरा तिनले दिइरहन्छन् । यदि त्यो दिन छोडेको खण्डमा भुतप्रेतहरूले त्यही धामीलाई सिध्याइदिन्छ भनिन्छ । जान्ने धामीले सबै भुतपृ्रत चिनेको हुन्छ र उनीहरूलाई त्यहीअनुसारको थान्को लगाएर राखेको हुन्छ । आ-आफ्नो थान्को-मान्को लगाइएन भने भुतप्रेतहरू सल्बलाउँछन् । कतै अहिलेको व्यवस्था र सरकारले भुतपे्रतहरूको थान्को-मान्को नलगाएको भएर नै सल्बलाएका त हैनन् ? यी सल्बलाएका भुतप्रेतहरूको थान्कोमान्को नलगाउने हो भने प्रेतात्माहरूले क-कसलाई लैजाने हो- समयले बताउला ।

केपी ओलीले हिम्मत गर्ने हो भने उनको नाम नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिने छ । पुष्पकमल दाहालमाथि अहिले ओलीले जे-जस्ता आरोप लगाएका छन् ती आरोप सम्बन्धित निकायबाट पुष्टि गरेर उनीमाथि कार्वाही गरेमा सबै नेपालीले जय-जयकार गर्नेछन् ।

विश्वलाई अहिले कोरोनाले आक्रान्त पारिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो छैन । महामारीको सवालमा नेपाल सुरुवातीको अमेरिकाको स्थितिमा पुगिसकेको छ । तर नेपालका सत्ताधारीहरूलाई चाहे भुकम्प आओस् चाहे कोरोनारूपी महामारी आओस् दुवै महादशैँ भइरहेको छ । भ्रष्टाचार अब हजार, लाख र करोडमा हैन कि अर्बौंमा हुँदैछ । यस्तो महामारीको बेलामा दुई तिहाई सरकार पदको भागबण्डाको लागि गाँड कोराकोर गरेर बसिरहेका छन् । उनीहरूको कुनै पनि बैठकमा कोराना महामारी नियन्त्रणको विषयबारे छलफलसमेत भएका छैनन्, जुन खेदजनक छ ।

केवल पदको बाँडफाँडका विषयलाई लिएर महिनौँदेखि गाँड कोराकोर भैरहेको छ । कहाँबाट कमिसन आउँछ त्यसमा नै उनीहरूको ध्यान केन्द्रित भैरहेको देखिन्छ । यही कमाउधन्दाको कारण दुई तिहाई सरकारको पार्टीभित्रको लडाइँ कसले बढि भ्रष्टाचार गऱ्यो भनेर आरोप-प्रत्यारोपमा पुगिसकेको छ । पुष्पकमलको १९ पेजको आरोप केपी ओलीले ३८ पेजमा दिएपछि सर्वत्र खैलाबैला भएको छ,

जसका कारण नेपाली राजनीतिमा शक्ति-राष्ट्रहरूको चलखेल हाबी हुँदै गइरहेको छ । चिनियाँ र भारतीय प्रतिनिधिहरूको दौडधुप बाक्लिँदै गइरहेको छ । उनीहरूकै निर्देशनमा खिचडी पकाउन समयावधि पनि थपिँदै छ जुन देश र जनतमाथिको धोका तथा गद्दारी हो ।

केपी ओली र पुष्पकमल दाहालउर्फ प्रचण्डले एक-अर्काप्रति पार्टीको सचिवालय बैठकमा लगाइएका आरोप-प्रत्यारोपले दुवै पक्षले आफ्नालाई देव र अर्कोलाई राक्षसीको संज्ञा दिइरहेका छन् । अब यहाँ एकले अर्कोलाई सिद्ध्याएर अगाडि बढ्नुको विकल्प छैन । दुवै नराम्रामध्ये कुन नराम्रोलाई पहिला सिद्ध्याउने भन्ने कुराले बढी महत्व राख्छ । अब पनि चर्केको काँचको गिलासलाई सुपरग्लु लगाइ जोडजाड गरेर चलाउनुको सट्टा त्यसलाई ढुङ्गामा बजारी चकनाचुर पारी पार्टी र देशलाई नेकपाको बन्धनबाट मुक्ति दिलाउनु नै सबैभन्दा उपयुक्त हुनेछ ।

यी दुवैले लगाएका आरोपहरू रिसको आवेगमा बोलिएको मात्रै हुन सक्दैन । ‘सर्पको खुट्टा सर्पले मात्र देख्छ’ भनेझैँ एक भ्रष्टको कर्तुत अर्को भ्रष्टले नदेख्ने भन्ने हुन सक्दैन । यो आरोप जनयुद्धकालमा लगाइने लाल गद्दार मात्र हुन सक्दैन । एमाले फुटाउँदा मालेका बामदेव-योगेशहरूले एमालेमाथि लगाएको २६ राष्ट्रघातमा मात्र सीमित छैनन् । यसमा आमजनताका आवाजहरू प्रतिबिम्ब छन् ।

पार्टीको सचिवालय बैठकले दुवैमाथि कार्वाहीको आँट गर्न सक्छ कि सक्दैन समयले बताउँछ । हुन त ‘जता मल्कु उतै ढल्कु’ किसिमका सचिवालय सदस्य हुँदासम्म नेकपाले त्यस्तो कुनै न्यायिक निसाफ गर्न सक्दैन । एकताका माधवकुमार नेपाल पार्टी महासचिव हुँदा ‘नेकपा एमाले, न पोथी न भाले’ भन्ने आरोप लगाइएको कुरा कसैले नभुलुन् ।

वास्तवमा केपी शर्मा ओलीलाई नाकाबन्दीपछि अहिले फेरि एक पटक महान् हुने अवसर आएको छ । केपी ओलीकै कारण जनताले नेकपालाई स्पष्ट बहुमत दिएका हुन् । ‘जसको लागि गोठ बनायो त्यसको पुच्छर बाहिर’ भनेजस्तै जसको कारण जनताले सरकार बनाउन दिए उसैलाई फाल्नको लागि मात्र गरिएको प्रपञ्चलाई पर्दाफास नगर्ने हो भने दुई तिहाईको सरकार र अल्पमतको सरकारमा के फरक रह्यो र ?

केपी ओलीले हिम्मत गर्ने हो भने उनको नाम नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिने छ । पुष्पकमल दाहालमाथि अहिले ओलीले जे-जस्ता आरोप लगाएका छन् ती आरोप सम्बन्धित निकायबाट पुष्टि गरेर उनीमाथि कार्वाही गरेमा अपवादबाहेक सबै नेपालीले जय-जयकार गर्नेछन् । १७ हजारका प्रेतात्माले पनि शान्ति पाउने छ ।

केपीले यस्तो गर्न लागेको चाल पाएर नै काङ्ग्रेसलाई बिच्क्याउन रामचन्द्र पौडेललाई तनहुँमा राज्यसत्ताले अभद्र व्यवहार गरेको हुनुपर्छ । सबैसँग एकैपटक आक्रमण गर्नु ओलीको लागि खतरा छ, बेलैमा चेत खुलोस् । अस्तु ।
भर्जिनिया (अमेरिका)

प्रतिक्रिया दिनुहोस्