आजको सचिवालय बैठकले अप्ठेराेमा पर्‍याे प्रचण्ड समूह



काठमाडौं । नेकपाको सचिवालय बैठक रोक्न या राख्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुनै प्रयास नगर्नुहुने भएको छ । नेकपा सचिवालय बैठक आज अपरान्ह डाकिएको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षले प्रधानमन्त्री ओली विरुद्ध विभिन्न आरोप लगाउँदै सचिवालयमा प्रस्ताव प्रस्तुत गरेको छ । सो प्रस्तावका कारण प्रचण्ड पक्ष अप्ठेरोमा परेको हो । प्रचण्डको पक्षले आजको बैठकमा सो प्रस्ताव अगाडि बढाउने हो भने प्रधानमन्त्री ओलीले प्रतिक्रियात्मक कदम चाल्नुपर्ने हुन्छ । त्यस्तो कदमको सामना गर्न प्रचण्ड पक्ष तयार छैन । त्यसैले प्रचण्ड पक्ष सो प्रस्ताव सुरक्षित अवतरण गराउने उपाय खोजिरहेको बुझिन्छ ।

उच्च राजनीतिक स्रोतका अनुसार आज बैठक स्थगित गरेर आपसी छलफलबाट समाधान खोज्ने पक्षमा प्रचण्ड पक्ष पुगेको छ । तर, प्रचण्ड पक्षले भित्र एउटा रणनीति अपनाउने र बाहिर अर्काे ढंगले प्रचार गर्ने काम गरिरहेको छ ।

‘प्रधानमन्त्री ओली बैठक रोक्ने पक्षमा हुनुहुन्छ भनेर प्रचण्डजीहरुले प्रचार अभियान चलाइरहनुभएको छ । तर, वास्तविकता उल्टो छ‘– प्रधानमन्त्री ओली निकट एक नेताले सनराइज खबरलाई बताए । उनका अनुसार प्रचण्ड पक्षले खासखास मिडियालाई एकीकृत रुपमा परिचालन गरेर भ्रम फैलाउने र त्यही भ्रमको आडमा आफ्नो स्वार्थ लाद्ने प्रयास गरिरहेको छ ।

ती नेताका अनुसार सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई लगाइएको आरोप प्रमाणित गर्न या फिर्ता लिन दुई विकल्प दिनुहुनेछ । प्रचण्ड पक्षले कुन विकल्प रोज्छ त्यसपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया आउने छ । आरोप पत्रलाई अब कसरी अगाडि बढाउने, त्यसलाई के गर्ने भनेर प्रचण्ड पक्षले आजको बैठकमा ठोस जवाफ दिनुपर्नेछ । यो सजिलो काम छैन । आरोप पत्र सार्वजनिक गरिएको एक साताभित्र प्रचण्ड पक्ष निकै अप्ठेरोमा फसिसकेको छ । त्यसैले आजको बैठक स्थगित गर्ने पक्षमा प्रचण्ड पक्ष लागेको बुझिन्छ ।

स्रोत अनुसार आरोप पत्रलाई लिएर प्रचण्ड पक्षभित्रै मतभेद चुलिएको छ । सो आरोपपत्रका कैयन बुँदाहरुमा आफ्नो सहमति नभएको बामदेव गौतम र झलनाथ खनालले बताउनुभएको छ । आरोपपत्रलाई सम्पूर्ण रुपमा बोकेर हिँड्न सकिँदैन भनेर माधवकुमार नेपाल निकट नेताहरुले पनि भन्न थालेका छन् ।

यो अवस्थामा आज सचिवालय बैठक बस्यो भने पनि केही बेरका लागि मात्र हुनेछ । प्रचण्ड पक्षले बाहिरबाहिर ‘वार कि पार’ भनेर हल्ला चलाए पनि सचिवालयको बैठकमा सुरक्षित अवतरणकै बाटो खोज्न प्रयास गर्ने बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्