प्रचण्ड समुहले सत्ता ढाल्न खोजे ओलीले कठोर कदम चाल्ने , नेकपा दुर्घटना नजिक



काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीभित्रको अहिलेको विवादको केन्द्र कुनै खास एजेन्डाभन्दा पनि सत्ता नै देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायत पाँचजना सचिवालय सदस्यहरु कुनै हालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न खोजिरहेका छन् । यसका लागि उनीहरुले योजनाबद्ध तरिकाले मोर्चाबन्दी गरी सक्रियता बढाउँदै लगेका छन् ।

प्रधानमन्त्री ओली कुनै हालतमा पदबाट राजीनामा दिने पक्षमा छैनन् । बरु उनी कठोर कदम चालेर अगाडि बढ्ने तयारीमा छन् । ओली निकट नेताहरुले पछिल्लो पटक सार्वजनिक गरेको विषयबाट यही संकेत मिल्छ ।

आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेकपा एकता अप्ठ्यारोमा परेको सामाजिक सञ्जालमा लेखे । यसअघि उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेलका अलावा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि पार्टी विभाजनको खतरामा रहेको देखि दुर्घटनाको खतरा समेत औल्याएर सामाजिक सञ्जालमा लेखिसकेका छन् ।

नेकपाभित्र अहिले चलेको शक्तिसंघर्षमा सत्ता केन्द्रबिन्दुमा रहेपछि ओली, प्रचण्ड र माधव नेपाल निकट नेताहरुले सामाजिक सञ्जालमा शब्दको युद्ध गरिरहेका छन् । यसबाट पनि नेकपा दुर्घटनाको नजिक रहेको देखिदैछ । ओली सत्ता छाड्नुपरे कडा कदम चाल्ने सम्मको तयारीमा रहेको पछिल्ला धारणाबाट बुझ्न सकिन्छ ।

नेकपाभित्र विकसित घटनाक्रमले प्रधानमन्त्री केपी शर्मा ओली सामु पदबाट राजीनामा दिने या पार्टी फुटाउनेबाहेक तेस्रो विकल्प कमजोर बनेको छ । उनले आफ्ना विरोधीलाई फुटाउने, थकाउने, कमजोर बनाउने देखि सबै रणनीतिक प्रयास गरेपनि सफल भइरहेको छैन । ओलीविरुद्ध प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसहितका बहुमत सचिवालय सदस्य एकमत भएका छन् । उनीहरु कुनै हालतमा ओलीलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउने तर्फ बढेका छन् ।

पार्टी बैठक डाकेर ओलीविरुद्ध कडा निर्णय लिने तयारी प्रचण्ड र माधव नेपाल समूहको छ । यो बुझेर ओलीले कहिले प्रचण्ड त कहिले माधव नेपाल त कहिले वामदेव गौतमसँग भेटेर वा विश्वासपात्र खटाएर राजनीतिक लेनदेनको प्रस्ताव पठाए । तर, यसपटक प्रचण्ड र नेपाल टसमस भएनन् । बरु ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको कदम चाल्ने तयारीमा लागे ।

अब ओलीलाई कारबाही गर्ने या राजीनामा गर्न वाध्य पार्ने प्रचण्डसहितको नेताहरुको तयारी छ । तर, ओलीले जुनसुकै परिस्थितिको सामना गरेर भएपनि राजीनामा नदिने अडान राखेका छन् ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा ओली र प्रचण्ड दुवै नेता एक अर्कालाई कारबाहीसम्म गर्ने तयारीमा छन् । सकेसम्म सहमतिको बिन्दु खोज्ने नभए कारबाहीको निर्णय गर्ने प्रचण्डको तयारी छ । ओली पनि प्रचण्डलगातका नेतालाई कारबाही सम्म गर्न तयारीमा जुटेका छन् । दुवैले कानुनविद्हरुसँग परामर्श गरिसकेका छन् । यो भविष्यमा पार्टी फुट्ने परिस्थिति समेतको आँकलन गरी गरिएको परामर्शका रुपमा बुझिएको छ ।

यता प्रचण्ड र माधव नेपालसहितका बहुमत सचिवालय सदस्यले ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी गरेको जानकारी पाएपछि ओलीले निकटस्थलाई चुनौतीको सामना गर्न तयार हुन भनेका छन् । उनले बालुवाटारमा विश्वासपात्रहरुलाई डाकेर त्यस्तो निर्देशन दिएका हुन् । कुनैपनि बेला कठोर निर्णय गर्नुपर्ने हुनसक्ने भन्दै प्रचण्डले पनि निकटस्थलाई तयार रहन भनेका छन् । प्रचण्डले पनि निकटस्थलाई त्यस्तै सकेत गरेका छन् । यसले नेकपाभित्र गम्भीर दुर्घटनाको अवस्था बनेको छ ।

ओलीको यी अस्त्र
सत्ताबाट दुईपटक हटाउने विरोधीको प्रयासलाई प्रधानमन्त्री केपी ओलीले विफल पारिसकेका छन् । यसमा उनको राजनीतिक अस्त्र फाल्न माहिर शैली पनि कारण हो ।

नेकपा एमालेको राजनीतिबाट आफूलाई चतुर नेताको रुपमा उभ्याएका छन् । त्यो शैली अहिले झन् बढी देखिएको छ । नेकपा विभाजन हुँदा उनले वामदेव गौतमलाई पेलेरै जाने रणनीति बनाएका थिए । त्यसमा उनी सफल भएनन् मात्र पार्टीभित्र दोस्रो शक्तिशाली नेताका रुपमा देखिए । पछि ओलीले उनै वामदेवको साथ लिएर नेकपा एमालेको अध्यक्ष बन्ने सफलता हासिल गरे । तर, वामदेव ओली निकटस्थहरुको अन्र्तघातको शिकार भएर बर्दियाबाट चुनाव हारे । जसले उनको प्रधानमन्त्री बन्ने या सरकारमा मन्त्री बन्ने सपना चकनाचुर पारिदियो ।

वामदेवलाई ओलीले विभिन्न आश्वासन दिएर टाढा हुन दिएनन् । नेकपाभित्र ओलीविरुद्ध सत्ता संकट आउँदा वामदेवलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव सारे । उनलाई उपप्रधानमन्त्री बनाउने आश्वासन दिए ।

यसरी वामदेवका कारण ओलीविरुद्धको दुईपटकको सत्ता संकट टरेको थियो । ओलीले सचिवालयको बहुमत सदस्यबाट भएको घेराबन्दीलाई दुवैपटक तोडिदिए । पहिलोपटक उनले पार्टी विभाजनसम्मको धम्की दिए । त्यसका लागि संसदको अधिवेशन अन्त गर्न लगाएर राजनीतिक दलसम्बन्धी अध्यादेश समेत ल्याए । यसले नेकपाभित्र उनका विरोधीलाई पार्टी विभाजनको खतरा टार्न पछि हट्न वाध्य पारेको थियो ।

ओलीले अर्कोपटक वामदेवमार्फत् सहमतिको छ बुँदे प्रस्ताव ल्याउन लगाएर सत्ता संकट टारे । यो घटनाले उनीविरुद्धको घेराबन्दी तोडिएको थियो । उनले फालेको राजनीतिक अस्त्रले पार्टीभित्र र बाहिरका विरोधीहरु पटक पटक विफल हुनेगरेका छन् ।

ओलीले दोस्रोपटकको सत्ता संकट टार्न सहमतिमा सरकार र पार्टी संचालन गर्ने भनी निर्णय समेत गराए । तर, मन्त्रिमण्डल पुर्नगठन र राजदूत नियुक्तिमा एकल निर्णय गरे । उनीविरुद्ध पार्टीभित्र घेराबन्दी भयो ।

ओलीले यतिबेला फेरि एकपछि अर्को राजनीतिक अस्त्र फालेका छन् । उनले कुनै हालतमा राजीनामा नदिने बरु अविश्वासको प्रस्ताव सामना गर्ने बताएका छन् ।

पछिल्लो पटक ओली निकटस्थबाट दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणको प्रस्ताव समेत आएको छ । कतिपयले सचिवालय पुर्नगठनको विषय राखेका छन् । वामदेवलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिने प्रस्ताव गरे ।

माधव नेपाललाई भावी अध्यक्ष र प्रधानमन्त्री बनाउन सहयोग गर्ने प्रस्ताव राखे । तर, सबै प्रस्तावहरुका बाबजुद यसपटक नेपाल र गौतम टसमस भएनन् ।

प्रतिक्रिया दिनुहोस्