ईश्वर पोखरेल अब झन् शक्तिशाली, पाए ४८ विभागको जिम्मा



काठमाडौं । बुधबारसम्म ईश्वर पोखरेलले रक्षा मन्त्रालय, सेना र कोभिड–१९ सम्बन्धी काम मात्रै हेर्दै आएका थिए । तर, अब उनको जिम्मेवारी फेरिएको छ । यसअघि प्रधानमन्त्री केपी ओलीले सम्हाल्दै आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतका ४८ विभाग तथा निकायको हेर्ने काम पोखरेलले पाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत शक्तिशाली मानिएका विभागहरु रहेका छन् । प्रधानमन्त्री ओलीले अर्थ, गृह, रक्षा मन्त्रालयअन्तर्गत रहेका केही शक्तिशाली विभागहरु आफ्नो कार्यालय मातहत ल्याएका छन् । आफू शक्तिशाली बन्न ओलीले ती निकाय आफैंले हेर्दै आएका छन् ।

नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७४ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ४८ वटा कामका क्षेत्र निर्दिष्ट गरेको छ । प्रदेशको समन्वय, मन्त्रालयको समन्वय, राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय गौरवका आयोजना, राजश्व विभाग प्रधानमन्त्री कार्यालयमै छन् ।

यस्तै, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड, नेपालको ट्रस्टको कार्यालय, गरिबी निवारण कोष, सार्वजनिक खरिद अनुगमन कार्यालयलगायत शक्तिशाली निकाय उनले नै हेर्न पाउने छन् ।

अब यी सबै निकाय हेर्ने जिम्मेवारी पोखरेलको काँधमा आएको छ । हिजोसम्म रक्षा मन्त्रालय मात्रै हेर्दै आएका पोखरेलले यस्ता निकाय हेर्ने जिम्मेवारी पाएपछि झन् शक्तिशाली बनेको नेकपा नेताहरुले नै बताउन थालेका छन् । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले समेत बिहीबार सामाजिक सञ्जालमा यही आशयको स्टाटस लेखेका छन् ।

प्रधानमन्त्री ओली सिंहदरबार कार्यालय नगएको सात महिना बितिसकेको छ । अब प्रधानमन्त्री कार्यालयमा बसेर उपप्रधानमन्त्री पोखरेलले शासन चलाउने छन् भने त्यसको मनिटरिङ गर्ने काम प्रधानमन्त्री ओलीले गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्