वडामा अहिलेसम्म कुनै असजिलो महशुस भएको छैन : निरोज तिम्सिना



उच्च शिक्षा आर्जन तथा जीवन निर्वाहका लागि बाल्यकालदेखि नै देश–परदेशको चौतर्फी भूगोलबाट ज्ञान हासिल गरेर खारिनुभएका कहलिँदा युवाउद्यमी एवम् सामाजिक रूपमा स्थापित अग्रणी व्यक्तित्व निरोज तिम्सिना परिचयका लागि कुनै नयाँ नाम होइन । जनवादी सांस्कृतिककर्मीको रूपमा नाम कमाउनुभएका उहाँले उच्च शिक्षा आर्जनका लागि भारतमा बसोबास गरेदेखि नै बामपन्थी आन्दोलनको मोर्चामा उभिनेक्रममा तत्कालीन नेकपा (एमाले) सम्बद्ध जनवर्गीय संगठन– अनेस्ववियुको विभिन्न जिम्मेवारी सम्पादन गर्नुभएको छ ।

आमा जानुकादेवी र बुबा बृहस्पति तिम्सिनाको कोखबाट जायजन्म भएका एकदर्जन सन्तानमध्ये जन्तरे छोराका रूपमा जन्मनुभएका तिम्सिनाले श्रीमती पुष्पादेवी भट्टराई तिम्सिनाको भरथेग लिएर व्यापार–व्यवसायका रूपमा सुनचाँदी धातुजन्य व्यवसाय र स्टिल उद्योग चलाउनुभएको छ भने हुर्कदा छोराहरू समेत सिंगो परिवारलाई यहिँ उद्योगसँग जोडेर आफू भने यतिबेला पूर्णतः सामाजिक काममा होमिनुभएको छ ।

आफ्नो दैनिकीमा व्यवसाय र समाजसेवामा समेत समय दिन सक्ने उहाँ फरक मतवाला पार्टीका उम्मेदवारलाई पछारेर गत स्थानीय निर्वाचनमा अग्रणी देखिनुभयो । नेकपा, उर्लाबारी नगरको प्रचार विभाग प्रमुखको जिम्मेवारीमा रहनुभएका उहाँ, जनप्रतिनिधिले निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा पनि उत्तिकै चर्चा कमाउनुभएका तिम्सिना न्यायिक समिति सदस्यको रूपमा सधैँभरि क्रियाशील भएको पाइन्छ ।

मोरङको पूर्वोत्तर क्षेत्रमा रहेको उर्लाबारी नगरपालिकाका लागि गठित न्यायिक समिति सदस्य भएयता उहाँको बढ्दो लोकप्रियताले कोरोनाको कहरलाई पनि उछिनेर समाज सेवामा तल्लीन बनाएको छ । शहरबजारका दर्जनौं सामाजिक संघसंस्थामा पनि उत्तिकै महत्वका साथ समय दिइरहनुभएका वडा नं. ७ का जनप्रतिनिधि तिम्सिनासँग गरिएको संवादको विषयगत सारसंक्षेप :–

आराम हुनुहुन्छ ?
ठीक छ । राम्रो छ ।

हिजोआज के गर्दै हुनुहुन्छ ?
कोरोनाको सन्त्रासले तपाईं हामी सबैलाई छपक्कै छोपेको छ । तथापि, भोक व्यवस्थापन अनिवार्य हुँदो रहेछ । स्थानीय सरकारले बनाएको कार्यतालिकाले निर्देश गरेअनुरूप आफ्नो व्यवसायको क्षेत्रमा समय दिइरहेको छु । यसका अतिरिक्त म यसक्षेत्रको जनप्रतिनिधि पनि हो । यस हिसावले स्वभाविक रूपमा मेरा कामकाज र जिम्मेवारीका क्षेत्रहरू अलिक फरक छन् । ती कार्य सम्पादनका लागि नगरपालिकासँग जोडिएका काम, सामाजिक सेवाक्षेत्रका काम, न्याय सम्पादनसँग जोडिएका कामहरूमा आवश्यकताअनुसार आफूलाई भरसक उभ्याउने कोशिस गर्दै आएको छु ।

तपाईं यस क्षेत्रको जनप्रतिनिधि हुनुहुन्छ । चुनावताका एउटा उम्मेदवारको रूपमा उभिएर जनतासामु तपाईंले गर्नुभएका कबुलहरू के–कति कार्यान्वयन गर्नुभएको छ ?
ठीकै जिज्ञासा राख्नुभयो । म हिजो एउटा राजनीतिक दलको प्रतिनिधिको रूपमा उभिएको थिएँ । मलाई निर्देश गर्ने मेरो पार्टीको आफ्नो घोषणापत्र थियो । हामी जनप्रतिनिधिले बोल्ने र जनमत पाएपछि गर्ने भनेको पार्टीको सो घोषणापत्रअनुसार नै हो । सम्पन्न निर्वाचनको परिणामले हाम्रो दलगत उपस्थितिलाई प्रतिकूल बनायो । बहुमत सदस्यहरू फरक राजनीतिक पार्टीसम्बद्ध हुनुहुन्छ । म अल्पमतको प्रतिनिधित्व सहित नगरपालिकामा उपस्थित छु । यसर्थ, धेरै कामहरू चाहेर पनि गर्न सकिँदैन । तथापि, तपाईंले भन्नुभएझैँ चुनावताका गरिएका कबुलहरूमध्ये म दावाका साथ भन्छु– ६० प्रतिशतभन्दा बढी काम भएको छ ।

तपाईं न्यायिक समिति सदस्य, न्याय सम्पादनका लागि अघि सारिने आधारहरू के के हुन् ? तपाईंको इजलासमा सामेल सेवाग्राहीले कस्तो महशुस गरेको पाउनुभएको छ ?

राम्रो प्रश्न उठाउनुभयो । सैद्धान्तिक हिसावले भन्नुपर्दा– हामीले न्याय सम्पादन गर्ने भनेको अड्डा, अदालत, थानाचौकी, प्रशासनिक कार्यालय आदि स्थलहरूमा विभिन्न कारणले जान नसक्ने एक ढंगले समाजको पिछडिएको वर्ग र तहतप्काको मानिसको सन्दर्भमा उसको पहुँच विकास गर्ने हो । व्यवहारिक हिसावले भन्नुपर्दा– हामीले हाम्रो इजलासमा मूलतः मेलमिलाप गर्ने हो, गराउने हो । हाम्रोमा पक्ष वा विपक्ष, वादी वा प्रतिवादी भन्ने हुँदैन । मेलमिलापको भावनालाई व्यवहारमा अनुवाद गर्ने हो । तपाईंले भन्नुभएझैँ सेवाग्राहीले कसरी लिन्छन् ! यो त सेवाग्राहीले भन्ने कुरा हो । म जान्दिनँ । अनुमान लगाउने कुरा हो । तथापि, के चाहिँ हो भने जब उहाँहरू दुःख, पीडा, आक्रोश, औडाहा, छट्पटीहरू लिएर आउनुहुन्छ, र न्यायिक समितिको कारबाहीपछि उज्ज्यालो अनुहारमा राजीखुशी र हाँसीखुशी फर्कनुहुन्छ । दुबै पक्ष एकापसमा अंकमाल गरेर जान्छन् । हामीलाई खुशी लाग्छ । यसको अर्थ दुबै पक्षबीच बराबर न्याय सम्पादन भएको अर्थात् दुबै पक्षको जीत भएको हामी महशुस गर्छौं ।

तपाईंसम्बद्ध न्यायिक समितिले सम्पादन गरेको न्यायका प्रकृतिहरू कस्ता–कस्ता छन् ?
खासगरि घरेलु हिंसा, यसअन्तर्गत पती–पत्नीबीचको झगडा, अंशबण्डा, साँधसिमा झैंझगडा, सामाजिक रूपमा विभिन्न शीर्षकमा हुने लेनदेन, अनुचित् व्याज वसुली, घरबाटो मिचिएका आदि हुन्छन् । सम्बन्ध बिच्छेदको विषय आउछ, यसमा हामी मेलमिलाप गर्न गराउन प्रयत्न गर्छौं, नभए उहाँहरू अदालत जानुहुन्छ ।

तपाईं जनताको साझा मानिस, जनताले दिएको जिम्मेवारीलाई सामाजिक रूपमा कसरी पूरा गर्नुभएको छ ?
कतिपय सन्दर्भहरू माथि नै उठेका छन् । तर पनि कुरा के चाहिँ हो भने समृद्ध नेपाल र सुखी नेपाली निर्माणको हाम्रो राष्ट्रिय आकंक्षा हो । यसलाई कसरी पूरा गर्न अर्थात् प्राप्त गर्न सकिन्छ ? मेरो ध्याउन्न त्यहीँ रहने गर्दछ । सामाजिक कामलाई म साङ्गोपाङ्गो अर्थमा बुझिदनँ । स्थानीयमा सामाजिक ज्ञान चेतना निर्माण र विकासको पक्ष एउटा हो । भौतिक निर्माण र पूर्वाधार विकासको पक्ष अर्को हो । मेरो बुताले भ्याएसम्म दुबै विषयलाई समान ढंगले उठाइरहेको छु ।

असारे विकास बजेटमा मात्र तपाईं जनप्रतिनिधिहरूलाई जनताले सम्झन्छन् नि ! यो सत्य हो ?

हेर्नुस्– कसले के भन्छ ? कसले के भन्छ ? सबै कुराको जवाफ हुँदैन । जवाफ दिइरहन आवश्यक पनि ठान्दिनँ । म कामले अथवा यसको परिणामले जवाफ दिने स्वभावको मानिस हो । जहाँसम्म असारे बजेटको कुरा गर्नुभयो, कुरा के हो भने सरकारको खातामा वर्षभरि काम गरेपछि कतिपय शीर्षकभित्रका रकमहरू थिग्रिएको अवस्था रहन्छ । नीतिगत रूपमा छुट्टिएको बजेट प्रयोग हुन नपाउँदै अर्को आर्थिक वर्ष आउने तरखर हुन्छ । अरू कतिपय कारणले यस्तो हुन पुग्छ । यदि, यस्तो भयो भने थिग्रिएको सो राज्यको ढुकुटीलाई शीर्षक फेरबदल गरेर अर्थात् रकमान्तर गरेर अन्य जरूरी विषयमा खर्च गरिने स्थापित प्रचलन छ । कहिलेकाहीँ चालु खर्चलाई पनि अर्को–अर्को शीर्षकमा प्रयोग गर्नुपर्ने हुन्छ । जस्तो कोरोनाका कारण प्रभावित क्षेत्रमा खर्चिएको बजेट कहाँबाट आयो त ? यस्ता प्रश्न अनेक छन् । यसलाई नबुझेर सतही ढंगले कसले कसरी बुझ्छ ! जथाभावी बुझ्नु र बोल्नु पनि त भएन नि !

अहिलेको संविधानले सिंहदरबारको अधिकार घर–घरमा दिएको छ भन्छन् नि ! के साँच्चिकै यो प्रत्याभूति भएको छ त ?

म त ढुक्कसँगले भन्छु– अधिकार घर–घरमा मात्र होइन, कोठा–कोठामा आइपुगेको छ । यसको प्रयोग गर्ने कसरी ? हामीकहाँ अलिकति समस्या छ । न्याय सम्पादनका सन्दर्भमा हिजो अदालत जान नसक्ने, गएपनि जुनिभर मुद्दा खेप्नुपर्ने अवस्था आज स्थानीय न्यायिक समितिले सम्पादन गर्दै आएको छ । यो अधिकार अनुभूति गर्ने विषय होइन र ? हिजो निश्चित व्यक्तिका तजबिजीमा भौतिक निर्माण र पूर्वाधार विकासको बजेट छुटिन्थ्यो, अहिले प्रत्येक वडामा वडा भेला डाकेर र अनिवार्य ५ जना प्रतिनिधिहरू बसेर मात्र बजेट अन्तिम टुंगो लाग्छ । यो घर–घरमा आएको अधिकार होइन र ? हिजो सस्याना प्रशासनिक काम गर्न प्रमुख जिल्ला अधिकारी, गृहमन्त्रालय काठमाण्डौं, परराष्टमन्त्रालय काठमाण्डौं जानुपर्ने वाद्यकारी अवस्था थियो, अहिले यी सबै कामहरू यहिँ स्थानीय पालिका सरकारको टेबलबाट हुन्छ । यो सिंहदरबारको अधिकार घर–घरमा आएको भएन र ? जीवन निर्वाहको सन्दर्भमा गाँस, बास र कपासको सवाललाई स्थानीय जनसहभागितामा समृद्धि खोजेर यसलाई हासिल गर्दै अघि बढ्ने हो । अहिलेको व्यवस्थाको विकल्प छैन ।

थोरै प्रसङ्ग बदलौं– अहिले विश्वबजार कोरोनाबाट आक्रान्त छ । तपाईं स्थानीय सरकारको प्रतिनिधि, यसबाट बच्न र स्थानीयबासीलाई बचाउन के गर्नुपर्ला ? के कस्ता रायसुझावहरू अघि सार्नु चाहनुहुन्छ ?

बडो सान्दर्भिक जिज्ञासा राख्नुभयो । हो– कोरोनाबाट विश्व जनमत आक्रान्त छ । कोरोनाकै कारण विश्व जनमत पनि एक ठाउँमा उभिएको छ । देश–दुनियाँका सरकारहरू हातेमालो गर्दै उभिएका छन् । कोरोना नियन्त्रणका लागि परस्पर सहकार्यमा देखिएका छन् । मलाई लाग्छ– कोरोनाका कारण सिर्जित यो परिस्थिति हाम्रा लागि खुशीको कुरा हो । यहिँ विषयवस्तुभित्र सरकारले अघि सारेका शर्तहरूलाई हामीले कार्यान्वयनमा ल्याउने हो । योभन्दा फरक राय केही हुन सक्दैन । के चाहिँ हो भने कोरोनाले हामीलाई गरिखान सिकाएको छ । हाम्रो जीवन दर्शनलाई अनुकरण गर्न सिकएको छ । स्वास्थ्यकर खानेकुरा खान सिकाएको छ । विषादिरहित खानेकुरा खान सिकएको छ । शारीरिक दूरी कायम गर्दै श्रमउपार्जन गर्न सिकाएको छ । अब हामीले कोरोनासँग भागेर होइन, स्वस्थ्यकर आचारसंहिताभित्र रहेर डटेर अघि बढ्नुपर्छ । स्वास्थ्य रहन अघि सारिएका मानकहरूलाई आत्मसाथ गर्दै श्रम र उत्पादनसँग आफ्नो भूमिका अघि बढाउनुपर्छ । आवश्यकताअनुसार पीसीआर परिक्षण गर्ने गराउने र सावधानीपूर्वक रहने विषयलाई राज्य र नागरिकको बीचको कर्तव्यका रूपमा लिनुपर्छ । बेसारपानी खाने विषयका सन्दर्भमा प्रधानमन्त्रीलाई उडाउने काम पनि गरियो ! यो निरर्थक थियो । अचुक ओखती त त्यहिँ रहेछ । तातोपानी, बेसारपानी, वनौषधीजन्य वस्तुको प्रयोगमा ध्यान दिनुपर्छ । हाम्रो पालिका क्षेत्रभित्र अहिलेसम्म यसको प्रभाव देखिएको छैन । हामीले यहिँ सचेतना अपनाइरहेका छौं ।

तपाईं एकजना कुशल व्यापारी । समय नदिए व्यापार हुन्न । यो कर्मसहित राजनीति र समाजसेवालाई कसरी अघि लानुभएको छ ?

आह ! क्या मिठो प्रश्न गर्नुभयो । हेर्नुस्– व्यापार भनेको मेरो गैरीखेत हो । गैरीखेतमा केही नउब्जाएसम्म भोको पेटको व्यवस्थापन गर्न सकिँदैन । यस्तै व्यापार–व्यवसाय मेरो गैरीखेत हो । यसबाट उब्जिएकोले मेरो र परिवारको भरणपोषण तथा आवश्यकतालाई पूर्ति गर्छु । जहाँसम्म राजनीति संलग्नता र सामाजिक भूमिकाको कुरा गर्नुभयो, राजनीति मेरालागि समाज परिवर्तन र रूपान्तरणसँग जोडिएको निष्ठापूर्ण कर्म हो । समाजसेवा मेरालागि मानव हित सर्वोपरिताका लागि अवलम्बन गरेको धर्म हो । व्यापार–व्यवसायबाट केही कमाउछु र राजनीतिक जिम्मेवारी पूरा गर्ने सामाजिक काममा समाहित हुने गर्छु । नत्र त मबाट पनि चुहावट र भ्रष्टाचार पनि हुँदो हो नि ! होइन र ?

उसो भए चुहावट र भ्रष्टाचार गर्नुभएको छैन त ?
भन्न कसैले भन्न सक्छन्, सक्लान् । भन्नेको मुख थुन्न सकिन्न । कसैले दसीप्रमाण सहित मबाट १ सुको बराबार चुहावट र भ्रष्टाचार भएको पेश गरून्, म अहिलेदेखि नै गेरूवावस्त्र लगाएरै सन्यास लिन तयार छु र लिन्छु पनि ।

माथि तपाईंले भन्नुभयो– म अल्पमतको प्रतिनिधित्व गर्दैछु भनेर । वडाको कामलाई कसरी अघि लैजानुभएको छ ? यसबीचका कठिनाइहरू र पृथक योजनाहरू कसरी लाने गर्नुभएको छ ?
ठीकै हो– म यस वडामा राजनीतिक दलसम्बद्ध जनमतका हिसावले अल्पमतको प्रतिनिधित्व गर्दैछु । तथापि, मप्रति जनताको यति धेरै भरोसा छ कि मलाई अहिलेसम्म कुनै समस्या नै छैन । बरू, किन आत्तिनुभएको ? हामी तपाईसाथै छौं, सँगसँगै छौं भन्नेको पंक्ति कमाएको छु । फलस्वरूप, अहिलेसम्म कुनै असजिलो महशुस हुन पाएको नै छैन । कारण के हो भने म व्यापक जनताको सहभागितामा विश्वास गर्छु, लोकतन्त्रमा समर्थन, विरोध र आलोचन सबै कुरा हुन्छ भन्ने विषयलाई सहज ठान्छु र यी सबैबाट आएका निष्कर्षहरूलाई शीरोधार्य गर्छु । यसकारणले अरू कतिपय साथीहरूले स्थानीय योजना कार्यान्वयनमा ल्याउन असजिलो महशुस गरेको भए पनि मलाई भने त्यस्तो केही लागेको छैन, असजिलो भएको छैन । माथिल्ला सरकारहरूसँग हारगुहार र समन्वय गरेर पृथक योजनाहरू समेत अघि सार्ने गरेको छु । यो सबै प्रक्रियामा सक्रिय साथ र सहयोग गर्नुहुने स्थानीय वडाबासी सम्पूर्णमा तपाईं पत्रिकामार्फत हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु ।

यस वडामा तपाईकै पार्टीका अन्य उम्मेदवारहरू पराजित हुनुभयो । तपाईं भने अत्यधिक मतले निर्वाचित हुनुभयो । के थियो यो जादु ?
हा हा हा ! यो धेरै प्रश्नको उत्तर त मसँग छैन । त्यहिँ जनमतसँग होला । म जान्दिनँ र भन्न सक्दिनँ । स्थानीय जनमतले मलाई अलिक बढी रूचायो होला ! माया गर्नुभयो होला ! भरोसा गर्नुभयो होला ! उपयुक्त ठहरायो होला ! यद्यपि, मसँगै मेरा सहयोद्धाहरू पनि सँगसँगै भइदिएको भए अहिलेको अवस्थामा व्यापक फेरबदल ल्याउन सकिन्थ्यो भन्ने मलाई चाहिँ महशुस भएको छ । शायद ! यो बडो गम्भीर विषय स्थानीय जनमतले पनि बुझेको होलाजस्तो मलाई लाग्छ ।

तपाईंका भावी योजना के–के छन् ? अन्तिम प्रश्नका रूपमा प्रष्ट्याइदिनुहुन्छ कि !

मेरो निर्वाचित समयअवधि अझै २ वर्ष छ । यसबीचमा यहिँ वडालाई र हाम्रो नगरलाई कसरी समुन्नत र समृद्ध बनाउने ? जनताको सहज पहुँच विकास कसरी गर्ने ? मसम्बद्ध राजनीतिक पार्टीको कामलाई आधारभूत तहसम्म कसरी लैजाने ? नेकपाका उम्मेदवारहरूलाई जिताउन नसक्दा अहिले कतिपय असजिलो भएको छ भन्ने कुरामा जनमत स्वयंलाई सहमत गराउने, दुई ठूला कम्युनिष्ट पार्टीहरू एकीकृत भएका छन् । स्थानीय नेतृत्वसँगको सहकार्यमा यसको राजनीतिक बैचारिक पक्ष र आवश्यकताअनुसारको स्कुलिङमा जोड दिने योजना बनाएको छु ।
प्रस्तुति : भूमिप्रसाद पाठक

प्रतिक्रिया दिनुहोस्