गगनको प्रस्ताव सिटौलाद्धारा अस्वीकार,



काठमाडौं नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले आफ्नै समुहका प्रभावशाली युवा नेता गगन थापाको प्रस्ताव अस्वीकार गरेका छन् । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवाले पछिल्लो समय गठन गरेर विभाग तथा अन्य निर्णयका विरुद्धमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसंग मिलेर जाने प्रस्ताव गरेका थिए । तर थापाको सो प्रस्ताव सिटौलाले अस्वीकार गरेका छन् ।

गगन थापाले केहि समय अगाडि वरिष्ठ नेता रामचन्द्र पौडेल समुहका केन्द्रीय सदस्यहरुको जुम बैठकमा सहभागि भएर सिटौलालाई पनि सहमत गराएर संगै लैजानुपर्ने प्रस्ताव गरेका थिए । गगनको सो प्रस्ताव पौडेल पक्ष स्वीकार गर्दै गुरु घिमिरे, बद्री पाण्डे र जीवन परियार रहेको समितिले तय गरेको देउवा विरुद्धको विरोधका कार्यक्रममाथि सिटौलासंग छलफल गरेको थियो ।

सो प्रस्तावको पक्षमा पौडेल समुहसंग सहकार्य गर्नुपर्ने प्रस्ताव सिटौलासंग गगनले राखेका थिए । सिटौला निकट उच्च स्रोतका अनुसार सिटौलाले गगनको सो प्रस्तावलाई अस्वीकार गरेका छन् । पछिल्लो समय सिटौलासंग रहेका केन्द्रीय सदस्यहरु मध्ये गगन थापा, प्रदीप पौडेल र उमाकान्त चौधरी एक ठाँउमा रहेका छन् ।

त्यसैगरि केन्द्रीय सदस्य शिव हुमागाँई र नेता भीमसेनदास प्रधान एउटा समुहमा रहेका छन् । हुमागाँई र प्रधान देउवा पक्षसंग मिल्नुपर्ने पक्षमा छन् तर थापा, पौडेल र चौधरी देउवा पक्षसंग सहकार्य गर्नै नहुने पक्षमा छन् ।

सिटौलाले भने गगनको प्रस्ताव स्वीकार गर्ने भन्दा पनि आफुहरु छुट्टै समुह रहेकाले देउवा र पौडेलबीचको विवाद मिलाउनका लागि प्रयासमा लाग्नुपर्ने भन्दै नेताहरुलाई कन्भिन्स गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्