जाँड, रक्सी तथा लागुऔषधको प्रयोग गर्नेबाट कोरोना सर्ने जोखिम धेरै हुन्छः डा. पन्त



काठमाडौँ । जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले कोरोना सङ्क्रमण फैलाउने सम्भावना बढी रहेको चिकित्सकहरुले बताएका छन् । जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले स्वास्थ्य मापदण्डको ख्याल नगर्ने र रोग प्रतिरोधी क्षमता पनि कम हुने भएकोले त्यस्ता व्यक्तिबाट कोरोना फैलने डर धेरै हुने मानसिक रोग विशेषज्ञ डाक्टर सगुन वल्लभ पन्तले बताए ।

यस्ता वस्तुको प्रयोगले मानसिक समस्यासमेत आउने र यसले जोखिम झनै बढाउने उनले बताए। साथै डा. पन्तले महामारीका बेला विभिन्न बहानामा जाँड, रक्सी तथा चुरोटलगायत लागुऔषध प्रयोग नगर्न र प्रयोग गर्दै आएको भएमा छाड्न अनुरोध गरेका छन् ।

जाँड, रक्सी, चुरोट खानेहरुलाई कोरोना सङ्क्रमण भएमा तुलनात्मक रुपमा बढी असर गर्ने भएकोले आफू र आफ्ना परिवारका लागि यस्ता बानी त्याग्न डाक्टरहरुले सबैमा अनुराेध गरेका छन् । अहिले अस्पतालहरुमा रक्सीजन्य वस्तुको प्रयोगबाट मानसिक समस्या भएकाहरु पुग्ने क्रम बढेको भन्दै डा. पन्तले यदि यस्ता वस्तुको लत भएमा तत्कालै उपचार गर्न पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्