कलाकारले आफ्नो संस्कृती र धरातललाई बिर्सनु हुन्न : नायिका आशा भुषाल



राजधानीमा जन्मिएर राजधानीमै हुर्किएकी नायिका एवम् मोडल आशा भुषाल नेपाली रंगमञ्चमा संघर्षरत् छिन् । मोडलिङ क्षेत्रमा होमिएको ८ वर्षको अवधिमा उनले यस क्षेत्रका विषयमा निकै नै घुलन भईसकेकी छिन् । चर्चित नेपाली चलचित्र सुनपानीसहित आधा दर्जन बढी नेपाली चलचित्र र दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी उनै मोडल भुषालसँग गरिएको संक्षिप्त कुराकानी ।

१. मोडलिङमा लाग्नुभएको कति भयो ? हाल के गर्दै हुुनुहुन्छ ?
– यस क्षेत्रमा लागेको त धेरै बर्ष भयो । तर बिचमा आफ्नो घरायासी कामले गर्दा केही बर्ष काम गरिन । पछिल्लो समयमा अहिले सुटिङहरु भईरहेको छ । कोरोना कहर र लकडाउनले गर्दा सुटिङको काम रोकिएको छ । बाँकी काम लकडाउनपछि हुन्छ । अहिले घरमै होम क्वारेन्टाईनमा बसिरहेको छु ।

२. मोडलिङमा लाग्ने सोच कसरी आयो ?
– सानै देखी नाच्ने गाउने गर्थे । नाच्ने गाउने भनेपछि हुरुक्कै हुन्थे म । सानैदेखी नै मोडलिङ गर्ने ईच्छा थियो । अरुको देखेर नै मलाई रहर जागेर आयो ।

३. पहिलो पटक के मा मोडलिङ गर्नुभएको हो ?
–मैले पहिलो पटक दुश्मनी नामक चलचित्रमा अभिनय गरेको थिए ।

४. अहिलेसम्म कतिवटा भिडियो र चलचित्र गर्नुभयो ?
– आज सम्म आधा दर्जन जति नेपाली मुभी अनि ४ वटा भोजपुरी मुभी र दर्जनौ गीतमा अभिनय गरे । तर यती गीतमा भनेर एकिन छैन अहिले । मैले अभिनय गरेको सुनपानी फिल्मबाट धेरै दर्शकहरुको माया पाए ।

५. कुन –कुन चलचित्रमा अभिनय गर्नुभएको छ ?
–मैले नेपाली मुभीहरु दुश्मनी, लभ ईज लाईभ, बबाल, सुनपानी, समपर्ण र अहिले नयाँ मुभी झिङ्गे दाउ र ४ वटा भोजपुरी मुभीमा अभिनय गरे । सबै चलचित्रमा मैले राम्रो प्रस्तुती दिएको छु । सबैबाट मैले राम्रो टिप्पणी पनि पाए ।

६. म्युजिक भिडियो गर्न सजिलो कि चलचित्रमा ?

–काम सानो ठुलो हुँदैन । सबै काम बराबर हुन्छ । जसरी पनी हामीले आफ्नो कर्म गर्ने हो । आफुले पाएको भुमिका निर्वाह गर्ने हो । मुभीमा काम गर्दा महिनौ दिन लाग्छ तर म्युजिक भिडियो एक दिन मै सकिन्छ । म्युजिक भिडियो त रातारात आउछ । मुभि त केही महिना नै लाग्छ । सुटिङ सकिएपछि डबिङ गर्न परो एडिटिङ गर्न परो, एनिमेशन खेल्न परो । मुभी अलि झन्झटिलो चाही हो । तरपनि मैले जे मा काम गरेपनि उत्तिकै मेहनतका साथ गरेकी हुन्छु ।

७. मोडलिङमा नाम मात्र हो कि दाम पनि हुन्छ ?

–मोडलिङमा नाम दाम दुबै छ । तर केही सिकेर आएपछि यो क्षेत्रमा अवसरहरु पनि पाईन्छ । बिस्तारै अगाडी बढ्दै जाने त हो नी । सुरुमै कोही पनि माथी जान सक्दैन । म नव आगन्तुक कलाकारहरलाई केही सिकेर आउनुहोस् , आफुलाई निखारेर आउनुहोस् । यस क्षेत्रमा भबिष्य राम्रो छ भन्न चाहन्छु ।


८. भविष्यसम्मै गर्ने सोच हो कि केही वर्ष मात्रै हो ?
हाहाहा… आफु बाचुन्जेल सम्म गर्ने हो नी । मेरो त सानै देखीको रुची हो । त्यसैले यस क्षेत्र छोड्न सक्दिन । मलाई मेरो घर परिवारबाट पनि साथ सपोर्ट छ । केही बर्ष यस क्षेत्र भन्दा टाढा हुँदा के भएन के भएन जस्तो लाग्थ्यो । लकडाउन भन्दा अघि पनि म्युजिक भिडियोहरुमा अभिनय गरे । तर अहिले लकडाउनले गर्दा काम गरेको छैन । लकडाउन खुकुलो भएपछि सुटिङहरु हुँदैछन् । आगामी दिनमा यही क्षेत्रलाई नै निरन्तरता दिने सोंच बनाएकी छु ।

९. भिडियो र चलचित्रमा अफर कत्तिको आउँछ ?
–अफर आँउछ । अफर आउदा पनि केही समय अघि मेरो घरको कामले गर्दा सुटिङ गरिन । लकडाउनको बेला पनि अफर आको थियो मैले गरिन । लकडाउन खुकुलो भएपछि सुटिङहरु हुन्छन् । मैले फिक्स गरेको सुटिङलाई पहिलो प्राथमिकता दिन्छु अनि अरु सुटिङहरुलाई समय दिन्छु ।

१०. आगामी दिनमा मोडलिङ क्षेत्रमा नयाँ केही गर्ने सोच योजना के छ ?

–आगामी दिन यो क्षेत्रलाई मौलाउने तरिकाले अनि समाजमा केही सन्देश जाने तरिकाले केही फरक गर्ने त सांच हो तर हेरौ कत्तिको पुरा हुन्छ । अहिले पछिल्लो समयमा सांगीतीक क्षेत्रमा आएका बिकृती भित्राउने जस्ता गीत नगर्ने, समाजमा पाच्य हुने खालका गीत गर्ने सोच छ ।

११. परिवारमा को – को हुनुहुन्छ, सहयोग कत्तिको छ ?

– समस्या त सबै क्षेत्रमा हुन्छ । एक्लै केही गर्न सकिदैन । तर समस्यालाई आफ्नै ढंगले समाधान गर्नुपर्छ । मेरो घर परिवारमा बुवा आमा, भाई बहिनीहरु हुनुहुन्छ । मलाई घर परिवार सबैबाट एकदम सपोर्ट छ । मेरो घर परिवारबाट साथ, सपार्ट अनि दर्शक श्रोताहरुको माया नपाएको भए अगाडी आउन गाह्रो थियो ।

१२. समस्याहरु के के छन् मोडलिङ क्षेत्रमा ?
–यस क्षेत्रमा अर्काको गुलामी हुनुपर्छ, डाईरेक्टर अनि प्रोड्युसरले जे भन्यो त्यही गर्नुपर्छ । नत्र अगाडी आउन सकिदैन । मलाई त्यस्तो ब्यवहार मन पर्दैन । मलाई अरुको गुलामी भएर अगाडी आउन मन लाग्दैन । आफु सँग क्षमता छ भने एकदिन अवश्य अगाडी आउन सकिन्छ । आफ्नो अडान छोड्नु हुन्न । पछिल्लो समयमा कलाकारहरुले आफ्नो संस्कृती तथा धरातल बिर्सेका हुन् की जस्तो मलाई लाग्छ । आफ्नो संस्कृती र धरातललाई बिर्सनु हँुदैन । समाजमा पच्ने खालका भिडियोहरु बनाउन पर्छ । पछिल्लो समयमा सांगीतीक क्षेत्रमा बिकृतीहरु धेरै भित्रिएका छन् । त्यसैले पनि मलाई कलाकार भनेर चिनाउन पनि लाज लाग्छ । आशा गरौं अबको सांगीतीक क्षेत्र सभ्य अनि भब्य बनोस् ।

१३. माया प्रेममा पर्नुभएको छ कि छैन ?

–धेरै लामो समय प्रेममा परेको थिए । अहिले माया प्रेममा परेको छैन ।

१४. विवाह कहिले गर्नुहुन्छ ?

– बिवाह त समय आएपछि हुन्छ । जहिले लगन आउला त्यहि बेला गरौला । अहिले बिहेको सोंच छैन ।

१५. अन्त्यमा ?
अन्त्यमा अब आउने मेरा म्युजिक भिडियोहरुलाई माया गरिदिनुहोला । अहिले कोरोनाको त्रास छ । कोरोना देखी सबै सचेत रहनुहोला । लकडाउनको पुर्ण पालना गर्नुहोला । घरमै सुरक्षित रहनुहोला । दर्शक श्रोताहरुको मायालाई कहिल्यै भुल्न सक्दिन भन्न चाहन्छु । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्