पूजा र प्रकाशबीच मिलापत्र



काठमाडौं ४ भदौ/नायिका पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीबीच मिलापत्र भएको छ । बिहीबार पूजा र प्रकाशबीच मिलापत्र भएको हो ।

मिलापत्रमा अब एक-अर्कालाई आरोप-प्रत्यारोप नगर्ने तथा पूजाले दिएका सम्पूर्ण उजुरी फिर्ता गर्ने सहमति भएको छ ।

केही समयअघि सञ्चारकर्मी सुवेदीले पूजालाई इंकित गर्दै ‘दाह्रा निस्किएको हिरोइन’ बोलेका थिए । राष्ट्रिय टेलिभिजनको एक कार्यक्रममा आफ्नो मानहानी गरेको भन्दै पूजाले त्यसको खण्डन गरेकी थिइन् । धेरै अभिनेत्रीहरूले सुवेदीको चर्को विरोध गरेका थिए ।

विवाद चर्किदै गएपछि सुवेदीले माफी पनि मागिसकेका थिए । तर, पूजाले सुवेदीले मागेको माफी चित्त बुझ्दो नभएको भन्दै उजुरीसमेत दिन भ्याएकी थिइन् ।

पूजाले कलाकार संघदेखि एपिवान टिभीसम्मलाई उजुरी दिएकी थिइन् । सोही आधारमा एपीवान टेलिभिजनका रामेश्वर थापा, कलाकार संघ नेपालका अध्यक्ष रवीन्द्र खड्का लगायतले पूजा र प्रकाशको विवाद सुल्झाएका हुन् ।

उनीहरूको मिलापत्रमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका कार्यवाहक अध्यक्ष जनक कार्कीलगायतले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्