यसकारण गलत छ प्रधानमन्त्री ओलीबिरुद्धको घेरावन्दी



रश्मि आचार्य
नेकपाभित्र जारी विवाद कसरी निरूपण होला ? तस्बिर प्रस्ट छैन । विवाद साम्य हुन नसकी एकता भङ्ग भयो भने त्यसले कस्तो परिणाम ल्याउला ? उत्तर सहज छैन । नेकपाको एकता टुट्यो भने नेकपालाई मात्र असर नगरी देशको समग्र क्षेत्रमा धक्का दिने निश्चित छ । उपल्लो तहका नेताहरू (खासगरी अध्यक्षद्वय र वरिष्ठ नेताहहरू) का चर्का अभिव्यक्ति सुन्दा विवादको गाँठो झन कसिएको देखिन्छ । यही परिप्रेक्ष्यमा विद्यमान विवादका अन्तरवस्तुहरूलाई केलाउन खोजिएको छ ।

नेकपाको एकता प्रक्रिया कसरी सुरु भयो ? एकताको प्रस्थान बिन्दु कुन हो ? एकता पूर्वका दुई पार्टी कसरी भङ्ग भए ? भङ्ग गर्ने को–को हुन ? नेकपाको गठित केन्द्रीय कमिटी कुन निकायबाट टुङ्गो लाग्यो ? प्रथमतः यसमा स्पष्टताको पहिलो खाँचो छ । एकताको प्रस्थान बिन्दु दुई अध्यक्षले हस्ताक्षर गरेको समझदारी नै हो । एकताको पूर्णता अर्थात निकास बिन्दु एकता महाधिवेशन हो वा त्यो काम अरू कुनै निकायले गर्न सक्छ ? बहस जरुरी छ । के एकता महाधिवेशनमा नपुग्दै दुई अध्यक्षको जिम्मेवारीबीचमै खण्डित गर्ने (हटाउने वा फेर्ने) परिकल्पनासहित एकता गरिएको थियो र ? त्यो परिकल्पना गरेको देखिँदैन । सम्भवतः त्यस्तो परिकल्पनालाई सार्थक बनाउनेगरी उसको अन्तरिम विधान बनेको पनि होइन ।

अर्को पाटो, एउटा पार्टीभित्र दुई अध्यक्ष राखेर नौलो अभ्यास किन थालियो ? यसले पनि आफैँ उत्तर दिन्छ । के दुई अध्यक्षको अभ्यास अनन्तकालसम्म जान सक्छ ? त्यो पनि सम्भव छैन । यो अभ्यास एकता महाधिवेशनसम्मका लागि कल्पना गरिएको थियो । एकता महाधिवेशसम्मका लागि बनेको अन्तरिम विधानमा अध्यक्षका अधिकार र कर्तव्य खण्डमा अन्तिम वाक्यमा भनिएको छ, ‘पार्टीका आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षले वा आपसी सल्लाहमा एक अध्यक्षले हस्ताक्षर गर्ने ।’

एकताको पृष्ठभूमिमा दुई अध्यक्षले हस्ताक्षर गरेको सम्झदारी र अन्तरिम विधान दुवैको मर्म भनेको एकता महाधिवेशनसम्म दुवै अध्यक्षको सहमति र आपसी समझदारी नै एकताको मूल आधार हो । यी दुई अध्यक्ष केवल एक व्यक्ति होइनन, एकतापूर्वका दुई पार्टीका मुख्य प्रतिनिधिसमेत हुन् । अर्को अर्थमा भन्दा संस्थागत रूप हुन । नेकपा केन्द्रीय कमिटी निर्माणको चरणमा होस वा अन्य तहको नेतृत्व टुङ्गयाउँदा, दुई अध्यक्षबीचको समझदारीलाई पुराना दुई पक्षबीचको समग्र समझदारी मान्दै आएका स्थापित अभ्यासले पनि सो कुराको पुष्टि गर्छ नै । यी सबै तथ्यहरूले भन्छन्, ‘एकताको महाधिवेशनमा नपुग्दासम्म दुई अध्यक्षमध्ये कुनै एक अध्यक्षको परिवर्तन गर्ने कुरा गर्नु अन्ततः एकतालाई कमजोर बनाउने कुरा नै हो ।’

विधि र पद्धति

कम्युनिस्ट पार्टी व्यक्तिप्रधान होइन, नीतिप्रधान मानिन्छ । एकताको विशिष्ट चरणमा अगाडि बढेको पार्टीले यस सवालमा अझ सावधानी अपनाउनै पर्छ । करिब ६ महिनाअघि सम्पन्न केन्द्रीय कमिटी बैठकले आगामी चैतमा महाधिवेशन गर्ने भनी मिति तोकिसकेको परिवेशमा त्यसलाई सार्थक बनाउन ठोस कार्ययोजना बनाएर अगाडि जानुपर्नेमा अन्यत्रै रुमलिनु विडम्बना हो । एकता महाधिवेशनपूर्व विचारको बहस विधिवत खुला गर्ने, विचारमा घनिभूत बहस गर्ने, नेपाली परिवेशको समाजवाद स्थापनाको बाटो तय गर्ने, पार्टीको कार्यक्रम, कार्यनीति, रणनीति, दीर्घकालीन लक्ष्य स्पष्ट ढङ्गले किटान गर्न ऊर्जा लगाउनुपर्ने समयमा बेअर्थको दन्तबझानमा पार्टीलाई होम्नु कुनै मानेमा पनि विधि र पद्धतिसम्मत छैन । अझ त्यसमा पनि स्थायी कमिटी बैठकमा विधिवत प्रवेश नै नभएको एजेन्डामा गलफत्ती हुनु, बैठक अनिर्णयको बन्दी हुनु लज्जाको विषय नै हो । छ महिनापूर्व सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकमा सरकारले गरेका कामको गम्भीर समीक्षा गर्दै राम्रा कामको प्रशंसा र गर्नुपर्ने कामको किटान गरेको पार्टीभित्र कोरोना महामारीविरुद्ध लडाइँको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री एवम पार्टी अध्यक्षले दुवै पदबाट छोड्नुपर्छ भनिनु युक्तिसङ्गत विषय नै होइन ।

पार्टी एकताका हस्ताक्षरकर्ता दुई अध्यक्षमध्ये एकले छोड्नुपर्छ भन्नु, पार्टी संसदीय दलले सर्वसम्मतिले दलको नेता छानेर बनेका प्रधानमन्त्रीलाई एकाएक राजीनामा दिनुपर्छ भन्नु, राजीनामाको पक्ष र विपक्षमा यति र उति मत भनेर प्रचारबाजी गर्नु तथा तिनै विषयलाई विधि र पद्धतिको जलप लगाएर व्याख्या गरिनु ज्यादै अमिल्दा विषय हुन् । यस्ता अमिल्दा विषयहरूलाई शीघ्र सुल्ट्याउन र पार्टीलाई सही बाटोमा हिँडाउन अब विलम्ब गर्नुहुँदैन । पार्टीको उच्च तहको बैठकमा भएका छलफल जस्ताको तस्तै बजारमा छरपष्ट पार्ने काम किन भइरहेको छ ? सबै विषय जस्ताको तस्तै बाहिर ल्याउने हो भने बैठक किन गोप्य गर्नुपर्यो ? टुँडिखेलमा बैठक गर्नु र यसमा खासै भिन्नता के भयो र ? के कम्युनिस्ट पार्टीको विधि र पद्धतिले यसो गर्न छुट दिन्छ ? फलामे अनुशासनबारे घण्टौँ प्रशिक्षण दिएर नथाक्ने नेताहरूले अपनाउने विधि र पद्धति यस्तै हो ? मूलतः पार्टी सचिवालयका सदस्यहरूले गम्भीरतापूर्वक समीक्षा गर्न जरुरी छ । पार्टी कमिटीभित्र छलफल गर्नुपर्ने, त्यहाँबाहेक बाहिर ल्याउन नमिल्ने संवेदनशील सवालमा नेतृत्व तहले नै एकपछि अर्को गर्दै साँध–सीमा मिचेपछि पार्टीको विधि र पद्धति कसले मान्ने ? यसर्थ, शिरदेखि तीरसम्म बोलीमा होइन, व्यवाहारमा विधि र पद्धतिको पालना अपरिहार्य छ ।

जनआवाजको उपेक्षा

गत निर्वाचनमार्फत जनताले नेकपाको हातमा थमाइदिएको तमसुकको रक्षा गर्नुपर्ने, देशलाई स्थिर सरकार दिनुपर्ने, पार्टी एकताको संरक्षण र परिवर्तनलाई संस्थागत गर्नुपर्ने, कोरोना महामारीले सिर्जना गरेको चुनौती र अवसरमा जनपक्षीय कदम चाल्नुपर्ने दायित्व यो पार्टीमा छ । साथै, समाजवाद स्थापनाको मार्गचित्रमा देशलाई हिँडाउनुपर्ने, भारतीय हेपाहा प्रवृत्तिविरुद्ध जुध्न राष्ट्रिय एकता कायम गर्नुपर्ने, भूराजनीतिक जटिलतावीच देशको सार्वभौमसत्ता, स्वाधिनता र स्वाभिमानको जगेर्ना गर्नुपर्ने समयमा नेकपाभित्रको विवाद सतप्रतिशत उल्टो बाटो नै हो । उसलाई जनताले दिएको बहुमत खेलाँचीका लागि होइन, युगीन अभिभारा पूरा गर्नका लागि हो ।

धेरै टाढा जानै पर्दैन, उत्तरी छिमेकी चीनमा जनताका माग पूरा गर्न त्यहाँको सरकार र चिनियाँ कम्युनिस्ट पार्टी कसरी दत्तचित्त भएर लागेको छ, त्यसबाट धेरै कुरा सिक्न सकिन्छ । चीन र हाम्रो परिवेश, शासन व्यवस्था बिल्कुल फरक छ तर त्यहाँका राम्रा अभ्यासबाट हामीले सिक्नुहुँदैन भन्ने छैन । मूलतः जनतमा छिटोछरितो सेवा प्रवाहको अवस्था निर्माण गर्न उनीहरूले स्थापना गरेको मानक हाम्रा लागि ज्यादै शिक्षाप्रद छ । यसकारण, आमजनताले भोगेका समस्याहरूबारे पार्टीपङ्ति र सरकार (तीनै तहका) दुवैले गहिरोगरी जानकारी लिने र तिनको निरूपणमा साझा पहलकदमी विना जनआवाज सम्बोधन हुनै सक्दैन । सरकार वा पार्टी एक्लैले जतिसुकै उत्कृष्ट कार्यसम्पादन गरे पनि गुणात्मक परिणाम हासिल हुन सक्दैन । दक्षिण एसियाको चौथो ठूलो कम्युनिस्ट पार्टी र यसका करिब आठ लाख सदस्यले पैदा गर्न सक्ने ऊर्जासँग सरकारको योजनालाई एकाकार बनाउँदामात्रै देशले समृद्धिको बाटो पकडन सक्छ ।

गणित भर्सेस केमेस्ट्री

नेकपाभित्रको समस्या गणितले भए पनि हल गर्नुपर्छ भन्ने मतलाई समयसापेक्ष तवरले हेर्नुपर्छ । पार्टी लामो समय एउटा अभ्यासमा खारिएको भए, एकता महाधिवेशन भएर एकता प्रक्रिया पूर्ण रूपले टुङ्गिएको भए, हिजोका दुईवटा मनोविज्ञानको बीचमा बेसरी अन्तरघुलन भइसकेको भए पार्टी कमिटीभित्र विषयको गाम्भीर्य हेरी बहुमत अल्पमत गर्नुहुँदैन भन्ने हुँदै होइन । यो एउटा विधि नै हो तर पार्टी नै शैशव अवस्थामा रहेको, एकताले पूर्णता नपाएको, देशभरका कमिटीहरू पूर्ण गतिमा नआएको यस्तो विषम अवस्थामा पार्टीको अध्यक्ष र प्रधानमन्त्रीजस्तो दूरगामी प्रभाव छोड्ने सवालमा नेकपाभित्र यो विधि लगाउँदा के सही नतिजा आउला ? किमार्थ आउँदैन । किनकि यो सामान्य विषय होइन । यसकारण नेकपामा अहिले गणितबाट समाधान खोज्नु गलत हतियार उठाउनु हो ।

गणितका सूत्रहरूमध्ये पनि समस्याहरू घटाउँदै जाने, एकताका भावनाहरू जोड्दै जाने, सरकार र पार्टीका राम्रा पक्षहरूको गुणात्मक प्रचार गर्नुपर्ने समय हो । एउटालाई उपयोग गरेर अर्को पक्षलाई ‘डिभाइड’ गर्ने, शेष कति बाँकी रह्यो, गुणक कति आयो भनेर बहिखाता चढाउन रमाउने समय यो हुँदै होइन । कसले कसलाई कति गलाउने ? कसले कसका कति रौँ उखेल्ने ? भन्दा पनि एक–अर्का बीचमा भएका अन्तरघुलनमा मात्राहरू पहिल्याएर, असमझदारीहरूबीच समझदारी खोजेर केमेस्ट्री (रसायन) मिलाउने समय हो यो ।

यसर्थ, फरक कार्यक्रम र सङ्गठनात्मक अभ्यासको पृष्ठभूमिबाट आएका दुई पार्टी पूर्ण रूपले एक भएर साझा ठोस निष्कर्ष (विचार, सङ्गठन र नेतृत्व) मा पुग्नुपूर्व एउटा अध्यक्षले छोड्नुपर्छ भन्नु एकताको प्रस्थान बिन्दुमै प्रहार गर्नु हो । पूर्ववत दुई पार्टीले विकास गरेका सकारात्मक मानकहरूबीचमा ‘फ्युजन’ गरी आमजनतामा सकारात्मक सन्देश प्रवाह गर्नु नै नेकपा जोगाउने ‘रोडम्याप’ पहिल्याउनु हो । पार्टीभित्रको विवाद निरूपणका लागि विधि र पद्धतिको सच्चा अभ्यास गर्ने सर्वोच्च थलो महाधिवेशनलाई सुनिश्चित गर्नु नै साँचो अर्थमा विद्यमान समस्याको निकास बिन्दु हो ।

प्रतिक्रिया दिनुहोस्