सबै विवादको निरुपण केन्द्रीय कमिटी बैठकबाट गरौँ : नेता तामाङ



काठमाडौं । ‘हिजो पार्टीलाई भावनात्मक, सैद्धान्तिक र पद्धतिपूर्ण एकता भन्दा पनि प्राविधिक एकता मात्र गरियो, त्यो प्राविधिक एकतालाई भावना सिद्धान्त र पद्धतिमा ढाल्न सकेका छैनौँ, यसैको प्रतिविम्ब आजको विवाद हो’, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवाद विष्लेषण गर्दै नेकपा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङले भन्नुभयो

यो विवादलाई पद्धतिपूर्ण तरिकाले समाधान गरी सबै नेता कार्यकर्ता पद्धतिमा हिँड्ने वातावरण बनाएपछि सबै समस्या समाधान हुने तामाङको विश्वास छ । उहाँले पार्टीमा अहिले देखिएको विवाद कुनै सैद्धान्तिक विवाद नै नभएको बताउनुभयो । ‘हामी पद्धतिमा हिँड्नै सकेका छैनौँ, हिजो स्थापित पद्धतिलाई पनि भताभुङ्ग पारेका छौँ, त्यसैले विवाद देखियो’, उहाँले भन्नुभयो ।

पाथीभरा न्युजसँग कुरा गर्दै तामाङले अहिले शीर्ष नेताले विवाद गर्ने बेला नभएको बताउनुभयो । ‘देश गम्भिर संकटमा फस्दै गएको बेला को प्रधानमन्त्री हुने, को मन्त्री भयो भनएन, को जीएम भयो भएन, को न्यायाधिश भयो भएन , अथवा सरकारमा को छ, को हुन पायो पाएन, यस्ता चिजमा हामीले समय बरबाद गरिरहेका छौं’, उहाँले भन्नुभयो ।

समय बरबाद गर्ने जुन तरिका अपनाइएको छ, यसलाई तत्काल अन्त्य गरेर अगाडि जानुको विकल्प नभएको पनि उहाँले बताउनुभयो । त्यसको अन्तको लागि केन्द्रीय कमिटी बैठकमा जानुपर्छ भनेर बैठक माग गरिएको उहाँले बताउनुभयो ।

‘यत्रो सत्तारुढ दल झण्डै दुईतिहाईको सरकार हाँकिरहेको छ , जनतामा कोरोनाको समस्या छ, मुलुक गरिबीमा छ, अभावमा छ, लाखौँ युवा रोजगारी नपाएर ज्यान जोखिममा राखेर विदेश गएका छन्, यस्तो बेलामा पनि नेता झगडा गरेर बस्ने हो ?’, उहाँले प्रश्न गर्नुभयो ।

अहिले नेकपा भित्रको विवाद जुन ढंगले अगाडि बढ्दै गएको छ यो विवादलाई केन्द्रीय कमिटीमा छलफल गरेर टुङ्याउनु पर्ने उहाँको भनाइ छ । सचिवालय र स्थायी कमिटीले विवाद टुङ्याउन नसकेकोले अब जाने ठाउँनै केन्द्रीय कमिटी भएको तामाङको ठहर छ ।

‘अन्तत्वगत्वा पार्टी विधान अनुसार सार्वभौम ठाउँ भनेकै केन्द्रीय कमिटी हो, सचिवालय वा स्थायी कमिटी भनेको केन्द्रीय कमिटी नबसेको बेलामा पछि केन्द्रीय कमिटीले अनुमोदन गर्ने गरी काम गर्न जिम्मेवारी दिएका निकाय हुन्, ती निकायले काम गर्न नसकेपछि अब केन्द्रीय कमिटीमा त आउनै पर्यो, बरु त्यो काम छिटो गरौँ’, तामाङले भन्नुभयो ।

अहिले केन्द्रीय कमिटी सदस्य मात्र हैन तलका कार्यकर्ता पनि बाहिर ठाउँ कुठाउँमा बोल्ने स्थिति बन्न लागेकोले यो पार्टीलागि घा,तक हुने तामाङले बताउनुभयो । ‘त्यो स्थिति नहोस्, केन्द्रीय कमिटी सदस्यले बैठकमै आफ्ना आधिकारिक कुरा राखुन् भनेर केन्द्रीय कमिटी बैठक माग गरिएको हो’, उहाँले भन्नुभयो ।

सबै विवादको निरुपण केन्द्रीय कमिटी बैठकबाट गरिने भएकोले छिटो बैठक बोलाउँदा ठिक हुने उहाँले बताउनुभयो । ‘केन्द्रीय कमिटीको छिटो तिथि तय गरौँ, त्यो तिथिसम्म पर्खौैँ, कुनै पनि नेताले त्यतिबेलासम्म सबै खालका आरोप प्रत्यारोप बन्द गरौँ, जे हुन्छ केन्द्रीय कमिटीमै छलफलमा गएर टुङ्ग्याउँला’, उहाँले भन्नुभयो ।

यति ठूलो विवाद हुँदा पनि कसैलाई वान टु वान वा सानो घेरामा बसेर छलफल गर्दा विवाद मिल्छ भन्ने लाग्छ भने त्यो गलत सोचाई भएको उहाँले बताउनुभयो । कसैलाई केन्द्रीय कमिटीमा जाँदा विवाद अझ बढ्छ भन्ने लाग्छ भने केन्द्रीय कमिटीको के काम हुन्छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘त्यसोभए केन्द्रीय कमिटी विगठन गरिदिए भैगोनि’, उहाँले भन्नुभयो ।

आफ्ना कुरा छरपस्ट राखेर पार्टीलाई नै विभाजनको मुखमा पुर्याउने अधिकार कसैलाई नभएको तामाङले बताउनु भयो । ‘विवाद हैन समाधानतर्फ जानुपर्छ भन्ने हिसाबले नै केन्द्रीय कमिटी बैठक माग गरिएको हो’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्