नेकपा स्थायी कमिटीः शीर्षनेतालाई मञ्चबाट झारियो



काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा मंगलबार सबै नेताहरू समान तहबमोजिम बस्ने व्यवस्था मिलाइएको छ ।

पटकपटक विवाद भएपछि अन्ततः सचिवालयका सदस्यहरुलाई मञ्चबाट तल झारिएको हो ।

बैठक उदघाटनको दिन बुधबार दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई अग्लो मञ्चमा सुविधाजनक सोफाको प्रबन्ध गरिएको थियो भने अरु नेताहरूलाई काठका कुर्सीको प्रबन्ध गरिएको थियो । बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाललाई अध्यक्षको आसनभन्दा केही पछाडि राखिएको थियो । सचिवालयका ९ जना नेता मञ्चमा थिए, स्थायी कमिटीका सदस्यहरु तल, होचोमा राखिएको थियो ।

पहिलो दिन बरिष्ठ नेता माधव नेपालले आफ्नो आसन केही अगाडि सार्न लगाएर विरोध जनाएका थिए ।
शुक्रबारको बैठकमा अध्यक्षहरू बस्ने विशेष सोफा हटाइयो र अरुकै जस्तो काठका कुर्सी राखिएको थियो । तेस्रो दिन सबैलाई काठकै कुर्सीमा बस्ने प्रबन्ध मिलाएको थियो ।

मंगलबार अर्थात आजको चौथो बैठकमा चाहिँ नेकपाले आफ्नो आसनमा अझै परिवर्तन गरी आजको बैठकमा प्रधानमन्त्री लगायत सचिवालयका सबै नेताहरूलाई मञ्चबाट तल झारिएको छ ।

मञ्चबाट तल झारेर केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समान लहरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्