स्थायी कमिटि बैठकअघि राष्ट्रपतिलाई भेट्दै ओली



काठमाडौं/नेकपाभित्र जारी विवादका बीच अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्दैछन्। स्थायी कमिटि बैठकअघि उनले राष्ट्रपतिलाई भेट्न लागेका हुन्।

स्थायी कमिटि बैठकमा आजदेखि सरकारकेन्द्रित भएर सदस्यहरुले धारणा राख्ने भएकाले त्यसअघि ओलीले राष्ट्रपतिलाई भेट्न लागेका हुन्। नक्सा जारीपछिको परिस्थिति र प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन लागेको भनि दिएको अभिव्यक्तिका विषयमा स्थायी कमिटिमा चर्को आलोचना हुने तयारी भइरहेको छ।

प्रधानमन्त्री र पार्टी सञ्चालनका विषयमा ओलीमाथि दबाब दिने उद्देश्यले स्थायी कमिटिमा ओलीइतर समूहका नेताहरु तयारी अवस्थामा छन्। यसअघि ओलीले अधिकांश समय आफूलाई सन्चो नभएको भन्दै टार्दै आएका छन्। कमिटिको यसअघिका बैठकमा सीमा र अन्य विषयमा छलफल भइसकेको छ।

मदन भण्डारीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा ओलीले नक्सा जारी गरेपछि आफूलाई हटाउन दिल्ली र काठमाडौंका होटलमा भेला भएको भन्ने अभिव्यक्ति दिएका थिए। त्यही विषय आजको बैठकमा नेताहरूले चर्काउने देखिएपछि उनीहरुले राष्ट्रपतिलाई भेटेको आँकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्