बिहान बेलुकै भात खाने बानीले धान आयात बढ्यो : प्रम ओली 



काठमाडौं/
प्रधानमन्त्री केपी शर्मा ओलीले साँझबिहान भात खाने प्रचलन बढेकाले भारतबाट वर्षेनी ठूलो मात्रामा धान आयात भइरहेको बताएका छन् ।

‘पछिल्ला केही वर्षहरुमा जनसंख्या बृद्धिको साथै जनताको आर्थिक अवस्थामा सुधार आई दुबै छाक भात खाने प्रचलन र मसिनो चामलको उपभोगमा भएको वृद्धिले समेत धान चामलको मागमा तीब्र बृद्धि हुँदै आएको छ’, प्रधानमन्त्री ओलीले आज १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवका अवसरमा सन्देश जारी गर्दै भनेका छन्, ‘माग अनुसारको आन्तरिक उत्पादन नहुँदा वर्षेनी ठूलो धनराशी धान चामल आयातमा खर्चिनु परेको छ ।’

उनले दुबै छाक भात खाने प्रचलने मुलुकको परनिर्भरता समेत बढाएको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले प्रमुख खाद्यान्न बालीका रुपमा रहेको धानको उत्पादन वृद्धि गरेर दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजना तर्जुमा कार्यान्वयनमा ल्याएको उल्लेख गरेका छन् ।

उनले सिँचाई सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवं ज्ञान उपलब्ध गराउने, सार्वजनिक वितरण प्रणालीमा सुधार गर्ने, न्यूनतम समर्थन मूल्यको घोषणा र कार्यान्वयन गर्नेजस्ता विषयमा सरकारले जोड दिँदै आएको बताएका छन् । प्रधानमन्त्री ओलीले देशमा दीगो खाद्य सुरक्षा र आत्मनिर्भरता कायम गर्न तीनवटै तहका सरकारको समन्वयात्मक र एकीकृत प्रयास हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनले जमिन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिनेगरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन वृद्धिमा ध्यान पनि आग्रह गरेका छन्  ।

‘सबै ठाउँमा धान बाली नै लगाउनुपर्छ भन्ने छैन । धान लगाएर बढी प्रतिफल लिन सकिने ठाउँमा धान लगाउने र अरु प्रकारका जमिनमा अन्य जुनसुकै बाली लगाए पनि हुन्छ । तर त्यस बालीले आधिक उत्पादन भने दिनै पर्छ,’ उनले भनेका छन्, ‘पर्यटन र अरु त्यस्तै व्यवसायमा गम्भीर असर परेकोे यस विषम परिस्थितिमा कृषि र कृषिसम्बद्ध क्षेत्रले रोजगारीका अनेकन् अवसर सिर्जना गर्नुपर्ने खाँचो रहेको छ ।’

प्रधानमन्त्री ओलीले कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने समेत बताएका छन् । उनले राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन बृद्धि गरेर नै कोभिड-१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सकिने उल्लेख गरेका छन् ।

उनले सन्देशमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई सफल पार्दै नेपालको कृषि क्षेत्रमा क्रान्ति ल्याउन सकिनेसमेत बताएका छन् । प्रधानमन्त्री ओलीले यो वर्षको धान दिवसले कृषि उत्पादन बढाउने राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुरुप अघि बढ्न सबैमा प्रेरणा मिलोस् भन्दै शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्