रेल विभागद्धारा झापाका प्रभावित क्षेत्रका स्थानीयहरुसँग छलफल


१७ श्रावण, झापा । पूर्व पश्चिम विद्युतीय रेलमार्गको निर्माण अगाडि बढाउने विषयमा रेल विभागले शुक्रबार झापाको बिर्तामोडमा प्रभावित क्षेत्रका स्थानीयसँग छलफल गरेको छ ।

स्थानीयसँग छलफल नै नगरी विभागले एकैचोटि लकडाउनको समयमा मुआब्जाका लागि सूचना जारी गरेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाहरु आन्दोलीत भएका थिए । त्यसलाई सम्बोधन गर्न विभागीय टोलीले छलफल गरेको हो ।

टोलीले झापा, मोरङ र सुनसरीका प्रभावितसँग छलफल गरी कतिपय अन्योल टुङ्ग्याउन खोजिएको विभागका सिनियर डिभिजनल इञ्जिनियर देवेन्द्रकुमार सिंहले बताउनुभयो । स्थानीयले मुवाब्जा र कतिपय कित्ता फरक परेको विषयमा कुरा राखेको भन्दै उहाँले त्यसलाई विभागले सच्चाएर अर्काे सूचना जारी गर्ने बताउनुभयो ।

झापामा गठित रेलवे प्रभावित मूल समन्वय समितिका संयोजक डाक्टर लक्ष्मीप्रसाद मैनालीले उचित मुआब्जा पाउनुपर्ने बताउँदै रेलवेले ओगट्ने क्षेत्रका विषयमा विभागले प्रष्ट्याउनु पर्नेमा जोड दिनुभयो ।

विभागले पहिलो चरणमा झापाको काँकरभिट्टादेखि सुनसरीको इनरुवासम्म १०६ किलोमिटर विद्युतीय रेल मार्ग बनाउने योजना अघि सार्दै ठेक्का प्रक्रिया पनि सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्