प्रदेश १ मा कोरोनाको त्रास, ठाउँ ठाउँमा सिल


झापा/बुधबार साँझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा कोरोना भाइरस सङ्क्रमित मोरङका ४५ बर्षिय पुरुषको मृत्यु भयो।

प्रदेश नं १ का कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको यो पहिलो घटना हो।

अस्पतालहरूमा उपचार गराइरहेका अधिकांश कोरोना भाइरस सङ्क्रमितमा लक्षणहरू देखा पर्न थालेको चिकित्सकहरूले बताएका छन्।

मोरङको विराटनगर महानगरपालिका क्षेत्रमा हाल भेटिएका अधिकांश सङ्क्रमितको कुनै ट्राभल हिस्ट्री छैन। त्यस्ता सङ्क्रमित भेटिनु समुदायमा कोरोना भाइरसको सङ्क्रमण पुग्यो भन्ने प्रमाण भएको चिकित्सकहरूले बताएका छन्।

केही दिन अघि पूर्वी नाका काँकरभिट्टाका २० जना सशस्त्र प्रहरीलाई सङ्क्रमण देखिएको थियो। त्यसपछि त्यहाँ पनि समुदायका मानिसहरूको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाइएको छ।

झापाको बाह्रदशी गाउँपालिकामा नेकपाका एक जना नेता तथा एक जना औषधि व्यवसायीलाई सङ्क्रमण पुष्टि भएपछि अहिले जिल्लाभर सन्त्रास छाएको छ। ती नेता विर्तामोड बजारमा रहेको पार्टी कार्यालयमा समेत आएर धेरै मानिसहरूसंग भेटघाट गरेको बुझिएको छ।

बाह्रदशीका सङ्क्रमित औषधि व्यवसायीसंग विर्तामोडमा रहेका औषधिका थोक बिक्रेताका धेरै कर्मचारीको भेटघाट तथा उठबस भएको भन्दै ती कर्मचारीलाई बिहीबारदेखि होम क्वारेन्टिनमा राखिएको छ।

विराटनगर महानगरपालिका, बाह्रदशी गाउँपालिकाको राजगढ क्षेत्रमा अहिले अत्यावश्यक बाहेक अन्य सेवा बन्द छन्।

केही दिन पश्चात उनीहरूको पनि पिसिआर परीक्षण गरिने विर्तामोड नगरपालिकाले जनाएको छ।

केही दिन अघि प्रदेश नं १ को कार्यालयका १९ जना प्रहरीलाई कोरोना भाइरसको सङ्क्रमण देखियो।

बिहीबार बिहान इटहरी उपमहानगर कार्यालयले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ। इटहरी उपमहानगरका योजना शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुस्टि भएपछि उपमहानगरले सेवा बन्द गर्ने निर्णय गरेको हो।

उपमहानगरमा कार्यरत कर्मचारीको तत्काल कन्ट्याक्ट ट्रेसिङ गरिने तथा थप सुरक्षा सतर्कता अपनाइने भएको छ।

प्रतिक्रिया दिनुहोस्