मलाई सुकुम्वासी अध्यक्ष बनाइयो, अब बहुमतबाट विवादको छिनोफानो हुन्छ-प्रचण्ड


काठमाडौं । नेकपाभित्रको विवाद गम्भीर मोडमा पुगेका बेला दुवै पक्षले स्थायी, केन्द्रीय समिति र संसदीय दलमा बहुमत जटाउने गणितिय खेल शुरु गरेका छन् । नेकपाभित्रको विवाद सहमतिमा सुल्झिने सम्भावना लगभग कम हुँदै गएको छ ।

सहमतिय सम्भावना कम हुँदै गएपछि दुवै पक्ष बहुमतिय खेलमा जुटेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुह आफ्नो बहुमतलाई कायम राख्न दैनिक भेला र बैठकमा जुटेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड माधव समुहका नेताहरुलाई आफ्नो पक्षमा तान्न दैनिक बालुवाटारमा बैठक गरिरहेका छन् ।

सहमतिका लागि भन्दै स्थायी कमिटीको बैठक झण्डै २५ दिनदेखि बस्न सकेको छैन । दुई अध्यक्षबीच ९ पटक बालुवाटारमा सम्वाद हुँदापनि निकास निस्किन सकेन । निकास निकाल्न र स्थायी कमिटीलाई बन्धक नबनाउन प्रचण्ड माधव समुहले आजदेखि नियमित एजेण्डामा छलफल गर्ने तयारी गरेका छन् । नियमित एजेण्डा छलफल गरी स्थायी कमिटीको बैठक सुचारु गर्ने र सरकार र पार्टीको समिक्षा गर्दा ओलीको राजीनामा माग्ने तयारी गरेका छन् ।

प्रचण्ड माधव समुहले सहमति जुट्न नसक्ने अबस्था भए स्थायी कमिटीबाट बहुमतिय निर्णय गर्ने र केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका छन् । तर प्रधानमन्त्री ओली समुह स्थायी कमिटी बैठकमै उपस्थित नहुँने सम्भावना रहेको छ ।

दुवै समुहले दुवै समुहका नेताहरुसँग नियमित भेटघाट गरिरहेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड माधव समुहका तीन नेताहरुसँग बालुवाटारमा गोप्य छलफल गरेका छन् । कृषिमन्त्री घनश्याम भूसाल, पर्यटनमन्त्री योगेश भट्टराई र उर्जामन्त्री वर्षमान पुनसँग ओलीले छलफल गरेका छन् । त्यसैगरी स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग ओली र महासचिव बिष्णु पौडेलले निरन्तर छलफल गरिरहेका छन् ।

दुवै समुह बहुमतिय खेलमा लागेपछि वालुवाटार, खुमलटार र कोटेश्वरमा वार्ताहरु भइरहेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समुह बिचल्लित भएको छैन भने प्रचण्ड समुह केही बिचल्लित भएको छ । आफ्नो समुहमा ओली खेलेको थाहा पाएपछि प्रचण्डले पनि घेरा बलियो बनाउन थालेका छन् ।

पूर्वमाओवादीका नेताहरुसँग नियमित भेटघाट थालेका छन् । पार्टी एकता अनुरुप ओली नचलेको आफुलाई सुकुम्वासी अध्यक्ष बनाएको, पार्टी र सरकारको छवि विग्रेको बताउन थालेका छन् ।

सुदुरपश्चिम प्रदेशका नेताहरुसँग प्रचण्डले आफुलाई सुकुम्वासी अध्यक्ष बनाएको बताएका थिए भने अन्य पूर्वमाओवादी समुहका नेताहरुसँग पनि यहि शब्द बोल्न थालेका छन् । उद्योगमन्त्री लेखराज भट्टमाथी निकै आक्रोसित भएका प्रचण्डले तत्काल स्थायी कमिटी र मन्त्रीबाट राजीनामा दिन भट्टलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्