एक औँला ओलीतिर ! बाँकी औँला आफैतिर !!!


आम जनताको मूढको मूलप्रवाह सरकारको स्थिरताको पक्षमा बगिरहेका समयमा बेलाबेला नेपाल कम्युनिस्ट पार्टीका पटकपटक जनपरीक्षित र जस्ट पास (जो ओलीकै भाषणको ग्रेस मार्क्स पाएर चुनावी परीक्षामा उत्तीर्ण हुनु भएको थियो त्यस्ता ) घगडान र वरेण्य नेताहरू विधि र पद्धतिको नामका अमूर्त गल्तीका काल्पनिक चाङ तेर्स्याई आज सरकारले कामै गरेन भनी प्रधानमन्त्रीमाथि राजीनामाको बैरागी र उच्चाटलाग्दो राग किन अलापिरहनु भएको होला ?

आज उहाँहरूले प्रधानमन्त्री माथि एक औँला ठड्याई जुन ललकार गरिरहनु भएको छ, बाँकी तीन औँला उहाँतिरै फर्केर उहाँहरूलाई केकस्ता प्रश्न गरिरहेका होलान् ? आज उहाँहरूलाई ती तीन औँलाहरूले सोधेका प्रश्नको गृहकार्य दिन अत्यन्त जरूरी भैसकेको हुँदा यो लेख त्यसैतर्फ केन्द्रित छ !

प्रधानमन्त्रीतिर उहाँ (कामरेड माधव र कामरेड प्रचन्ड) ले फर्काइरहनु भएको औँलाको प्रश्न के हो ? त्यो त सर्वत्र छर्लङ्ग भैसकेको छ नै । मूलतः कामरेड प्रचन्ड र कामरेड माधव नेपालका आफुतिर फर्केका तीन औँलामध्ये सर्व प्रथम माझी औँलाले उहाँहरूलाई के भनिरहेको होला भन्ने जिज्ञासा सर्वत्र होला नै ।

माझी औँलो मानौँ प्रश्न गर्दै छ ! कामरेड ! तपाईले गत मङ्सिरमा पूरक सम्झौता गरी कार्यकारी अधिकार आफ्नो हातमा लिनु भएपछि त्यसको प्रयोग के कति ठाउँमा, कसरी र कहाँ कहाँ प्रयोग गर्नुभयो ? पार्टीका भद्रगोल प्रदेश र स्थानीय तहमा पार्टी एकीकरणका पेन्डिङमा रहेका के कति काम सम्पन्न गर्नु भो ? एकताका केकति ओटा सिन्का भाँच्नुभयो ? तपाईँलाई त्यो कार्यकारी अधिकार अनुरुप पार्टी एकीकरण गर्न के ले छेक्यो ?

आफू पार्टीको अध्यक्ष भएर एउटा सिन्को नभाँच्ने र एउटा मुसो नमार्ने अनि प्रधानमन्त्रीका कार्यकारी अधिकारमा अनधिकृत हस्तक्षेप गरेर कुन विधि र प्रक्रिया र विधिको कुरो गरिरहनु भएको छ ? मुलुकको प्रधानमन्त्रीका विरुद्ध आधाका हाराहारीमा आफ्नै मन्त्रीहरु भएको सरकारले कामै गरेन भन्नु भन्दा आफूले पठाएका मन्त्रीहरू पनि खत्तम छन् भनेर कतै आफैलाई खत्तम भनिरहनु भएको त छैन ! होस गर्नुस् है भनी तपाईहरूको माझी औँलो तपाईतिरै ठडिएको देख्नु पर्यो नि त ! विदेशी मिडियामा नेपालका प्रधानमन्त्री र नेपाल सरकारका विरुद्ध तथानाम बकिरहँदा पार्टीको विदेश विभागबाट केकति चासो र चिन्ता व्यक्त भयो ?

कामरेडहरू ! तपाईँले चोर औँलो एकातिर ठड्याइरहँदा तपाईँतिर फर्केको साहिली औँला मानौँ भनिरहेको छ ! २०७४ सालको आम चुनावमा जनताका अगाडि गएर अब आयन्दा किचकिच नगरीकन पाँच वर्ष सरकार ढुक्कसँग चलाउँछौँ भनेर जनतासँग करार गरी मतपत्र माग्नु भएको होइन ? हार्ने डरले नयाँ नयाँ चुनाव क्षेत्र चहार्दै जाँदा नयाँ ठाउँबाट उठेर त्यतिबेला केपी ओलीको भाषणको खुराक जनतालाई पस्केर जित्नु भएको होइन ?

समीकरणका विषालु नङ्ग्राले कुरुप पारेको नेपाल आमाको अनुहारमा समृद्धिको लाली ल्याउँछौँ भन्नु भएको होइन ? तपाईँहरू आफ्नै पक्षका बलेनी भित्रका एकाध बदनाम मान्छेहरू जबर्जस्ती सरकारमा राख्न लगाएर सरकार अलोकप्रिय भयो भनिरहँदा तपाईँहरूले भनेको त्यो अलोकप्रियताको अंशियारी लिन तपाई तयार हुने हो कि होइन ?

सरकार विरुद्ध विदेशीहरू नाङ्गो नाच गरिरहेका बेला उनीहरूकै जुठोपुरो खाएर मैमत्त भएझैँ गरी सरकार गिराउन कोसँग सुपारी लिएर यसरी ज्यान छाडेर लागि रहनु भएको छ ? तपाईहरूसँग तपाईकै साहिली औँलाले गरेको गम्भीर प्रश्नको उत्तर दिने ल्याकत छ ?

आदरणीय कामरेडहरू ! सरकारतिर चोर औँलो ठड्याउँदा कान्छी औँला तपाईँहरूतर्फ नै फर्किरहेको छ र मानौँ भनिरहेको छ ! तपाइँहरू आफू प्रधानमन्त्री हुन गरेका अवाञ्छित समीकरण र प्रधानमन्त्री भए पछि गरेका आफ्ना परिवारका सदस्यहरूको कुशल व्यवस्थापन कुन विधि र प्रक्रिया अन्तर्गत भयो ? हङ्कङ्को महावाणिज्यदूत बनाउँदा होस् वा अस्ट्रेलियाको राजदूत बनाउँदा होस्, मेयर जिताउँदा होस् वा सत्रपटक प्रधानमन्त्रीमा उठेर थँचारिँदा होस्, त्यो गाइजात्रा देखेकाहरूले हामीलाई पदको लोभ छैन भनेर तपाईले भनेको पत्याउलान् भन्ने ठान्नु भएको छ ?

आफू नेतृत्वमा हुँदा पटकपटक पार्टीका होनहार नेताहरूलाई पलायन हुन बाध्य पार्ने तपाईले पार्टी एकताको चिन्ता गरेर गोहीका आँसु चुहाउँदा मानिसहरू लज्जाबोध गरिरहेछन् । आजसम्म तपाईँले कुन पद्धति र प्रक्रियाको अवलम्बन गर्नु भयो ?

आफू आजीवन पार्टी अधयक्ष बन्नु र प्रधानमन्त्रीका लागि बाँचुन्जेल र्याल चुहाइरहनु विधि र पद्धति हो ? राजीनामा माग्नु कुन विधि र पद्धति हो ?आज तपाईँहरूले जेजे आरोप लगाइरहनु भएको छ र जेजे भनिरहनु भएको छ तपाईँले अतीतमा गर्नु भएका त्यहीत्यही कुरा सम्झेर तपाईँको कान्छी औला तपाईँतिर फर्केर तपाईँलाई गिज्याइ रहे जस्तो पो छ त !

पार्टी एकीकरण देखि महाधिवेशनसम्म दुई अध्यक्षको सहमतिबाट मात्र हरेक निर्णय हुने भनी ( पार्टी भित्र आफ्नो पक्षको ४० प्रतिशत मात्रै रहेकाले पूर्व एमालेको बहुमतको गणीतीय खेलबाट बच्नका लागि) कामरेड प्रचन्डकै विशेष पहलमा राखिएका भनिएका सहमतिका बुँदाको प्रतिकूल हुने गरी छलछामबाट तयार पारिएको गणितको झेली खेलमा संलग्न हुँदै नेकपाबाट पार्टीका अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा गर्जन गर्न मिल्छ ?

वर्तमान प्रधानमन्त्रीका निजी शैली र स्वभाव र अडानलाई ईस्यु बनाई जुन राजीनामा मागिँदै छ, बुझ्नु पर्ने कुरो के छ भने यही शैली र अडानका लागि जनताले उनको मुख हेरेर पार्टीलाई मत दिएकै हुन् ।

हो, पार्टीमा काम गर्दा वरिष्ठ नेताहरूको चित्त दुख्ने कतिपय काम गर्नु भएको भन्ने जुन आरोप छ, त्यसबारे चर्चा हुनु, जिम्मेवारी नपाएको जुन गुनासो छ, त्यसबारे विमर्श हुनु, पार्टी एकीकरणका अधुरा काम सम्पन्न गर्नमा जजसको कमजोरी छ त्यो पूरा गर्ने बहस एकातिर पन्छाई छिमेकी सलह आन्तरिक कलहको मिलेमतो भएजस्तो आम जनताले बुझ्ने गरी प्रधानमन्त्रीको राजीनामा माग्ने मजाकको परिणाम के होला त्यसका बाछिटा आगामी चुनावमा नदेखिएलान् कसरी भन्नु ?

अँ कामरेडहरू, अले त स्थायी समितिको बैठक सधैभरि बस्ने ( स्थायी ) भएकाले स्थायी समिति नामकरण गरिएको हो कि भन्ने भ्रम परिसक्यो बा ! स्थायी समितिको काम आफ्नै दुईतिहाइको सरकारलाई अस्थायी वा अस्थिर मात्र बनाउने हो भने केको स्थायी समिति ? हो, प्रधानमन्त्रीका तर्फबाट पार्टीका नेताहरूको चित्त दुख्ने काम भएको छ भने चित्तको उपचार गर्ने र कुनकुन औषधीको केकति मात्रा सेवन गराउनु पर्ने हो, त्यो सेवन गराउन पो उपयुक्त होला नि !

र, अन्त्यमा, विगतको ऐनामा सबैले आआफ्नो अनुहार हेर्नुस्, आगतमा जनताका घरदैलामा जाने बाटो राख्नुस्, दुखेको चित्तको उपचार गर्न प्रधानमन्त्रीसँग केके संझौता गर्न पर्ने हो गर्नुस् तर जनतासँग तमसुक गरी लिएको पाँचवर्ष सरकार चलाउने करार संझौता चौबाटामा ल्याएर नच्यात्नुस् । चक्रपथबाट

प्रतिक्रिया दिनुहोस्