सरस्वती श्रेष्ठलाई फेरी एक लाख ६५ हजारबढी रकम सहयोग


उर्लाबारी /साउन ११ सरस्वती श्रेष्ठलाई आईतबार दोस्रोपटक सहयोग रकम हस्तान्तरण गरिएको छ । गोठला जाँदा भीरबाट लडेर मेरुदण्डको हडी भाँचिएर घाइते भएकी सरस्वतीलाई सरस्वती श्रेष्ठ बचाउ अभियान सहयोग समिती उर्लाबारीले रु १६५०३५ (अक्षेरुपी एक लाख पैसाट्ठी हजार चौतिस रुपैयाँ )सहयोग हस्तान्तरण गरेको हो ।

दमककी सामाजिक अभियान्ता सम्झना तामाङ र सञ्चारकर्मी महिमा लिम्वूको पहलमा विभिन्न देशमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुबाट प्राप्त सो रकम आईतबार उनि बस्दै आएको उर्लाबारी ५ मा पुगेर समितीले हस्तान्तरण गरेको हो ।

यसअघि पनि असार २८ गते सामाजिक अभियान्ता सम्झना र महिमाको पहलमा जम्मा भएको रु ५२ हजार रुपैयाँ र सर्जिकल सामान सहयोग गरिएको थियो ।

पाँथरको तुम्वेवा गाउँपालिका ५ हाङगुम घर भई उपचारको क्रममा उर्लावारीमा दिदी भेनाको घरमा बस्दै आएकी १६ वर्षीया श्रेष्ठलाई स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ ।

सामाजिक अभियान्ता तथा सरस्वती बचाउ अभियानकी संयोजक तामाङको टोलीले आज विरामीको घरमा पुगेर नगद सहयोग गरेको थियो । नगद सहयोग गर्दै तामाङले देश विदेशबाट सहयोग गर्नुहुने सबै महानुभावहरुलाई धन्यबाद दिइन् । उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह गरिन् ।

सबैले गरेको सहयोग रकम खेर नजाने भन्दै अबको केहि दिनमा नै सरस्वतीलाई थप उपचारका लागी काठमाडौको बिर अस्पताल लगिने बताईन् । उनले भनिन् -तपाईहरुले पठाएको सहयोग रकम दुरुपयोग हुँदैन ,पछि हामी एक एक हिसाव सार्वजनिक गछौँ ।,

बिरामी सरस्वतीले रकम ग्रहण गरेपछि रुदै सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद दिइन् । उनले आफ्नो थप उपचारका लागि सहयोग गर्न देश र विदेशमा रहनु भएका नेपाली दाजुभाई दिदी बहिनीहरुलाई आग्रह गरिन् ।

उनले भनिन् -मलाई पनि अन्य मानिस जस्तै हिड्न ,पढ्न मन छ । प्लिज मलाई सहयोग गर्नुहोस् म बाच्न र केही गर्न चाहान्छु ।, ४वर्ष अघि हाङगुमको भीरमा गोठाला जाँदा भीरबाट लडेर मेरुदण्डको हडी भाँचिएर बिरामी भएकी सरस्वतीको घरायसी अवस्था अत्यान्तै नाजुक र उनका बुवाआमाले दैनिक जेनतन गरेर परिवारको गुजारा चलाउने गरेको अभियानमा सहभागी सञ्चारकर्मी समेत रहेकी महिमाले बताइन् ।

सररस्वतीको लागि आउने जति पनि सहयोग उनको परिवारलाई सार्वजनिक रुपमा हस्तान्तरण गर्ने सामाजिक अभियान्ता तामाङले बताइन् । बिरामीको स्याहार सुसार गरी रहेकी दिदी जमुना श्रेष्ठले बिराटनगरको नोवेल हस्पिटल सम्म पुराएर उपचार गर्दा २० लाख रुपैँया सकिएको सुनाइन् । सरस्वतीको उपचार सफल हुन २५-३० लाख रुपैयाँ लाग्ने डाक्टरले बताएको जमुनाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्