यसरी हुँदैछ नेकपाको विवाद समाधान ?


काठमाडौं, असार १७
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका बेला भएका सहमति कार्यान्वयन गरेर सत्तारुढ नेकपामा जारी विवाद समाधानको तयारी भएको छ।

२०७५ जेठ २ गते तत्कालीन एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकतापछि आलोपालो पार्टी र सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए।

जसअनुसार ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका थिए। त्यसआधारमा उनले पाँच वर्षे कार्यकालको आधा समय सरकारको नेतृत्व गरिसकेका छन्।

अब बाँकी समय प्रचण्डलाई सरकारको नेतृत्व दिएर गतिरोध फुकाउने तयारीमा प्रधानमन्त्री ओली रहेको नेकपाका एक स्थायी समिति सदस्यले दाबी गरे।

‘पार्टी फुट्दैन, ओली–प्रचण्डबीच पार्टी एकता गर्दा भएका सहमति कार्यान्वयन गरेर निकास निस्कन्छ,’ ओली र प्रचण्ड दुवैसँग संवादमा रहेका ती नेताले भने।

नेकपाका महासचिव विष्णु पौडेलले पनि सहमतिकै आधारमा जारी गतिरोधको अन्त्य गरिने र पार्टी थप एकताबद्ध हुने दाबी गरे।

‘नेकपामा सहमतिकै आधारमा पार्टी अघि बढ्छ, त्यसको विधि सार्वजनिक गर्दिनँ,’ पौडेलले भने, ‘सहमतिमा समस्या समाधान हुन्छ। कसैले विग्रह ल्याउने, पार्टी फुटाउने अपेक्षा नगरे हुन्छ, वि ग्रह ल्याउने चाहना कसैले गरेको छ भने त्यो पूरा हुँदैन।’

प्रतिक्रिया दिनुहोस्