वैशाखको पूरै र जेठको पढाइबाहेकको अतिरिक्त शुल्क लिन्‍नौं – निजी विद्यालय


काठमाडौं । निजी विद्यालयका सञ्‍चाललकहरुले वैशाखको शुल्क नलिने साथै जेठ महिनादेखि शिक्षणबाहेकका कुनैपनि अतिरिक्त शुल्क नलिने बताएका छन् । शिक्षा पत्रकार समूहको साप्ताहिक भर्चुअल संवाद शृंखला शिक्षाबारमा सोमबार उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामशरण सापकोटाले शुल्कको मापदण्डका बारेमा शिक्षा मन्त्रालयले विस्तृत छलफल गरिरहेको र छिटै टुंगो लाग्ने बताए ।

सबैपक्ष आ-आफ्नो ढंगबाट अगाडि बढ्दा निष्कर्षमा नपुगिने भन्दै सापकोटाले यसको निकासको लागि मन्त्रालयले नेतृत्व लिने दाबी गरे । सबै सरोकारवालासँगको वार्ता र संवादका माध्यमबाट मन्त्रालयले छिट्टै शुल्कको विवाद समाधान गर्ने उनको भनाइ थियो ।

संस्थागत तथा आवासीय विद्यालय एशोसियशन (प्याब्सन)का सहअध्यक्ष डीके ढुंगानाले निजी विद्यालयहरुले वैशाखको मासिक शुल्क र जेठदेखि भौतिक रुपमा विद्यालय सञ्चालन नभएसम्म शिक्षण बाहेकका कुनैपनि अतिरिक्त शुल्क नलिने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्