सरकारको एक्सन : चीनले सीमा मिचेको झुटो प्रतिवेदन बनाउने कारखानाको खोजी सुरु


काठमाडौं । भारतसँगै चीनले पनि नेपाली सीमा मिचेको विषयले अघिल्लो हप्ता नेपाल–भारत निकै तातेको थियो । दुवै देशका अधिकांश सञ्चार माध्यमले यसलाई प्रमुखताका साथ समाचार बनाएका थिए । तर, जब नेपाल सरकारले गलत रहेको भन्दै ती समाचारको खण्डन गरेपछि नेपाली मिडियाले क्षमायाचना पनि गरे ।

कृषि मन्त्रालयको नापी शाखाको प्रतिवेदनलाई उद्धृत गर्दै चीनले नेपालको सात जिल्लामा सीमा अतिक्रमण गरेको समाचार प्रकाशित भएको थियो । तर, यो समाचार प्रकाशित भएलगत्तै कृषि मन्त्रालयले खण्डन पनि गरेको थियो ।

यही बेला सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले सीमा मिचेको झुटो प्रतिवेदन बनाउने कारखाना खोजी गर्ने र कारबाही गर्ने बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले चीनले नेपालको सीमा अतिक्रमण गरेको झुटो प्रतिवेदन बनाउने कारखानाको खोजी भइरहेको र दोषीलाई कारबाही गरिने जानकारी दिए ।

चीनले नेपाली सीमा अतिक्रमण गरेको समाचार आउने गरी फेक प्रतिवेदन कहाँ तयार भयो ? भन्ने विषयमा सरकारले खोजी गरिरहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । ‘त्यो सो कल्ड प्रतिवेदन कुन कारखानामा तयार भयो भनेर हामीले खोजी गरिरहेका छौं । त्यसमा संलग्नहरूलाई गम्भी रतापूर्वक कानुनी दायरामा ल्याउने छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्