आइतबार खण्डग्रास सूर्यग्रहण लाग्ने


काठमाडौ । असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन् । नेपालबाट तीन घण्टा ३३ मिनेटसम्म ग्रहण देख्न सकिने छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।

सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्नुहुन्छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने मान्यता छ । यस वर्ष नेपालबाट देखिने असार ७ गतेको सूर्यग्रहण मात्र रहेको समितिले जनाएको छ ।

वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरीकाले सबैले ग्रहण हेर्न सकिने पनि नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्