खाद्यवस्तु घरघरमै होमडेलिभरी, तातोपानी र रसुवागढी नाका खोल्ने सरकारको निर्णय


काठमाडौं – सरकारले आवश्यक खाद्यवस्तु घरघरमै होमडेलिभरीको व्यवस्था गर्ने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्न पाउने भएका हुन् ।

‘ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने,’ समितिको निर्णयमा भनिएको छ । यसका लागि गृह मन्‍त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने छ ।

स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरण गर्ने पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी सञ्‍चालन गर्न सहजीकरण गर्ने छन् ।

त्यसैगरी, अतिआवश्यक परी खाद्यान्‍न ढुवानी गर्नुपरेमा गृह मन्‍त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्‍त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्‍त्रालयको समन्वयमा हवाई ढुवानी गर्ने व्यवस्था मिलाइने भएको छ ।

मालसामान आयात निर्यात गर्न सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका खुलाउने निर्णय गरेको छ । बैठकले माघ १५ गतेदेखि बन्द रहेको उक्त नाका खुलाउने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्