वाइडवडी भ्रष्टाचारमा संलग्‍नमाथि विनापूर्वाग्रह कारवाही गर्न माग


काठमाडौं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विनापूर्वाग्रह कारवाही गर्नुपर्ने बताएका छन्। संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचारका दोषीलाई पूर्वाग्रह नराखी कारवाही गर्न माग गरेका हुन्।

उनले तारा गाउँ, वाइडवडी, न्यारोवडीलगायतमा आर्थिक अनियमितताका कैयौँ प्रश्‍न उब्जिएकाले ती विषयमा सरकारले तत्काल अध्ययन अनुसन्धान गरी दोषीलाई कारवाही गर्नुपर्ने बताए। ‘तारा गाउँ, वाइडवडी र न्यारोबडी सबैमा अनेक किसिमका प्रश्‍नहरू खडा भएका छन्। वाइडवडीमा त देखा देखी बद्मासी छ। त्यो भइसकेपछि त्यसलाई छानबिन, अगाडि बढाउने, कार्वाहीको विषय बनाउने। जो सुकै होस् छोड्ने कुरा आउँदैन। जो सुकै जुनसुकै क्षेत्रमा होस्’ उनले भने, ‘आग्रह पालेर गर्नुपर्ने केही आवश्यकता छैन।

पूर्वाग्रह पाल्नुपर्ने केही आवश्यकता छैन। दोषीले सजाय भोग्नुपर्छ।’ उनले विकास निर्माण लगायतका आयोजना बनाउँदा दीर्घकालीन सोचका साथ कार्ययोजना बनाउन सुझाव दिए। छोटो समयमा नै असफल देखिने योजनाहरू बनाइएको भन्दै उनले सम्भावित आवश्यकता र प्रभावको आकलन गरेर योजना तर्जुमा गर्न आग्रह गरे। लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा बनाइएको एरोवृजको उदाहरण दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको जग्गा प्रयोग, बालुवाटारको प्रधामन्त्री निवास र मन्त्री क्वाटरका भवन निर्माणमा पनि दीर्घकालीन सोच राख्न नसकिएको बताए।

प्रतिक्रिया दिनुहोस्