जनकपुर–जयनगर रेल चाँडै सञ्चालन हुन्छ: मन्त्री नेम्वाङ्ग


जनकपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ्गले यहीँ आर्थिक वर्षभित्र जनकपुर–जयनगर रेल सञ्चालनमा आउने बताएका छन् । शुक्रबार नेपाल रेल्वेको निरीक्षण गर्न जनकपुर आएका मन्त्री नेम्वाङ्गले आगामी ३–४ महिनाभित्र रेल सञ्चालनमा ल्याएरै छोड्ने प्रतिबद्धता जनाएका हुन् । जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा यसै आर्थिक वर्षदेखि रेल गुड्ने मन्त्री नेम्वाङ्गले दावी गरे ।

उनले भने, ‘रेलमार्ग तयार भइसकेकाले विदेशबाट दक्ष कर्मचारी मगाएर पहिलो चरणमा कुर्थासम्म, दोस्रो चरणमा बर्दिबाससम्म र पछि निजगढसम्म रेल गुड्ने छ ।’ मन्त्री नेम्वाङकाअनुसार रेल गुडाउन ५–७ जनाको प्राविधिक टोली मात्र भारतबाट ल्याइनेछ ।

‘यहाँ दक्ष प्राविधिक तयार भइसकेपछि भारतीय टोली फर्किनेछन् । अन्य कर्मचारी नेपाली नै रहनेछन्’ कर्मचारी व्यवस्थापन गर्न समस्या नहुने समेत उनको जिकिर छ । मन्त्री नेम्वाङ्गसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, रेल्वे विभागका महाप्रबन्धक बलराम मिश्र लगायतकाहरु समेत निरीक्षण टोलीमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्