मोरङमा पनि दुई जनालाई कोरोनाको आशंका


विराटनगर, ३० फागुन । कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको दुई बिरामीलाई कोसी अञ्चल अस्पताल विराटनगरले धरान रेफर गरेको छ ।

उनीहरूको परिचय र उमेर समूह गोप्य राखिएको छ । तर, दुवैजना दिनअघि मात्र विदेशबाट आएको बताइएको छ । कुन देशबाट आएका हुन भन्ने पनि खुलाइएको छैन । रुघाखोकी र ज्वरोको लक्ष्यण देखिएका दुई जनालाई थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएको कोसी अस्पतालकी मेसु डा. संगीता मिश्रले पुष्टि गर्नुभएको छ ।

कोरोना आशंका गरिएका बिरामी उपचार गर्न कोसी अस्पतालमा तयार गरिएको वार्डको जिम्मेवारी सम्हालिरहेका डा. लक्ष्मीनारायण यादवले दुई जनालाई थप उपचार र परीक्षणको लागि धरान पठाइएको जानकारी दिनुभयो ।

उहाँले शंका लाग्दा यसरी ज्वरो आएका बिरामीलाई रेफर गरिनु सामान्य भएको भन्दै सर्वसाधारणले आतंकित हुनुपर्ने अवस्था भने नरहेको दाबी गर्नुभयो । अस्पतालले खासगरी विदेशबाट आएकाहरूको सवालमा भने विशेष सावधानी अपनाउँदै आएको यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्