के हिन्दू राज्य ब्यूँतिएला ?


काठमाडौं गणतन्त्र घोषणा भएको एक दशक पनि बित्न नपाउँदै नेपालका हिन्दू राष्ट्रवादी पक्षले राजासहितको लोकतान्त्रिक व्यवस्था र धर्मसापेक्ष ‘हिन्दूराज्य’ घोषणा गर्नुपर्ने राजनीतिक योगलाई मूलनारा बनाउँदै आएकोमा त्यसले राजनीतिक आन्दोलनको स्वरूप ग्रहण गर्ने देखिन थालेको छ । राप्रपा (संयुक्त) र राप्रपा (कमल थापा) बीचको एकीकरण हुने सँघारमा पुगेको बताइन्छ । चुनाव चिह्न हलोमा अड्केको विवाद सजिलै सुल्झिने दाबी दुवै पक्षले गर्ने गरेका छन् ।

उता ‘हिन्दू राज्य’ पक्षमा व्यक्तिगत रूपमा वकालत गर्दै आएका नेपाली काँग्रेसका महासचिव शशांक कोइराला टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग राज्य भवनमा भेट गरेको समाचारले नेपाली राजनीति र काँग्रेसभित्र एउटा नौलो तरंग छर्ने काम गरेको छ । उसो त नेपाली काँग्रेसका बहुमत नेता तथा कार्यकर्ताहरूले पार्टीका सभापति शेरबहादुर देउवालाई ‘हिन्दू राष्ट्र’का पक्षमा जानुपर्ने भन्दै आफ्ना सहीछापसहित ज्ञापनपत्र यसअघि नै बुझाइसकेका छन् । त्यसले नेपाली काँग्रेसभित्र ‘हिन्दू राष्ट्र’को पक्षमा लागिपर्नेको अत्यधिक बहुमत छ भन्ने प्रस्ट पार्छ । त्यसो त नेपाली काँग्रेस कुनै नास्तिकवादीहरू (चार्वाकको दर्शनमा विश्वास गर्ने) को पार्टी होइन ।

सबै परम्परागत सनातन हिन्दू धर्ममा आस्था राख्ने हिन्दू धर्मावलम्बी नै हुन् । त्यसकारण पनि ‘हिन्दू राष्ट्र’बारे विवाद चल्ने सम्भावना देखिन्न । हिमालय पर्वतीय क्षेत्रको सभ्यताको आफ्नै छुट्टै पाटो छ । हिन्दू धार्मिक मान्यताअनुसार हिमालय भगवान् शिव–पार्वतीको बासस्थान हो । यहाँ अनेक ऋषिमुनिहरूले तपस्या गरेर ज्ञानको ज्योति बालेको धार्मिक शास्त्रले बताउँछ । त्यस्तै भगवान् बुद्धको जन्मस्थल नेपालकै लुम्बिनीमा जन्म भएको तथ्य निर्विवाद छ । किनकि अशोक सम्राटले नै स्तम्भ खडा गरी ‘यहाँ भगवान् बुद्धले जन्म लिनुभएको’ भनी अक्षर कुँदेका जिउँदो प्रमाण छ । त्यसैमा सिञ्जाका खसराजा रिपु मल्लले पनि आफ्नो नाम खोपेको पाइन्छ ।

पशुपतिनाथ, मुक्तिनाथजस्ता अनेकन शिवजीका धामहरू नेपालमै रहेका छन् । रामायणमा वर्णित जानकी मन्दिर पनि नेपालकै हो । कुनै–कुनै विद्वान्हरूले शिवलाई ‘गैरवैदिक’ भन्ने गरेता पनि त्यो तन्त्र विद्यालाई आधार मानेर भनेको देखिन्छ । तन्त्र विद्याका स्रष्टा उनै शिव र पार्वती मानिएको छ । हुन त अर्थववेदमा पनि केही जादुटुनाका मन्त्र पनि भेटिन्छ । कसैले त्यसलाई अनार्यहरूबाट आएको ‘शिल्प विद्या’ भन्ने गर्छन् । जे होस्, शिवशक्तिको महिमा हिमालयले बोकेको छ ।

राष्ट्रको मूल पहिचान नेपालको सन्दर्भमा सनातन धर्मसँग गाँसिएको छ । त्यो उसको सदियौं–सदिदेखिको अभ्यास गर्दैै आएको जीवनशैली पनि हो । भोट (तिब्बत)को प्राचीन धर्म पनि शैवमतका हो भन्ने गरिन्छ । जो तन्त्रमन्त्रमा विश्वास गर्छन् । विश्वको एकमात्र हिन्दू राष्ट्र नेपाल विश्वका सबै हिन्दूका लागि गौरवको विषय र धार्मिक केन्द्रका रूपमा लिइन्छ ।

हालै पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहको भारत भ्रमणलाई पनि अखबारहरूले अर्थपूर्ण रहेको भनी उल्लेख गरेको देखिन्छ । भाजपा सुरुदेखि नै हिन्दू धर्मको मर्मलाई आफ्नो लक्ष्य बनाएर उभिएको राजनीतिक पार्टी हो । उसले भारतलाई पनि ‘हिन्दू राष्ट्र’ नै घोषणा गर्ने भनी खुला रूपमै बोल्न थालेको छ । त्यस्तै विपक्षी मानिएका आम आद्मी पार्टीका नेता केजरीवाल पनि हिन्दू राष्ट्रकै पक्षमा उभिने भएको मानिन्छ । उनले आफ्नो चुनावी सभामै ‘हनुमान चालिसा’ पाठ गरेका थिए । तैपनि उनलाई जिताउन दिल्लीको शाहिनवागमा नागरिक (संशोधन) बिलको विरोधमा महिनौंदेखि धर्ना बसेका मुस्लिम समुदायको पनि मत गएको मानिएको छ ।

भाजपाले दिल्लीमा जनमत हार्नुको मूल कारण उसले प्रान्तीय चुनावमा पनि आमनिर्वाचनमा जस्तै राष्ट्रिय मुद्दाहरू उठाएको र स्थानीय समस्यालाई सम्बोधन नगर्नुलाई मानिएको छ । भारतको झारखण्ड, महाराष्ट्र राज्यमा त्यस्तै भएको हो । यद्यपि भारतमा अहिले ‘हिन्दू राष्ट’ हिन्दूस्तानको राष्ट्रिय राजनीतिक मुद्दा बनिसकेको छ ।
यसमा भाजपाबाहेक राष्ट्रिय स्वयम्सेवक संघ (आरएसएस), विश्व हिन्दू महासंघ, शिव सेना, बजरंग बलीजस्ता संगठनहरूको पनि ठूलो भूमिका देखिन्छ ।

त्यस्तै गोरखनाथ पीठका महन्त उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ सक्रिय रूपमा ‘हिन्दू राष्ट्र’का लागि पर्दै आएका छन् । भाजपाले पश्चिमी शक्तिको दाँजोमा आफूलाई पु¥याउन हिन्दू राष्ट्रवादलाई मूलमन्त्र बनाएको तथ्य खुला पानाका रूपमा देखापरिसकेको छ । यस्तैमा पूर्व महाराजाधिराज ज्ञानेन्द्र शाह भारतीय उच्चस्तरीय नेतागण र कर्मचारीतन्त्र वरिष्ठ अधिकारीहरूसँगको सम्भावित भलाकुसारी परिणाममुखी हुने आकलन गरिने गरेको देखिन्छ । – कैलाश क्षेत्री, चौंरीदेउराली, काभ्रेपलाञ्चोक

प्रतिक्रिया दिनुहोस्