मलेसियाद्धारा नेपाललाई १५५ रनको लक्ष्य


काठमाडौं। सन्दीप लामिछानेको तीन विकेटप्रेरित नेपालले आज एसीसी ट्वान्टी–२० इस्टर्न रिजन २०२० क्रिकेट प्रतियोगितामा मलेसियाविरुद्ध जीतका लागि १५५ रनको लक्ष्य पाएको छ।

सेद अजिज सेद मुबारकले अर्धशतक बनाएपछि थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ गरेको थियो। मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो।

लेग स्पिनर सन्दीपले सुरूमै ओपनर विरन्दीप सिंह र खिजर हायत दुर्रानीलाई पवन सर्राफमार्फत क्याच गर्दै मलेसियामाथि दबाब सिर्जना गरेका थिए। २.२ ओभरमा विरन्दीपलाई पवेलियनको बाटो देखाएका सन्दीपले लगत्तै अर्को बलमा दुर्रानीलाई आउट गरे।

त्यसपछि मोहम्मद अनवार अरूदीन र अहमद फैज मोहम्मद नूरले तेस्रो विकटका लागि ३८ रनको साझेदारी गर्दै मलेसियाको इनिङ उकासे। नवौं ओभरका पाँचौं बलमा सन्दीपले अनवार अरूदीनलाई पनि पवनमार्फत क्याच गर्दै पवेलियनको बाटो देखाए। अनवार अरूदीन आउट हुँदा मलेसिया ५३–३ को स्थितिमा थियो। अनवार अरूदीनले ३१ रन बनाए भने विरन्दीपले तीन रन बनाए। दुर्रानीले रनको खाता खोल्न सकेनन्।

मोहम्मद नूर र सेद अजिज सेद मुबारकले चौथो विकेटका लागि ३४ रनको साझेदारी गरेर मलेसियालाई सम्मानजनक स्कोरतर्फ डोहर्याए। ३० रन बनाएका मोहम्मद नूरलाई अभिनाष बोहराले बोल्ड गरे। अभिनाष बोहराले लगत्तै एक रन बनाएका मोहम्मद अरिफ जमाल्दीनलाई पनि बोल्ड गरे। त्यसपछि सेद मुबारक र अमिनुद्धिन रामलेले छैटौं विकेटका लागि ६३ रनको साझेदारी गरेपछि मलेसिया १५० माथिको योगफल बनाउन सफल भएको हो।

२९ रन बनाएका अमिनुद्धिन रामलेलाई करण केसीले पवनमार्फत क्याच गरे। पवनको चौथो क्याच हो। सेद मुबारक ५१ तथा शर्भिन मुनिएन्दी १ रनमा अविजित रहे। नेपालका सन्दीपले चार ओभरमा २२ रन दिएर तीन विकेट लिए भने अभिनाषले चार ओभरमा ३९ रन द्रिएर दुई विकेट लिए। करणले चार ओभरमा २९ रन दिएर एक विकेट लिए। पारस खड्का, पवन सर्राफ र सुशन भारीले विकेट लिन सकेनन्।

प्रतिक्रिया दिनुहोस्