सांसद चौधरी भन्छिन् – आँसु पिई बाँच्नलाई जन्म लिनु भुल भयो


काठमाडौं- सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नियमित कामको अभिनय गरिरहेकी थिइन्। काम त नियमित थियो तर अगाडि क्यामेरा देखेपछि उनी असहज हुन्थिन्। स्वाभाविक दृश्यांकन हुन नसकेपछि भिडियो निर्देशक प्रकाश भट्ट ‘रिटेक’लिन्थे। जमिनदारको घरमा कमलरी बस्दा दुःखको चरम रुप देखेकी उनी भन्दै थिइन्, ‘अभिनय गर्न गाह्रो हुने रहेछ!’

जीवनको त्यो कष्टकर क्षण र अहिले प्राप्त उपलब्धिलाई दाँज्दा उनी भावुक हुन्छिन्। त्यही भावुकतामा अतित स्मरण गर्दै उनले यस्तो गीत लेखिन्-

कोही बाँच्छन् काँडाबीच कोहीको जीवन फूल भयो
आँसु पिई बाँच्नलाई जन्म लिनु भुल भयो


यो उनलाई कमलरी बस्दै गर्दा महसुस भएको थियो। उनले मनको कुनै कुनामा जीवनप्रतिको चरम निराशाका भावना थन्क्याएर राखेकी थिइन्। अहिले गीतका रुपमा प्रस्तुत गरिन्। त्यो बेला आफूसँगैका जमिनदारका सन्तान र आफूलाई उनी यसरी तुलना गर्थिन्-

दुःखका ती पहरामा बजारिँदै घाइते हुँदा ताली बजाई हाँस्थ्यौ तिमी अँध्यारोमा म रुँदा

सांसद चौधरीको बाल्यवस्थालाई भिडियोमा उतारिएको छ। त्यो भिडियोमा एक जना सानी नानी जुठा भाँडाको रासमा छिन्। उनीजत्रै दुई बालिका घरको आँगनमा पढिरहेका छन् र उनलाई हेर्दै हाँसिरहेका छन्। त्यो दृश्य देखेपछि चौधरीले हामीतिर हेर्दै भनिन्, ‘म कमलरी बस्दा यो भन्दा सानी थिएँ। ८ वर्षकी मात्रै।’

त्यो लाऊँखाऊँ भन्ने उमेरमा रहर अनगन्ती हुन्छन्। तीमध्ये जमिनदारका छोराछोरी जस्तै स्कुल पढ्ने पनि। आफूलाई पिँजडामा थुनिएकी सुँगाजस्तै महसुस हुन्थ्यो उनलाई। पढ्ने त्यो रहर अहिले पूरा गरिहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्