अन्तत टर्‍यो मन्त्रिपरिषद् हेरफेर


काठमाडौं । रिक्त दुई मन्त्रीको पद तत्काल पूर्ति नहुने भएको छ । मन्त्रिपरिषद्को समाजवादी पार्टीले सम्हाल्दै आएको सहरी विकास र न्याय, कानून तथा संसदीय व्यवस्था मन्त्रालय प्रधानमन्त्री केपी ओली स्वयम्ले सम्हालेको अवस्थामा यसलाई कामचलाउ मानेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को थप र कार्यविभाजन हेरफेर सभामुखको टुंगो लागे लगत्तै गर्ने स्थिति रहेको थियो ।

तर, सभामुख चयन प्रक्रिया नै लम्बिने स्थिति बनेपछि र सभामुख चयन लगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्दा गलत सन्देश जाने भएकाले प्रधानमन्त्री ओलीले तत्कालका निम्ति मन्त्रिपरिषद् थप र कार्यविभाजन हेरफेरको तयारीलाई थाती राखेका छन् । यही कारणले गर्दा नै प्रधानमन्त्री ओलीले २०७६ पुस २४ गतेबाट सहरी विकास मन्त्रालयको जिम्मेवारी संचार मन्त्री गोकुल बास्कोटालाई र न्याय, कानून तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिएका छन् । मन्त्री गोकुल बास्कोटाले जिम्मेवारी पाउनु अघि सहरी विकास मन्त्रालयको जिम्मेवारी केही समयका लागि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पाएका थिए ।

अब राष्ट्रिय सभाका लागि २०७६ माघ ९ गते हुने निर्वाचनबाट विजयी भएपछि आगामी फागुन २० गतेबाट नेकपानिकट सांसदहरूले जिम्मेवारी सम्हालेपछि मात्र मन्त्रिपरिषद्को थप र कार्यविभाजन हेरफेर हुने स्थिति रहेको छ । २५ सदस्यीय मन्त्रिपरिषद् हाल दुई मन्त्री रिक्त भएपछि २३ सदस्यीय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्