सभामुखको उम्मेदवार तय हुनुबित्तिकै राजीनामा दिन्छु : उपसभामुख तुम्बाहाङ्फे


काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजनीतिक दलहरुले सभामुखको उम्मेदवार तय गरेर घोषणा नगरुञ्जेल राजीनामा नदिने अडान फेरि दोहोर्‍याएकी छन् ।

सोमबार आफ्नै कार्यकक्षमा कुरा गर्दै उनले अहिले आफुले राजीनामा दिनु संविधानको व्यवस्थाअनुसार गलत हुने बताइन् । संविधानले संघीय संसदको प्रतिनिधिसभा नेतृत्वविहीन हुने कल्पना नगरेकाले पनि आफुले राजीनामा दिन नहुने तर्क उपसभामुख तुम्बाहाङ्फेले पेश गरिन् ।

राजनीतिक दलहरुले जति छिटो सभामुख पदका लागि उम्मेदवार तयार गर्छन् त्यति नै बेला आफुले राजीनामा दिएर मार्गप्रसस्त गर्ने उपसभामुख तुम्बाहाङ्फेले प्रतिवद्धता जनाइन् । अहिले आफु कुनै राजनीतिक दलको सदस्य नभएकाले कुनै पनि दलको निर्देशन आफुमाथि लागू नहुने उनको जिकिर छ ।

उनले अहिले संसदमा देखिएको गतिरोध आफ्नो कारणले नभई दलहरुले निर्णय गर्न नसक्दाको परिणाम भएको दाबी गरिन् । संवैधानिक पदमा बसेको व्यक्तिले गैरजिम्मेवार भएर प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाउने पक्षमा आफु नरहेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्