दमकको जनचेतना आविमा वाणिज्य बैंकको साक्षरता र न्यानो कपडा


दमक/ राष्ट्रिय वाणिज्य बैंक दमक शाखाले वित्तिय साक्षरता तथा सामाजिक उत्तरदायित्व अन्तर्गत आज दमक ४ स्थित एक सामुदायिक विद्यालयका ५५ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । बैंकका शाखा प्रवन्धक युवराज उप्रेतीसहित कर्मचारीहरुको टोलीले आज शनिबार जनचेतना आधारभुत विद्यालयमा पुगेर बालबालिकाहरुलाई जाडोमा उपयोगी सुरुवाल, टोपी र स्वीटर प्रदान गरेको हो ।

दमक ४ का वडाध्यक्ष कुमार साम्सुहाङको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समिति सदस्य समेत रहनु भएका विद्यालयका अध्यक्ष मणिराज धिमालको अध्यक्षतामा भएको सो कार्यक्रममा बैंकका प्रवन्धक उप्रेतीले राष्ट्रिय वाणिज्य बैंकले नाफा कमाउने मात्रै उद्धेश्य नराखि सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आएको बताउनु भयो । २०२२ सालमा स्थापना भएको वाणिज्य बैंकले सरकारले ल्याएको सबै नागरिकको बैंक खाता सञ्चालन गर्ने अभियानमा सहयोग गर्दै समृद्धि बचत खाता सञ्चालनमा ल्याएको जनाउनु भयो ।

अहिले सम्म कुनै पनि बैंकमा खाता नभएका सर्वसाधारणका नाममा बैंक खाता खोलेर बैंकले नै रु १०० रुपैयाँ बचत गरिदिने गरेको जानकारी गराउनु भयो । यसले बैंकमा नागरिकहरुको पहुँच बढाउन मद्धत गर्नुका साथै नागरिकहरुलाई नियमित बचतमा समेत प्रोत्साहन मिल्ने विश्वास बैंकले गरेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा वडाध्यक्ष साम्सुहाङ, वडा सदस्य धिमाल लगायत वक्ताहरुले बैंकले विद्यार्थीहरुको नियमित अध्ययन अध्यापनमा सघाउन गरेको योगदानको प्रशंसा गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षक र अभिभावकहरुको महत्वपूर्ण भुमिका हुने चर्चा गर्नु भयो । कार्यक्रममा विद्यालयका प्रअ मानबहादुर धिमालले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्