अब लेखनदासलाई मालपोत कार्यालयमा प्रवेश निषेध !


परासी : जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले लेखापढी गर्ने व्यवसायी (लेखनदास)लाई मालपोत कार्यालय प्रवेशमा रोक लगाएको छ ।

कर्मचारी र लेखनदासको मिलेमतोमा आर्थिक लेनदेन हुने गरेको गुनासो बढेपछि प्रशासन कार्यालयले उनीहरुलाई मालपोत कार्यालयभित्र प्रवेशमा रोक लगाएको हो । लेखनदासहरु कार्यालयका फाँट÷फाँटमा पुगेर श्रेस्ता, मोठलगायत अभिलेख आफैँ रुजु गर्ने र केरमेट समेत गर्ने गरेको गुनासो समेत बढेको थियो ।

कामको बहाना लिएर फाँटमा पुग्ने लेखनदासहरुले छिटो काम गरेवापत कर्मचारीहरुलाई रकम दिनुपर्ने भन्दै सेवाग्राहीसँग रकम लिनेको गुनासो बढेपछि प्रशासनले सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएको थियो ।

मालपोत कार्यालयका कर्मचारी, राजनीतिकदल, लेखापढी व्यवसायी सम्मिलित प्रशासनमा भएको बैठकले लेखनदासका कारण आर्थिक चलखेल बढेको गुनासो बढेपछि उनीहरुलाई कार्यालयभित्र जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले बताए । ‘तपाईँका कारण मालपोतमा आर्थिक चलखेल बढेको गुनासो बढेको छ । आलोचनाबाट टाढा रहन कार्यालयभित्र नगइ बाहिरबाटै सेवाग्राहीको कामलाई सहज बनाइदिन लेखापढी व्यवसायीहरुलाई भनिएको छ,’ प्रजिअ मरासिनीले भने ।

बैठकपछि नेपाल लेखापढी कानुन व्यवसायी एसोसियशन जिल्ला समितिले सूचना निकालेर आफ्ना सदस्यलाई कार्यालयभित्र नजान र मोठ रोक्कालगायत अभिलेख नचलाउन निर्देशन गरेको छ ।

मालपोत कार्यालयमा लेखापढीको काम गर्ने ९० बढी व्यवसायी छन् । व्यवसायीहरु अहिले बाहिरबाटै कार्यालयमा पेश हुने कागजपत्र दुरुस्त बनाएर सेवाग्राहीलाई पठाउने गरेका छन् ।
लेखापढी व्यवसायीहरुका कारण फाँटहरुमा भिडभाड बढेर काम गर्न असहज हुँदै आएको थियो । उनीहरु नगएपछि अहिले फाँटहरुमा समेत सेवाग्राहीले सहज रुपमा काम गराउन पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्