सभामुखमा सुवासचन्द्र नेम्वाङले मारे बाजी


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख पदमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङलाई उम्मेदवार बनाउन सहमत भएका हुन् ।

संविधानसभाको सभामुख पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका नेम्वाङ नेकपाभित्र सबैले रुचाउने नेतामा पर्छन् । राजधानी दैनिकमा खबर छ ।
पछिलो समय पटक–पटक भएको ओली र दाहालबीचको छलफलबाटै नेम्वाङलाई नै सभामुखको उम्मेदवार बनाउने सहमति जुटेको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले नेम्वाङलाई सभामुख बनाउन गरेको प्रस्तावमा अर्का अध्यक्ष दाहालसमेत सहमत भएका हुन् ।

यसअघि अध्यक्ष दाहालले सभामुखका लागि नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, स्थायी कमिटीका सदस्यद्वय अग्नि सापकोटा र पम्पा भुसालमध्ये एकलाई बनाउन खोजेका थिए । तर, प्रधानमन्त्री ओलीले नेम्वाङलाई अघि सारेपछि दाहालले त्यसमा सहमति जनाएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्